0

घृणाको राजनीतिक व्यवसाय र बढ्दो फासीवाद

ट्रम्पको श्वेत राष्ट्रवादबारे विमर्श

-राजेन्द्र महर्जन

महाशक्ति अमेरिकाका भावी राष्ट्रपतिका एक उम्मेदवार डोनाल्ड ट्रम्पलाई घरीघरी किन रिस उठ्छ आप्रवासीहरू देखेर ? रिपब्लिकन पार्टीका एक प्रत्यासी ट्रम्प किन किन छिनछिनमा मुसलमान समुदाय र उनीहरूको धर्म इस्लामविरुद्ध घृणा अभिव्यक्त गर्छन् ? आफूलाई गोराहरूका नेताका रूपमा प्रस्तुत गर्दै उनी विवादास्पद मत राख्ने क्रममा अमेरिकामा श्वेतहरूमात्रै चुनिनुपर्ने वा गोराहरूले मात्रै शासन गर्नुपर्ने भन्दै करोडौं अफ्रिकी अमेरिकी वा अश्वेत नागरिकहरूको किन बदख्वाइ गर्छन् ? किन उनी मेक्सिकनलगायत सबैजसो ल्याटिनोहरूलाई ठग, अपराधी, बलात्कारी ठान्दै अमेरिका छिर्न बन्देज लगाउने र मेक्सिको–अमेरिकाको सिमानामा बर्लिन वाल वा इजरायली काँडेतारजस्तै पर्खाल लाउने घोषणा गर्दै विद्वेषको वर्षा गर्छन् ?

जम्माजम्मीमा प्रश्न के हो भने महाशक्तिलाई हाँक्ने पार्टीका नेता, सम्भावित राष्ट्रपति तथा होटल, रियलस्टेट र सुन्दरी प्रतियोगितासम्मका ठूला व्यापारी किन यति हदसम्म अन्य नस्ल, जाति, समुदाय, धर्मसँगै आप्रवासीहरूविरुद्ध घृणा, विद्वेष र हिंसाको राजनीतिक व्यवसाय गर्दैछन् ? किनभने उनी आफ्नो देश अमेरिकालाई त्यस्तो महाशक्ति राष्ट्र बनाउन चाहन्छन्, जुन राष्ट्र मूलतः अरु वर्ण र नस्लभन्दा श्रेष्ठ ठान्ने गोराहरूको मात्रै, इसाई धर्मावलम्बीहरूको मात्रै, त्यसमा पनि आफूजस्ता पुँजीपतिहरूको मात्रै होस् भन्ने चाहन्छन्, अरु सबैको पटक्कै पहुँच, प्रतिनिधित्व र प्रभुत्व नहोस् भन्ने मत राख्छन् । अमेरिकी लोकतन्त्रलाई ‘गोराहरूले गोराहरूका लागि र गोराहरूको हित’मा चल्ने शासनका रूपमा कायम राख्न पाइयोस् भन्ने उनको राष्ट्रवादी अवधारणा देखिन्छ । त्यही राष्ट्रमा, त्यहाँका शासकहरूमा, तिनलाई भरथेग गर्ने पुँजीपतिहरूको शोषणमा संकट आइलागेपछि ट्रम्पको राष्ट्रवाद उदय भएको हो । त्यही ट्रम्पीय राष्ट्रवादको बाघ–सवारीका आधारमा अमेरिकी विजय अर्थात कर्पाेरेट युएसएको लहर ल्याउने राजनीतिक कसरत हुँदैछ, जसको परिणामस्वरूप विभिन्न प्रदेशमा हिंसात्मक घटना बढ्दैछ ।

कर्पाेरेट युएसएमा आएको संकट समाधानका लागि त्यस्तो राष्ट्रवादको जरुरत भएको छ, जसले बहुसंख्यक जनतामा कुनै व्यक्ति, कुनै पार्टी, कुनै विचार वा कुनै राज्यप्रति भक्ति, उन्माद र जुझारूपन पैदा गराओस् । त्यही भक्ति, उन्माद र जुझारूपनमा बाघ–सवारीको आधारमा राष्ट्र निर्माण वा अमेरिकाको अभ्युदयको सपना साकार पार्न खोजिँदैछ । यसको संकेत र अभिव्यक्ति हो ट्रम्पको राष्ट्रवादको उत्थान । त्यसो त जर्मनीमा हिटलरले पनि आर्य नस्लको श्रेष्ठता, प्रभुत्व र शासनाधिकारको नारामा राष्ट्रवादी उन्माद र यहुदीविरोधी हिंसा युरोपभरि फैलाएका थिए । उनले ‘राष्ट्रिय समाजवाद’को सुन्दर आवरणमा, अन्य राष्ट्र नअट्ने ‘राष्ट्रिय’ र पुँजीपतिहरूका लागि हुने ‘समाजवाद’का रूपमा विश्वयुद्ध नै छेडेका थिए । ट्रम्प त्यही वादको अमेरिकी अनुहार हुनसक्छ, जसको विजयले थुप्रै लादेनहरूलाई मानसपुत्रका रूपमा जन्माउने खतरा बढ्दो छ ।

जर्मन भाषामा ‘नासनलसोजियालिसमस’को छोटकरीमा बनाइएको ‘नाजी’ नै फासीवादको एक विश्वव्यापी उत्कर्ष जनाउने शब्द हो । ‘फासियो’ नामक इटालीको पुरानो हतियारबाट थालनी भएको फासीज्म वा फासीवादसँग फाँसीसँग कुनै नाता पर्दैन, र पनि नेपालीमा बुझ्दै नबुझीकन ‘फाँसीवाद’ लेख्ने गरिन्छ । यथार्थमा एउटा वर्ण, नस्ल, जाति, लिंग, क्षेत्र वा धर्मको सर्वश्रेष्ठता, प्रभुत्व र शासनाधिकारको हिमायती हुनु नै फासीवादको सारतत्व हो । र, अन्य (अदर) सबैको कुनै न कुनै नारा र निहुँमा बहिष्करण, सीमान्तीकरण र संहार गर्नु नै फासीवाद हो । यही नाजीवाद हो, जुन एकल जाति वा राष्ट्रलाई बोक्ने राष्ट्रवादको रूपमा देखिएको हो ।

जर्ज फेड्रिक्सनका अनुसार युरोप र अमेरिकामा वर्ण, नस्ल, जातिको सर्वश्रेष्ठता, प्रभुत्व र शासनाधिकारको अवधारणा चौधौं–पन्ध्रौं शताब्दीमा मात्रै विकास भएको हो । जबकि तीन हजार वर्षभन्दा पुरानो वर्णव्यवस्थाले त्यसलाई सैद्धान्तिकीकरण गर्दै, मान्छेले मान्छेलाई स्तरीकरणमात्रै होइन, छुनसमेत नहुनेगरी छुवाछूत र भेदभावसहित व्यापक मात्रामा समाजमा लागू गर्दै आएको ब्रजरंजन मणिको ऐतिहासिक अध्ययनले देखाउँछ । त्यसैलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनी सम्बद्ध भाजपा, राष्ट्रिय स्वयमसेवक संघ, बजरंगी दलहरूले ‘हिन्दु राष्ट्रवाद’का रूपमा भारतमा अभ्यास गर्दै आएको छ, जुन सारमा फासीवादकै खाकी रंग, गेरुवा वस्त्र, त्रिशुल र स्वस्तिकधारी रूप हो । सुभाष गाताडेका अनुसार हिन्दु भनेकै हिन्दुस्तान मान्ने, हिन्दु जातिको एकल राष्ट्र भनेकै भारत वा इन्डिया ठान्ने तथा दलित र ओबिसीहरूमा समेत हिन्दुत्ववादी भक्ति, उन्माद र जुझारूपन बढाएर मुसलमान, इसाई र आदिवासी जनजातिहरूसँगै पाकिस्तानमाथि आक्रामक हुनु नै ‘हिन्दु राष्ट्रवाद’को असली आदर्श हो ।

ट्रम्पको श्वेत राष्ट्रवाद होस् मोदीको हिन्दु राष्ट्रवाद; सबैजसो फासीवादी विचारले देशअनुसार आफ्नो अनुकूलको रूपरंग धारण गर्छ । आम रूपमा बेनेडिक्ट एन्डर्सनको शब्दमा परिकल्पित समुदाय वा ‘नेसन’ (राष्ट्र)को सुदृढीकरणका नाममा यसले सबै विविधताबीच एकताको नाममा समरूपता फैलाउन खोज्छ । त्यस्तै, समरूपता नस्विकार्नेहरूलाई ‘अन्यकरण’ गर्छ अनि देशभित्र र बाहिर शत्रुको निर्माण गर्दै जेहाद छेड्छ । यही टक्करावको नकारात्मक मानसिकताबीच राष्ट्रको अस्तित्व, विकास र समृद्धि प्राप्त हुने सपनाको राजनीतिक कारोबार गर्छ ।
इकबाल अहमदको ‘प्रोफाइल अफ द रिलिजियस राइट’मा विभिन्न धर्म वा समुदाय वा राष्ट्रले कसरी ‘सुपेरियर डिफरेन्स’ (श्रेष्ठ भिन्नता)को कुरा गर्छ भन्ने तथ्य देखाइएको छ । अहमदका अनुसार, यहुदी वा इसाई, हिन्दु वा इस्लाम, हरेकले आफूलाई श्रेष्ठ र अरुलाई कनिष्ठ र डरलाग्दो शत्रु ठान्छन् । हरेकले असमावेशी राजनीति गर्छन् र अल्पसंख्यक समुदायलाई खतराको रूपमा प्रस्तुत गर्छन् । ठाउँ र समयअनुसार ‘अन्य’चाहिँ फरक फरक हुन्छन्, तर ‘अन्य’लाई डरलाग्दो दानव वा राक्षस वा ‘इभिल’का रूपमा उपस्थित गराइन्छ र तिनको निषेध गरिन्छ । अन्यप्रतिको घृणा, विद्वेषलाई लामबन्दी गरिन्छ र यसका लागि धेरैजसो अभूतपूर्व सांगठनिक प्रयास गरिन्छ । र, आफ्ना घृणा र विद्वेष हिंसात्मक रूप दिने एवं त्यसलाई वैधता प्रदान गरिन्छ । ट्रम्पको श्वेत राष्ट्रवादले मुसलमान, अश्वेत र आप्रवासीलाई अन्यकरण गरेको छ भने मोदीको हिन्दु राष्ट्रवादले मुसलमान, इसाई र दलितलाई ।
यस्तो ‘अन्यकरण’लाई फासीवादसँग मात्र जोडियो भने अधुरो हुन्छ, जबकि यसको ऐतिहासक साइनो त वर्णव्यवस्थासम्मै गएर जोडिन्छ । रोमिला थापरको ‘कल्चरल पास्टस्’मा ‘अन्य’लाई दानवीकरण गर्ने क्रममा प्रयोग भएका शब्द : राक्षस, असुर, म्लेच्छ (अस्वच्छ र फोहोर) को इतिहास ८०० ईसापूर्वमा लम्बिएको पाइन्छ । ब्रजरंजन मणिको ‘डिब्राह्मनाइजिंग हिस्ट्री’अनुसार त्यस बेलाका वैदिक रचनाहरूमा यस्ता शब्द अन्य : शूद्र र अतिशूद्रलाई दुस्मन ठानेर दानवीकरण÷राक्षसीकरण गर्ने क्रममा प्रयोग गरिएका थिए । तिनै शब्द पछिल्लो चरणमा इस्लाम धर्मावलम्बी मुसलमान, इसाई र दलितहरूविरुद्ध पनि प्रयोग भइरहेको छ ।

अन्यकरण गर्ने निहित उद्देश्यका साथ प्रयोग गरिने शब्द जब संगठित र जुझारु रूपमा अभिव्यक्त हुन्छ, तब हिंसाचार हुन्छ । ‘गुजरातको शेर’ हुँदा मोदी ब्रिगेडले सन् २००२ मा गुजरातको गोधरामा गरेको २ हजारभन्दा बेसी मुसलमानको संहार त्यही हिंसाचारकै प्रतीक हो । अहिले उनी ‘भारत माताका शेर’ भएपछि देशभरि जारी दलित, मुसलमान, इसाई र नास्तिकहरूविरुद्ध लक्षित प्रत्यक्ष र परोक्ष हिंसा, ‘देशद्रोह’को नाममा भिन्न मत, आस्था र संस्थामाथि दमन, धरपकड तथा विश्वविद्यालयदेखि शैक्षिक र संचार संस्थाहरूको ‘गेरुवाकरण’ सघन भएको छ । यसले तीव्र प्रतिक्रिया जन्माएको छ, कहिले रोहिथ वेमुलाको आत्महत्याको रूपमा त कहिले कन्हैया कुमारको विद्रोहको रूपमा ।

त्यसो त नेपाललाई समेत भारतको अंग मान्ने गेरुवाधारीहरूबाट जारी हिन्दु अतिवादी संगठनहरूको विस्तार, राप्रपाजस्ता हिन्दू राजावादी संगठनसँग राजनीतिक साँठगाँठ, नेपाली राज्यलाई हिन्दूसापेक्ष बनाउने अभियान तथा अघोषित आर्थिक नाकाबन्दीमार्फत अघोषित एजेण्डाको स्थापनामा ‘गेरुवाकरण’कै बाछिटा देखिन्छ । तर यस्ता बाछिटाको नेपथ्यमा पनि नेपाली शासकहरूले अँगाल्दै आएको हिन्दु धर्मलाई राजधर्म मान्ने, पहाडलाई मात्रै नेपाल ठान्ने, खस नेपाली भाषालाई मात्रै सरकारी कामकाजको नेपाली राष्ट्रभाषा स्वीकार्ने तथा अरु सबैजसो वर्ण, जाति, समुदाय, भाषा, धर्म, भाषालाई ‘अन्यकरण’ गर्ने नीति र नियत रहेका छन् । यसको पछिल्लो अभिव्यक्ति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको ब्रिगेडका मधेस र मधेसीविरोधी वाणीमा प्रस्ट झल्किन्छ । धोती, माकः, आँप वा अन्य अपमानजनक प्रतीक र शब्दावलीमार्फत सम्बोधन गर्दै मधेसी र अन्य समुदायलाई राज्यमा पहुँच, प्रतिनिधित्व र प्रभुत्व स्थापित हुन नदिने एकल राष्ट्रवाद मुखर रूपमा अभिव्यक्त भएको जगजाहेर छ । अहिलेको संविधानमा रहेका धर्म, भाषाको अधिकारबारे प्रश्न उठाउने, पहिचान झल्किने नामांकनबिनाको सीमांकनसँगै प्रशासनिक संघीयतामा चित्त नबुझाउने तथा महिलाको पक्षमा समान अधिकारको माग गर्नेहरूलाई राष्ट्रद्रोही ठान्नेहरूको वर्चस्व र व्यापकता बढ्दो छ । यसले ओली वा थापा वा केसीको ब्रिगेडलाई बलियो बनाउला, तर विविधताबीच समानता, विविधताको सम्मान र अनेकतामा एकतालाई टेवा दिँदैन, बरु अन्यकरणसँगै विविधताबाट प्रतिरोध नै जन्माउँछ । यस अर्थमा चाहे अमेरिका होस्, भारत वा नेपाल, ट्रम्पको श्वेत राष्ट्रवाद, मोदीको हिन्दु राष्ट्रवाद र ओलीको पहाडी राष्ट्रवाद वा अन्य ब्राण्डका बहिष्करणवादी विचारले देशलाई टुक्र्याउँछन्, समाजलाई जोड्दैनन्, सबैखाले समुदायलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूत गर्दैनन् ।

(२०७३ चैत्र १ मा लेखिएको यो लेख एक राष्ट्रिय अखबारमा प्रकाशित गर्न अस्वीकार गरिएपछि इसमता डटकममा पोस्ट गरिएको थियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *