0

किन कोही विद्रोही हुन्छन् ?

-साझना तोलाङ्गे

फोटो स्रोत : गुगल

मानिसहरू किन यति धेरै निर्दयी छन् ? समाजमा हुँदै आइरहेका विभेद, शोषण र युद्धको मारमा परेकालाई हेर्ने हो भने यो प्रश्न केवल म एक्लैको पक्कै पनि हुन सक्दैन । जब जब पीडामा परेका मानिस र समुदाय मुख खोलेर त्यो विभेद र शोषण विरुद्ध उभिएका छन्, या त उनीहरूका जिब्रो थुतिएका छन्, या त उनीहरू बेपत्ता पारिएका छन् । मानिसहरू ईष्याले कतिसम्म क्रुद्ध भएका छन् भने ती पीडितका आवाजलाई रोक्नकै लागी उनीहरूको शरीर अङ्गभङ्ग पार्न र हत्या गर्न समेत पछि पर्दैनन् । मैले सुन्दै आएको सामाजिक न्याय र मानव अधिकार त कागज र नारामा मात्र सीमित देख्छु । जसोतसो दिन ढल्किएर रात छिप्पिँदै जाँदा यी मनलाई यो कठोर सत्यले ढपक्कै ढाक्छ । पीडाले गर्दा यी आँखाका परेली बन्द हुन अति डराउँछन् । निदाउन धेरै नै सकस पर्छ मलाई । यो तितो सत्य यो जुनी र जीवनको डरलाग्दो पाटोजस्तै भइसक्यो ।

के हामीभित्रको पीडाको कुनै औषधिमुलो होला र ? मनमा पीडाका छिद्र कति छन् कति ! लाग्छ, यसको कुनै औषधि सेवन गर्न मिल्ने भए कति आराम मिल्छ होला ! हुन त मानिसको जिन्दगीको अर्को नाम दुःख, पीडा र संघर्ष हो । दुःखबाट मुक्त हुन चाहने मानवीय स्वभाव नै हो । सायद हामीले जिन्दगीमा गर्ने पनि यही नै होला, दौडधुप र कामकाज त माध्यममात्र हुन सक्लान् ।

हुन त मैले धेरै वर्ष दलित आन्दोलन र संघर्षमा बिताएँ तर मलाई यसको उत्तर थाहा छैन । हामीलाई दिइएका अनगिन्ती मानसिक यातना र मनभित्र लागेको पीडाको क्षतिपूर्ति के हो ? कसैले दलितलाई कुटपिट गरे उसलाई जेल चलान गर्न पनि सकिएला, छुवाछूत र विभेद गरे सजाय पनि दिन सकिएला । तर तपाईंको मनभित्र कहिल्यै निको नहुने र बिर्सन नसक्ने अपहेलनाको घाउ दिइन्छ भने यसको सजाय के हुन सक्छ ? कुनै विकासे नारा र मानवअधिकारका धाराले यसको उत्तर र क्षतिपूर्ति दिन सक्छन् ?

हुन त मैले विछोडका, अपहेलनाका, घृणाका धेरै कथा सुनेको छु । सुनिरहँदासम्म त बिचरा भनेर चुकचुकाउन सजिलो हुन्छ । तर जब आफ्नै जिन्दगीमा त्यस्ता घटना घटित हुन्छन्, तब कति गाह्रो हुँदो रहेछ, यो छियाछिया भएको मनलाई बुझाउन । भनेको सुनेको छु, मनको कुरा अरुलाई बताउँदा, पीडा कम हुन्छ रे, अनि मन हलुका पनि हुन्छ रे । त्यसैले मनको बह पोखेर यो मनलाई हलुका बनाउन चाहेँ मैले ।

फूल रोप्नु पनि अपराध हो र ?
मेरो नाम कृष्ण परियार हो । यहाँ नाम परिवर्तन गरेकी छु । काभ्रेजस्तो सुगम गाउँमा जन्मेको मेरो परिवार दलित समुदायमा राम्रै परिवारमा गनिन्थ्यो । मैले, मेरो भाइले पढ्ने अवसर समेत प्राप्त ग¥यौँ । मेरो घरभन्दा माथि गैरदलितहरूको घर थियो, अहिले पनि छ । गैरदलितहरूको बीचमा मेरो परिवार मात्रै १५ मिनेट जति परबाट बसाईँ सरेर आएको थियो । गैरदलितहरूको संख्या पनि कमै थियो । समाजले अछूत भनेर हेपेको देखेर हाम्रो समाजलाई माथि उठाउन मैले केही न केही गर्नुपर्छ जस्तो लाग्थ्यो सानैदेखि । त्यसैले म पढाइ, राजनीति र समाजसेवामा धेरै अगाडि थिएँ । म बिहानदेखि बेलुकैसम्म व्यस्त रहन्थेँ आफ्नो क्षमता विकास गर्नमा, सामाजिक र प्रगतिशील काम गर्नमा । पढाइ, राजनीति र समाजसेवामा एकसाथ लाग्नुपरेकोले म घरबाट १० किलोमिटर पर डेरामा पनि बस्थेँ ।

यो घटना २०६१ असार २१ गते दिउँसो २ बजेतिर भएको हो । म बाहिर मिटिङ्गतिर गएको थिएँ । त्यतिबेला नै विवाहित भइसकेको थियो मेरो भाइ । ऊ कक्षा ९ मा पढ्दै थियो । बुहारीको काखमा १५ महिनाकी छोरी थिई । घरमा आमा र बुबा पनि हुनुहुन्थ्यो । सानो र खुसी परिवार थियो हाम्रो । असारमा खेतमा धान रोप्ने र बारीमा विभिन्न तरकारी रोप्ने सिजन थियो । त्यही बेला भाइले आँगनको डिलमा फूल रोपेको थियो । घर वरिपरि फूल रोपेर ढकमक्क फुलाउने र सुन्दर बनाउने कत्ति धेरै रहर थियो उसलाई । कस्तो विडम्बना, दलितले आफ्नो घरको आँगनमा फूल रोप्न पनि हुँदैन रे !

हामीले धारा र कुवा छोएको निहुँमा, गैरदलितका छोराछोरीसँग बिहे गरेको निहुँमा, काम गरेर ज्याला मागेको निहुँमा त धेरैपटक हिंसा भोगेकै छौँ । दलित भएकै कारणले फूल रोप्दा पनि हामीले पीडा भोग्नुप¥यो । आफ्नै आँगनको डिलमा, आफ्नै आँगनपट्टि रोपेको फूलको निहँुमा मेरा छिमेकी गैरदलितले मेरो भाइलाई कुटपिट गरेछन् । फूलको बिरुवा सबै उखेलिदिएछन् । चोटामा गएर भाइलाई पशुलाई जसरी घोक्क्रयाउँदै भ¥याङ्गबाट तल झारेर चिर्पट दाउराले पिटेछन् । पिटाइको कारण सुन्दा पनि म अचम्म भएँ । भाइले झुटो आरोप लागेको भनेर प्रतिवाद गर्दैथियो । फूल रोपेको निहुँमा विवाद भएपछि मेरो भाइले ती छिमेकी आमालाई हातपात गरेको भन्ने आरोप लगाइएको रहेछ ।

समाजमा बस्ने वरिपरिका मानिस र मेरा परिवारका सदस्यले भनिरहेका थिए, मेरो भाइले कसैलाई हातपात गरेको थिएन । मेरो छिमेकी गैरदलित परिवारका छोराहरू र सालाहरू भीडै बटुलेर आएका रहेछन् । उनीहरू सबैले पिट्दा मेरो एक्लो भाइले कसरी हात हाल्न सक्नु भनिन् भाइबुहारीले । आफै झगडा गर्ने र कुटपिट गर्ने, अनि कस्तो पत्यारै नलाग्ने निहुँ पनि खोज्नु !

गाउँभरिका करिब १५० जनाले घेरेर चप्पले पिट्दै रोडसम्म पु¥याएछन् । त्यहाँबाट गाडीमा हालेर चौकीमा पु¥याएछन् । मुद्दामामिलापछि उसलाई जेलमा हालिएछ । यसरी मेरो भाइले गल्ती नगरीकन जेलमा बस्नुप¥यो । अर्काेतिर गैरदलित आमाले मेरो भाइले आफूलाई पिट्यो भन्दै बेहोस भएको नाटक समेत गर्न भ्याएकी थिइन् । हस्पिटलको रिपोर्टमा उनको अवस्था नर्मल देखियो । तैपनि उनी बिरामी भनेर हस्पिटलमा बसिन्, बेडमा हप्तौँदिन सम्म सुतिन् । त्यसबापत मेरो परिवारले सबै पैसा तिर्नुपथ्र्यो ।

नियोजित विभेद
पुलिस प्रशासनले मेरो भाइको गल्ती नभएको कुरा विश्वास गरेन । म दलित संघको अध्यक्ष थिएँ । सामाजिक अभियन्ता पनि थिएँ । प्रतिवाद गर्ने निधो गरेँ । अति भइसकेपछि मैले पुलिस प्रशासनमा गएर पत्रकार सम्मेलन गर्ने धम्की दिएँ । बुढीआमैको अवस्था नर्मल रहेको जानकारी दिइएपछि हस्पिटलबाट बुढीआमैलाई झिकाइयो । धेरै औषधि, हर्लिक्स र भिटामिनसहित घरमा आए उनीहरू । तर उनीहरूले मिलापत्र भने गर्न मानेनन् । आफ्नो आँगनमा फूल रोपेको निहुँमा मेरो भाइसँग झगडा गरेर, छिमेकी गैरदलितले आफूलाई पिटेको भनेर झुटो आरोप लगाएर मेरो भाइलाई कुटपिट गर्ने पीडकहरूलाई पुलिसले केही गरेनन् । उल्टै हामीले नै भए नभएको आरोपसहित अन्याय सहनुप¥यो । हाम्रो पक्षमा बोलिदिने कोही भएनन् ।

त्यतिखेर मलाई धेरै नराम्रो लागेको थियो । यो देशको माटो त हाम्रो पनि हो नि । हामी पनि त यहाँका जनता हौँ । किन हामीलाई यसरी अन्याय गरिन्छ ? हाम्रो के गल्ती छ ? हामी बिहानदेखि बेलुकासम्म दुःख गरेर जेनतेन आफ्नो हातमुख जोर्छौ । त्यसभन्दा माथि प्रगति गर्ने बाटै बन्द गरिएको छ । यसरी मनमा नानाथरीका कुरा खेलिरहे ।
त्यो घटनापछि हामी साह्रै दुःखी भयौँ । के हामीले आफ्नो घरको आँगनको डिलमा फूल पनि रोप्न नपाउने ? गैरदलितको समाजले बनाएका नियमअनुसार हामी कथित तल्लो जातका भयौँ होला, के हामी उनीहरूभन्दा सफासुग्घर र राम्रो हुन नहुने ? हाम्रो आँगनमा फूल फुल्न नहुने ? के यसकै निहुँमा कसैले कुटाइ खानुपर्ने ? प्रहरी प्रशासनबाट पनि सुरक्षा नपाइने ? राज्यले पनि हामीलाई मानव हुनुको प्रत्याभूति दिन सक्दैन भने अरु कसले दिन्छ ?
दुस्प्रभावको शृंखला
त्यस्तो घटना भएपछि पनि उनीहरूले हामीलाई हेप्न छाडेनन् । मेरो भाइलाई उनीहरूले अझ नराम्रो व्यवहार गर्न थालेका रहेछन् । म त काम र पढाइले गर्दा घरभन्दा थोरै टाढा डेरामा बस्थेँ । उनीहरूले मेरो भाइलाई भने बाटोमा हिँड्दा धकेल्ने, नबोल्ने, पागल आयो भनिदिने जस्ता व्यवहार गर्दा रहेछन् । यसले गर्दा भाइमा धेरै नै हीनताबोध बढ्यो । उसको स्वभावमा पनि धेरै परिवर्तन आयो । ऊ पहिले जस्तो सामान्य भएन ।

पहिलो मेरो भाइ निकै जाँगरिलो थियो । केही काम गर्न थालेपछि काम फत्ते नभईकन अरु कुरामा ध्यान दिँदैनथ्यो । उसको जिन्दगीमा बज्रपात भएदेखि ऊ एक्लिन थाल्यो । कतै बसे बसिरहने, कतै हे¥यो भने पनि टोलाएर हेरिरहने । अलिअलि मात्रै त काम गथ्र्यो, मन लगाएर गर्न छोड्यो । स्कुलमा पनि त गइरह्यो, तर पहिले जस्तो राम्रोसँग पढ्न छोड्यो । हामीसँग पनि बोल्न छोड्यो । घरको काम सघाउन पनि छोड्यो । हो, धेरै नै विचलित भयो ऊ । यस्तो व्यवहार देखेर घरमा वृद्ध आमाबाबा र बुहारीसँगै म पनि चिन्तित भयौँ । धेरै समयपछि एकदिन ऊ खेतमा पानी लगाउन भनेर गयो । तर त्यो दिनपछि ऊ कहिल्यै फर्केर आएन ।

त्यसबेला देशमा जनयुद्ध चलिरहेको थियो । एकातिर डर र त्रास थियो । अर्कातिर पिछडिएका वर्ग र पीडितलाई सामाजिक न्याय दिने, सबै खालका विभेदका अन्त्य हुने सन्देश फैलिँदै थियो जताततै । सुनौलो परिवर्तन लिएर आउने जोशमा धेरैले घरबार र परिवारजन त्यागे, जङ्गल पसे, बन्दुकको नाल उठाए । यसबीच धेरै विद्रोही मारिए पनि । विद्रोहीले पनि मार्ने क्रम जारी थियो ।

जे जस्तो व्यवहार भए पनि न्यायको नारा घन्काउन सफल थिए विद्रोहीहरू । त्यसकै प्रभाव चारैतिर मान्छेहरूमा पर्न थालेको थियो । सम्झँदा पनि कहालीलाग्ने डरलाग्दो घटनापछि मेरो भाइको मनमा अन्यायविरुद्ध लड्ने भाव पैदा भएको हुन सक्छ । उनमा समाजप्रति, समाजका अन्यायीहरूप्रति धेरै गुनासो थियो । बेपत्ता हुनुअघि उसले सानीमाको छोरासँग कुरा गरेको थाहा भयो । ‘मलाई न्याय दिने को छ र ? म माओवादीमा जान्छु’ भनेको रहेछ उसले ।

कतिपयले भाइलाई माओवादीमा लागेको पनि देखेका रहेछन् । ऊ हामीबाट लापता भयो नै, माओवादीका लागि पनि बेपत्ता भयो । उसको नाम सरकारको बेपत्ता सूचीमा रहेछ । हामीले उसलाई चारैतिर खोज्यौँ, तर कहीँ फेला पार्न सकेनौँ । ऊ आजसम्म पनि फेला परेको छैन । हामीले माओवादी, प्रहरी, आफन्त सबैतिर खोज्यौँ, तर ऊ कतै पाइएन । आज १३ वर्ष भइसक्यो उसको बाटो हेरेको तर ऊ कतै पनि झुल्किएको छैन । ऊ बेपत्ता हुँदा दूध खाने छोरी पनि अहिले १५ वर्षमा टेक्न लागी । उसकी पत्नी र छोरीले उसलाई कुरेको पनि १३ वर्ष हुन लागिसक्यो । मेरा बाबा र आमाले उसलाई कुर्दाकुर्दै जूनी कटाउनुभयो । ऊ कतैबाट आई पो हाल्छ कि भनेर बाटो हेर्दै मनमा गह्रौँ पीडा बोकेर आफ्नो प्राण त्याग्नुभयो ।

खुकुरीको पीर अचानोलाई के थाहा !
यो घटना सम्झँदा धेरै दुःख लाग्छ, मेरो होस उड्छ, म पागलजस्तै हुन्छु । यो मेरो जिन्दगीको सबैभन्दा दुःखद् घटना हो । म आज युरोपको एउटा देशमा छु । पैसा कमाउन, घुम्न वा रमाइलो गर्न आएको होइन । परिवारमा भयावह घटना भएपछि मैले नेपालमा आफूलाई असुरक्षित महसुस गरेँ । मेरो भाइको जस्तो हालत मेरो पनि ढिलोचाँडो हुन्छ जस्तो लागिरह्यो ।

हुन त मैले दलित समाज कल्याण संघको जिल्ला अध्यक्षको रूपमा १० वर्ष काम गरेँ । नेपाल दलित संघको जिल्ला अध्यक्ष ५ वर्ष, केन्द्रीय सदस्यको रूपमा ५ वर्ष रहेँ । म नेपाल सरकार शान्ति मन्त्रालयको अधिकृत पनि थिएँ । २०६४ सालमा मलाई समानुपातिकमा सिफारिस पनि गरिएको थियो बेपत्ता परिवारको सदस्यको नाताले । यस्तो घटना हुनुअघिदेखि नै म धेरै अगाडि थिएँ, तर पनि मेरो परिवारले न्याय पाएन ।

यो अनुभव बताइरहँदा हार खाएको जस्तो देखिन सक्छ । खुकुरीको पीर अचानोलाई के थाहा ! हामी दलितलाई थाहा छ, हामी कति पीडित छौँ ? हामीलाई अनुभूति छ, न्याय हाम्रो पहुँचभन्दा कति पर छ, स्वर्गको कथाजस्तै । म यत्तिका वर्ष दलित आन्दोलनमा थिएँ, मैले अरु पनि अन्याय र अत्याचार धेरै देखेको छु । पीडितको पक्षमा दिनरात पैरवी गर्दा पनि न्यायमा हाम्रो पहुँच भएन । कोही हामीलाई मान्छे सम्झेर हाम्रो पोल्टामा न्याय दिन राजी भएनन् । आफूलाई अगुवा र बुद्धिजीवी ठान्ने गैरदलितहरूले पनि कहिले फूलको निहुँमा, कहिले सुँगुर र राँगाको निहुँमा, कहिले गाईको निहँुमा, कहिले पवित्रता र शुद्धताको नाउँमा हामीलाई कहिल्यै शान्तिसँग बाच्न दिएनन् । कहिलेकाहिँ त यति धेरै पीडा हुन्छ कि ‘तल्लो जात’को बिल्ला भिडेर जन्मिनै नपरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
हामीले ‘सर्फेस थ्योरी’ र ‘ग्राउण्डेड थ्योरी’बारे त सुनेकै छौँ । यी थ्योरीअनुसार मााथिबाट सतही रूपमा जे देख्छौँ, तल भुइँ तहमा जाँदा त्यो सत्य हुन्छ भन्ने छैन । नेपालमा गैरदलितले हामीलाई बहिराजस्तै सम्झेर जहिल्यै ढयाङ्ग्रो पिट्छन् ‘दलितहरू आर्थिक, राजनीतिक र शैक्षिक रूपमा पछाडि परेका कारणले उनीहरूले सामाजिक अपहेलना सहनु परेको हो !’ यहाँनेर उठ्ने मुख्य प्रश्न के हो भने हामीहरू कसले गर्दा शैक्षिक, राजनीतिक र सामाजिक रूपले पछाडि परेका हौँ ? शैक्षिक, राजनीतिक र सामाजिक रूपले अगाडि बढ्दौबढ्दै पनि किन हामीहरू अझै अपहेलनाको जिन्दगी जिउन बाध्य छौँ ? दलितहरू केही नजानेर पीडित बनेका हुन् भने हामीजस्तो शिक्षित अभियन्ताको परिवारमाथि किन अन्याय भयो ? किन हाम्रो भाइ बेपत्ता हुने हदसम्म विद्रोही भएर हिँड्नुप¥यो ?

मलाई लाग्छ, हामीहरूविरुद्ध जारी विभेद, छुवाछूत र पछौटेपन भनेको गैरदलितद्वारा निर्मित स्थिति हो । मेरा गुरू समाजशास्त्रीहरूले भन्ने गरेझैं ‘सबै कुरा सामाजद्वारा संरचित हुन् ।’ दलितहरू पछाडि पर्नुमा दलित समुदायको दोष छैन, माथ्लो र तल्लो जातमा बाँडिएको समाजको दोष छ । यसमा उनीहरूको कुनै भूमिका छैन, वर्ण र जातमा विभाजन गर्ने समाजका संचालकहरूको भूमिका बेसी छ । यति सामान्य कुरा पनि हाम्रा गैरदलितले खोइ कहिलेसम्म बुझ्ने होलान् ? यस्ता दोष र समस्या बढाउनमा आफ्नो पनि भूमिका रहेछ कि भनेर बुझ्न सकेमा दलितहरूले भोग्ने मानसिक र सामाजिक विभेद र यातना कम हुन्छन् कि ?

(तोलाङ्गे समाजशास्त्रका विद्यार्थी हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *