0

छुत योनिको अछुत कथा

नेपालमा कथित सानो जातका महिलाहरूले जबर्जस्ती यौन–श्रमसँगै यौन–हिंसा भोगेका पीडाको जोड, घटाउ र गुणन केही पनि मिल्दैन 

काठमाडौँ — हामी जङ्गल न हौँ, जङ्गलमा जसले पनि पिसाब फेर्छन् ।’ सुदूर पश्चिमकी एक अधबैँसे दिदीको भनाइले मलाई अरिङ्गालले टोकेझैँ हुन्छ, घरीघरी रन्थनिन्छु । उनी अनुभूतिको भाषामा भन्छिन्, ‘ऊ… त्यो बगरजस्तै छ मेरो जिन्दगी… सुक्खा र उराठ ।’

उनको घर नजिकै छ बगर । बगरको तातो हावाले मलाई झनै अत्याउँछ । टन्टलापुर घाम लागेको छ । फल्याकको चेपचेपबाट हावा छिर्छ घरमा । जुटको बोराको कोक्रोमा बहिनी हल्लाउँदै छिन् सानी नानी । भुइँमा झिङ्गा छपक्कै छ । कुखुरो भातका सिता टप्प–टप्प टिप्दै छ ।

सुतलीको डोरीले बुनेको खटिया । खटियामा सुली नै सुली छ । सिलावरको बटुका, लोटा भुइँमा लडेका छन् । दैलो नजिकै जुठ्यानमा सुकेका जुठा भाँडाकुँडा असरल्ल छन् । नजिकै अँगेनामाथि झुन्डयाइएको छ ध्वाँसो नै ध्वाँसो लागेका मासु । बिरालो आफ्नै सुरमा भित्र–बाहिर गर्छ । सायद ऊ मासु टिप्ने दाउमा छ ।

सुदूरपश्चिमकी दिदीका आँखा हेर्दा सानो छँदा मितिनी आमाले घुमाउने गरेको चर्खा सम्झन्छु । चर्खाजस्तै घुमेका उनका आँखा र जिन्दगी पढ्दै आफैंसँग बात मार्छु, सुदूरपश्चिमका महिलाका योनिका कथाबारे । सोच्छु अमेरिकी नाटककार इभ एन्सलरले ‘भजाइना मोनोलगस्’ (योनिको आत्मसंवाद) लेख्दा ‘अछुत’ महिला भेटिन् कि भेटिनन् होला ? अन्य मुलुकका महिलाका योनिका कथाले नसमेटेका ‘अछुत’ महिलाका योनिका कथा कस्तो छ ?

सानु गाँठीकी मान्छे । टम्म मिलेका दाँत । नाकमा नथिया । ओँठमा गुलाबी लाली । चहकिलो रङको छोटो सलवार कुर्ता । तन्किएको पायल चप्पल खुट्टामा । फुस्रो रङ्गका आँखा । उनका आँखाको हेराइले भारतीय साहित्यकार ओमप्रकाश वाल्मीकिका शब्दलाई सम्झाउँछ । वाल्मीकि लेख्छन्, ‘दलितको जिन्दगी मरेको माछाको खुला आँखाजस्तै हो ।’

उनका अस्थिर र चनाखा आँखा नियाल्छु, रङ्ग उडेको जिन्दगीको कथा । अनगिन्ती संघर्षका पत्रैपत्रको जीवन सम्झिँदै उनी कथा हाल्छिन्, ‘आँखा बन्द गर्छु रात पर्छ । न मलाई दिन मन पर्छ, न रात नै । मलाई के मन पर्छ, भुलिसकेँ !’

‘म कुमारी हुँ, ऊ मेरी छोरी हो’
उनी बीच–बीचमा मुसुक्क हाँस्छिन् आफ्नै जिन्दगी देखेर । हेर्दा हाँसेकै देखिन्छ, मन जति उराठ भए पनि । दिन–रात नारा लाएझैँ धोद्रो स्वरमा भन्छिन्, ‘साहै्र गल्छु बहिनी, अब त गर्दागर्दै मन लाग्नै छोड्यो । कोही–कोही साह्रै निर्दयी हुन्छन् । सम्बन्ध राख्दा पनि कुट्छन् । आफ्ना निजी अंग चाट्न लगाउँछन् जबर्जस्ती । पैसा नि थोरै दिन्छन् । कसैले भने बच्चाका लागि खाजा खर्च दिन्छन्, खानेकुरा किनेर देऊ भन्दै ।’

बोल्दै गर्दा न उनी सजिलै खुल्न चाहन्छिन्, न आफ्नो कुरा नै रोक्न सक्थिन् । बोल्दै गर्दा स्वर भासिएझैँ हुन्छ । थकित देखिन्छन् । समाजले शुद्ध र सभ्य मान्ने शब्द खोज्दै थिइन् सायद । स्मृतिको भट्टीमा पोलिएका भावनालाई ब्युँताउँदै प्रश्न गर्छिन्, ‘मेरो थुक चल्छ, भातपानी किन चल्दैन ?’
उनका प्रश्न सुन्दा नाङ्गो तार समाएझैँ हुन्छु । त्यस्तै, खरबारीको उकालो चढ्दा जेठी आमासँग भएको कुराकानी पनि सम्झिन्छु अचानक । सुदूर पश्चिमकी अधबैँसे दिदीको कथा होस् कि मध्यपश्चिमकी जेठी आमाको कथा, भोगाइ फरक छ, र पनि उस्तै । बूढी होस् या तरुनी, धेरैजसो महिलाको कथा सारमा उही ।

आडैमा हुर्केकी छोरीतिर हेर्दै भन्छिन्, ‘बहिनी, म कुमारी हुँ । मेरो विवाह भएको छैन । ऊ मेरी छोरी हो । यसको बाउ कति निर्दयी । मलाई न घर देखायो, न आफू बस्ने ठाउँ लग्यो । कसैको दिन कहिले नि फेरिन्न । उही छ हिजो आज अनि भोलि पनि ।’

भविष्य नै विगत हुन सक्छ कसरी ?

उनीसँगै भुइँमा टुसुक्क बसेका छन् उनका भविष्यहरू । गहुँगोरी युवतीहरूतिर देखाउँदै, ‘यिनीहरूको जिन्दगी पनि हाम्रोजस्तै छ ।’ उनी आफ्नै इतिहास आफ्ना भविष्यहरूको जिन्दगीमा दोहोरिरहेको देखेर त्यसो भन्छिन् ।

हाइवेमा हर्न बज्छ । सबै त्यतैतिर आँखा डुलाउँछन् । एक हूल महिला हाँस्दै हिँडिरहेको देखिन्छ । ‘हामी पनि उनीहरू जसरी मन खोलेर हाँस्दा बात नलाग्ने भए…’ भन्दै खित्का छाडेर हाँस्छिन् । सधैँको मेरो हाँसो खै कता हराउँछ हराउँछ ।

उनी आफ्नो कुरोको बिट मार्दै भन्छिन्, ‘तिनै राणाहरू, राजा रजौटाहरूले पातर्नी बनाई गाउँदा नाच्दा हाँस्नुपर्‍यो । पछि त्यही हाँसो नै विष भयो । कस्तो अनौठो !हाँसो पनि अरूको अधीनमा ।’

***
नेपाली समाजमा ‘अछुत’ महिलाका योनिका कथा बुझ्न सुदूरपश्चिमको यात्रा निकै महत्त्वपूर्ण भयो । सुनेकी थिएँ, सुदूरपश्चिम नघुमी नेपालको पूरा चित्र देखिँदैन र नेपाली समाज नै बुझिँदैन । यात्रामा ती दिदीको कथा सुन्दा नेपाल र भारतका दलित महिलाका योनिका कथा मिल्दोजुल्दो लाग्छ ।

भारतका सतनामी (चमार) महिलाहरूको कथा पनि यहाँका पातर्नी र अछुत भनेर हेपिएका दिदीबहिनी र आमाहरूको कथाजस्तै रहेछ । कुरा गर्दैगर्दा सतनामी (चमार) महिलाले इतिहाससम्बन्धी अध्ययन गरेकी मानवशास्त्री अनुपमा रोयसँग आफ्नो भावना साटेको घटना सम्झिन्छु । एक सतनामी महिला रोयलाई सुनाउँछिन्, ‘ठूलो जातका लोग्नेमानिसहरू हामीलाई छुँदैनन् । हामीसँग कहिल्यै सँगै पनि खाँदैनन् । तर उनीहरू सधैँ व्यभिचारी हुन तयार हुन्छन् । त्यसो गर्दा हाम्रो महिला कहिल्यै अछुत हुँदैनन् । यद्यपि उनीहरू सतनामी महिलाका निजी अंगहरू चाट्दा पनि आफ्नो पवित्रता गुमाउँदैनन् ।’

सतनामी चमार महिलाको कुरा सुनेपछि लाग्छ, ‘अपवित्र’ निजी अंग चाट्ने मुखचाहिँ पवित्र र दलित महिलाको शरीरचाहिँ अपवित्र, हुन्छ कसरी ?

जात, धर्म र रंगको नाममा महिलामाथि दलनको इतिहास छोटो छैन । यसको लहरो नेपाल र भारतमा मात्रै खुम्चिएको पनि छैन । अमेरिकी समाजबारे अफ्रिकी अमेरिकी नारीवादी चिन्तक बेल हुक्स भन्छिन्, ‘यौन अभ्यास सांस्कृतिक विविधताअनुसार भिन्न देखिए पनि काला महिलालाई भने रणनीतिक रूपमै अधीनस्थ र कमसल स्थानमा मात्रै राखिन्छ । हाम्रो छवि र संस्कृतिलाई यस्तो ढंगबाट चित्रण गरिन्छ, जसमा नश्लीय श्रेणीबद्ध समाजको ऐना सहजै देखिन्छ । हामी जहिले पनि गोराहरूको इच्छाका लागि हाजिर हुनुपर्छ, यौन–दासजस्तै ।’

त्यति मात्रै होइन, दास–दासी उत्पादन गर्नकै लागि अफ्रिकी अमेरिकी महिलालाई निरन्तर रूपमा बच्चा जन्माउने फयाक्ट्रीजस्तै बनाइएको इतिहास पढ्न पाइन्छ । त्यसो त रंगको आधारमा हुने विभेद र जातको आधारमा हुने भेदभावको रङ उस्तै–उस्तै लाग्छ । झन् महिलाको हकमा त गाढा देखिन्छ । उनीहरूले जातीय उत्पीडन र नश्लीय उत्पीडनसँगै बाध्यात्मक यौन–श्रमको सकस नभोगी धरै छैन ।

नेपालमा कथित सानो जातका महिलाहरूले जबर्जस्ती यौन–श्रमसँगै यौन–हिंसा भोगेका पीडाको जोड, घटाउ र गुणन केही पनि मिल्दैन । किनभने ‘नेपाली समाजमा दलित महिलाको सतीत्वको प्रश्न नै हुँदैन र दलित महिलाको व्यक्तित्व क्षत्री–बाहुनका लागि केही होइन’ भन्ने मान्यता छ । कथित उच्च जातले दलित महिलाविरुद्धको यौन आक्रमणलाई अपराधै मान्दैन । सामाजिक संरचनाले अप्रत्यक्ष रूपमा दलित महिलाविरुद्धको यौनहिंसालाई छुट दिन्छ । किनकि उनीहरूविरुद्ध हुने यौनहिंसालाई कानुन कार्यान्वयन गर्ने निकायले समेत बेवास्ता गर्छ भनी लेख्छन् अपराधशास्त्रका विज्ञ युवराज संग्रौला ।

प्रश्न सुदूरपश्चिमकी दिदीको शरीरलाई जंगल बनाउनेसँग मात्रै जोडिएको छैन । मुख्य प्रश्न हो, उनी र उनीजस्ता आम दलित महिलाको शरीरलाई विशेषाधिकारप्राप्त जातको निर्विवाद अधिकार भन्दै वैधानिक रूपमा मानिँदै आयो, कसरी ?

‘देउचेलीहरूसँग मोजमज्जा गर्ने शासक’
दलित महिलाको शरीरलाई सोस्ने र उनीहरूको योनिकतालाई नियन्त्रण गर्ने कानुनी इतिहासको दुष्चक्र त झनै घना जंगलजस्तै रहेछ । यो दुष्चक्रको इतिहास बुझ्न ‘श्री ३ जंगले डोटीका पार्तनी देउचेलीहरूलाई निगाह गरी केही व्यवस्था थिति बाँधी इनाम समेत गरिदिएको पत्र’ एउटा कामलाग्दो दसी हो । त्यसबारे इतिहासकार ज्ञानमणि नेपाल ‘नेपाल निरुक्त’ मा लेख्छन्, ‘मानिसहरू स्वास्नी तुल्याउँछु भन्दै झुक्याएर देउचेलीहरूसँग केही काल रामरौस मोजमज्जा गर्ने र छाडिदिने, बिनापैसा जबर्जस्ती करणी गर्ने गर्दथे ।’ त्यति मात्रै नभई उनीहरूको नाचगानलाई शत्रुको भेद खोल्न १९१२ सालको गोर्खा–भोट युद्धको बेला रणनीतिक रूपमा पनि प्रयोग गरेको पाइन्छ । उनको अध्ययनले भन्छ, डोटीतिरका ‘देउचेली पातर्नी’ राम्री छ भने केही केहीलाई त राजधानी काठमाडौँसम्म झिकाइन्थ्यो भने भारत र भोटतिर पनि नेपाली केटीहरूलाई बेचिन्थ्यो, राज्य स्तरबाटै ।

जंगबहादुर राणा र उनका छोरानातिहरूले ‘पातर्नी’ हरूलाई राजधानी झिकाएको कथा सुन्न र पढ्न पाइन्छ अझै पनि । कैलाली, कन्चनपुर त ‘नयाँ मुलुक’ थियो, राणाहरूकै मौजा थियो, उनीहरूले जे भन्यो त्यही चल्ने बिर्ता थियो । सुदूरपश्चिमजस्तो बिर्ताका ‘पातर्नी’ र अन्य राम्रा महिलालाई स्वास्नी बनाउन के गाह्रो † सुसारे, तालिमे र रखौटी बनाउन बच्ची र किशोरीहरू किनेर ल्याइन्थ्यो, खसीबोकाजस्तै । उनै जंगबहादुर राणालाई ‘नेपालका दोस्रो एकीकरणकर्ता’ ठान्नेहरूको पनि कमी छैन ।

स्त्री शरीर–भोगको प्रसङ्गमा विश्व इतिहासै रचेका र तिब्बतमा केटी व्यापार गर्न सरकारी स्तरबाटै अनुमति दिएका जंगबहादुर राणाले १९१० सालमा बनाउन लगाएको हो ‘मुलुकी ऐन’ । मुलुकी ऐनमा महिलाहरू, त्यसमा पनि ‘अछुत’ महिलाहरूका शरीर र यौन जीवनलाई नियन्त्रण गर्न खोजिएको थियो । मुलुकी ऐनले जयस्थिति मल्लको पालामा सन् १३८० मा रचिएको ‘न्यायविकासिनी’ को इतिहास बोकेको मानिन्छ ।

सांस्कृतिक इतिहासकार प्रयागराज शर्माका अनुसार ‘न्यायविकासिनी’ भनेको जात–जातले गर्ने विधि व्यवहारलाई कानुनी मर्यादाभित्र बाँध्ने पहिलो राज्यस्तरीय प्रयास थियो । यद्यपि नेपालमा त्योभन्दा अघि पनि जातभात र छोइछिटो हुने गरेको थियो, नियम बनाउने प्रयास पनि भएको थियो । जयस्थिति मल्लभन्दा अघि पनि जातभात र छोइछिटो प्रथालाई धर्मको नाममा नियममा ढालिएको थियो । राजा–महाराजाहरूका लागि जातभात र छोइछिटो गर्नु नै न्याय र धर्म गर्नु थियो । त्यसबाट सबैभन्दा बेसी त अछुत महिला र उनीहरूको शरीरले न्यायभन्दा सजाय भोगेको पाइन्छ । त्यसको नीलडाम देखिन्छ ती महिलाका शरीरमा । सुदूरपश्चिमकी दिदीका शब्दमा पनि त्यस पीडाकै चीत्कार सुनिन्छ ।

छुवाछुत नै धर्माधिकारीको धर्म र कानुन
यात्रामा देखेकी ती दिदीका आँखाले अझै पनि हेरिरहेझैँ लाग्छ । उनका आँखामा आशंका र आत्मविश्वास बलियोसँग झल्किन्छन् । हो, अनौठो किसिमको हेराइ । भिन्नै किसिम आँखाको घुमाइ । उनका आँखाको घुमाइसँगै नेपालको कानुनी इतिहास घुमेको देख्छु । जति सुन्दर नेपाल, त्यति नै निर्मम कानुनी इतिहास । किनभने कसुरदाताको जात हेरी सजाय दिइने कानुनी परम्परा नै यसको मुख्य दसी हो । अझै नाभि कुरो जातीय कानुन भङ्ग गर्नेलाई दिइने दण्डको आम्दानी नै राज्यले छानेका धर्माधिकारीहरूको नियमित आम्दानी हुने गथ्र्यो । यस्तै तथ्य छन् नेपालका एक कानुनविदले इतिहासकार ब्रायन हड्सनलाई दिएको जवाफमा ।

मुलुकी ऐनसँगै अन्य थितिले बाँधेको धर्म र धर्माधिकारीको व्यवस्थाले संकेत गर्छन् : जति अछुतलाई अपराधी बनाइन्छ, त्यति नै बढी छुतहरूको आम्दानी बढ्दै जान्छ । अच्चम त के छ भने अछुतहरूलाई अपराधी बनाइरहँदा छुतहरूको समृद्धि निश्चित हुँदै जाने रहेछ । कानुनी इतिहास हेर्दा दलितहरूको सन्तान–दरसन्तानको लासमाथि नेपालको न्यायनिसाफका खाँबा गाडिएको देखिन्छ । ती खाँबा थिए राज्यबाट छानिने डिठ्ठा, विचारी र धर्माधिकारी । आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीको अध्ययनमा ‘धर्माधिकारीहरू भनेको राजाद्वारा नियुक्त ब्राह्मण हुन्थे । उनीहरूको कत्र्तव्य र अधिकार भनेको भातपानी, सम्प्रदाय र यौन सम्बन्धबारे धर्म–अधर्म छुट्याउनु हो ।’ आखिर किन भातपानी, सम्प्रदाय र यौन सम्बन्धमा धर्म–अधर्म छुट्याउनुपर्‍यो त ? किनभने, मानिसको दैनिक जीवनमा यी तीनवटै विषयको मुख्य भूमिका हुन्छ । तिनमाथि नियन्त्रण कायम गर्दै कतै शक्ति–सम्बन्धमा आफ्नो वर्चस्व कायम गर्न खोजिएको त होइन ?

राज्य चलाउनेहरूको नजरमा धर्म र कानुन भनेको के हो? यसको परिभाषा धर्मले अछुत मानेका रैतीको आँखामा पढ्न पाइन्छ । निश्चित जातमा जन्मिएकै कारण कसैले शास्त्र पढ्न पाउने, शास्त्रलाई अथ्र्याउन पाउने, न्याय–अन्यायको परिभाषा गर्न पाउने र त्यही धर्मशास्त्रलाई आधार मानेर जातअनुसार न्याय–अन्याय छुटयाउने । जातकै आधारमा कोही न्यायमूर्ति हुने र कोही अपराधीे । पहिलेदेखि नै रहेछ धर्म/कानुन र धर्माधिकारीको पनि आरक्षण † हठात् सम्झिन्छु, अहिले पनि कानुन पढाइने कक्षाकोठामा साथीले बेन्ची नपाउँदा भन्छन्, ‘हैन, यो बेन्चमा आरक्षण छैन ?’ मनमा प्रश्न जन्मिन्छ, ‘साँच्चै पहिले होस् कि अहिले, आरक्षण कसले पाउँदै आएको रहेछ त ?’

हिन्दु धर्मशास्त्र पढेको नाममा
ब्राह्मणहरूलाई आरक्षित गरिएको थियो धर्माधिकारी पद । इटालीका अध्येता लुसियानो पेटेकको अध्ययनमा धर्माधिकारी शब्दको उल्लेख आजभन्दा साढे सात सय वर्षअघि नै भएको पाइन्छ । नेपाल संवत् ३९५ को ‘दिव्यशुद्धिप्रकरण’ को पुष्पिकावाक्यमा ब्राह्मण जसब्रह्मालाई लिएर यसको प्रयोग गरिएको रहेछ । उनीहरूले न्याय–अन्याय छुट्याउने नाममा छुत–अछुतको धारणालाई नै मुख्य मापदण्ड बनाउने गर्दथे । त्यसको सबैभन्दा नराम्ररी सिकार त शूद्र, अछुत वा मासिन्या काटिन्या जात नै हुने भए ।

मानिसलाई शूद्र, अछुत वा मासिन्या काटिन्या जात बनाउनुलाई नै धर्म मान्ने धर्माधिकारीहरूले महिलाको गर्भलाई नै अछुत र बिटुलो बनाउँदै आएका थिए । त्यस्ता धर्माधिकारीले लिएको ‘दिव्य परीक्षा’ कसरी न्यायिक हुन सक्छ ? छुवाछुतलाई नै धर्म मान्ने धर्मशास्त्र र धर्माधिकारीले अछुतहरूलाई न्याय दिन्छ, कसरी ? नेपालको हिन्दु राज्यले पनि धर्म, कानुन, शास्त्र र धर्माधिकारीको व्यवस्था गरी अन्यायलाई नै संस्थागत गर्दै आएको त होइन ?

यसको जवाफमा सांस्कृतिक इतिहासकार प्रयागराज शर्माको ठोकुवा छ, ‘हिन्दु राज्यले एउटा धार्मिक/सैद्धान्तिक पूर्वाग्रह राखेको हुन्छ । त्यो पूर्वाग्रह हो समाजलाई राज्यद्वारा निर्देशित आदर्शको पालना गराउनु । हिन्दु न्याय–पद्धति (जुरिस्प्रुडेन्स) लाई धर्मशास्त्रीय भावनाले सदा आविर्भूत गरेको तथ्य यतैबाट सिद्ध हुन्छ ।’

मेरो विचारमा यस्तो पूर्वाग्रह भातपानी र यौन सम्बन्धमा झनै जब्बर देखिन्छ । हिन्दु राज्यमा ब्राह्मणले शूद्र समुदायका महिलामाथि यौन अपराध गरेमा न्यूनतम सजाय दिइन्थ्यो । शूद्र समुदायको पुरुषले द्विज वर्णको महिलामाथि यौन अपराध थाहा नपाई गरेमा यौन अंग काट्ने र सम्पत्ति जफत गर्ने काम गरिन्थ्यो । तर थाहा पाई–पाई अपराध गरेमा उसको ज्यान समेत लिइन्थ्यो । क्षत्रिय र वैश्यको सम्बन्धमा पनि ब्राह्मण महिलालाई यौन अपराध गरेमा शूद्रलाई जस्तै सजाय दिइन्थ्यो वा जिउँदै जलाइन्थ्यो । यसबारे इतिहासकार तुल्सीराम वैद्य र त्रिरत्न मानन्धरको किताब ‘क्राइम एन्ड पनिसमेन्ट इन नेपाल’ मा उल्लेख छ ।

धर्मशास्त्र र ऐन–कानुनका किताब पल्टाउँदै बस्दा पनि सुदूरपश्चिमकी अधेबैँसे दिदीका आँखाले पछ्याइरहेझैँ लाग्छ । र, ती अस्थिर आँखाले घरीघरी सोधिरहेझैँ लाग्छ, ती ऐन, कानुन र धर्मशास्त्रले नै सिंगो समुदायलाई अछुत बनाएका होइनन् ? ती ऐन, कानुन र धर्मशास्त्रले अछुत भनिएका महिलाको शरीरलाई थप सोस्न, लुछ्न सघाएका होइनन् ? उनका आँखाका भाखाले मलाई कानुनका कक्षा कोठासम्म पनि लखेटेको लखेटेकै अनुभूति हुन्छ ।

मानव सभ्यताको अत्यन्तै क्रूर र अमानवीय अभ्यासलाई सबैभन्दा मिलेको सामाजिक संगठन मान्ने, भाइचारा र सहअस्तित्वको जोर्नी देख्ने गुरु–चेलाको कुनै कमी छैन कानुनका कक्षामा । कानुनका सरले कक्षा कोठामा नेपाली कानुन प्रणाली पढाउँदा पनि राज्य र न्यायव्यवस्थाको मूल स्रोत स्मृति वा धर्मशास्त्र: मनुस्मृति, यमस्मृति, बृहस्पतिस्मृति भन्थे । पढाएको सुन्दा भान हुन्थ्यो, मानौँ नेपालको न्यायव्यवस्था यति मिलेको छ कि कहीँ पनि खोट नै छैन ।

पटक–पटक आफैंलाई सोच्छु, किन हिन्दु विधिशास्त्रलाई आलोचनात्मक ढंगले अध्यापन गराइँदैन ? ठीक–बेठीक, न्याय–अन्याय, विवेक–अविवेक, आलोचनात्मक चेत कानुनको विद्यार्थीको आधारभूत गुण रे, मिसले पहिलो दिनमा विधिशास्त्रको कक्षामा त्यही पढाएकी थिइन् । कण्ठै पार्न नपर्ने हुनाले सधैँ सम्झन्छु । तर हिन्दु विधिशास्त्रको कोर्समा कुन जातको विवेकलाई विवेक भन्छ भन्ने च्याप्टर नै छैन । तर प्रत्येक उपशीर्षक, वाक्य, शब्द र तिनले दिने अर्थमा अव्यक्त ढंगले निश्चित जातको विवेकलाई पवित्र मानी पढाइन्छ, पढिन्छ । यस्तो पढाइ हाम्रो त्रिभुवन विश्वविद्यालयको परिकल्पना नहुँदैदेखि जारी रहेछ । यस्तो पढाइले आफूसँगै काम गर्ने न्यायाधीश साथीसँगै बसेर चिया पिउँदा पनि छुइन्छ । अनि छुवाछुत गर्नुलाई सानले आफनो धार्मिक, र सांकृतिक अधिकार ठानिन्छ ।

हिन्दु अधिराज्यमा धर्म नै कानुन, धर्म नै राजनीति, धर्म नै संस्कृति थियो । र, धर्माधिकारीहरू नै ‘धर्म–शासन’ का विधिविधान बनाउने, त्यसलाई लागू गर्ने र लागू गर्दै फाइदा पनि लुट्ने राज्यका अंग थिए । मुलुकी ऐनको नाममा चलेको राणा शासन २००७ सालमा अन्त्य भएपछि धर्माधिकारी पद पनि हराउँदै गयो । र, धर्म–शासनले प्रजातन्त्रको खोल ओढेपछि धर्माधिकारीको ठाउँ न्यायाधीश पदले लिँदै गयो । धर्मले मासिन्या र अछुत बनाएका महिलाहरूको आँखाबाट हेर्दा धर्माधिकारी र न्यायाधीशलाई छुटयाउनै मुस्किल होला । किनभने हिजोका धर्माधिकारीहरूको
विरासत बोकेका न्यायाधीशहरूले गर्ने दलित र दलित महिलाबारे फैसलालाई सुदूरपश्चिमका दलित महिलाको नजरले हेर्दा न्याय पाए भन्ने प्रमाण फेला पार्न गाह्रो छ । राम्री महिला देखेपछि तिनलाई भोग्नैपर्ने र विदेशमा समेत बेच्ने शासकहरूले बनाएका ऐन, कानुन र विधानले कसलाई न्याय दिए, कसलाई अन्याय त्यसको सिकार भएका स्त्रीहरूको आँखाबाट हेर्दा अहिले पनि तर्साउँछ ।

हुन त म पनि पहिले किताबमा मात्रै इतिहास खोज्थेँ । तर इतिहास त वर्तमान पनि रहेछ, विरासतको रूपमा कायम रहने । वर्तमानमा बाँचिरहेका प्रत्येक महिलाका शरीरमा कुँदिएका रहेछन् इतिहास र सत्य । ती दिदीको जिन्दगीमा मात्रै होइन, उनको नजिकै उभिएको हुर्केकी छोरीको जीवनमा पनि देखिन्छ इतिहास र सत्यको कुँदाइ । ज्ञान र शक्तिको राजनीतिक खेलबीचमा राज्यले दिएको बनमारा घारी, वनमारा फाँड्दाफाँड्दै उठेका ठेला, उनका हाडछाला मात्रै बाँकी रहेको ख्याउटे शरीर र अनगिन्ती चट्टानजस्ता प्रश्न बोकेका आँखा नै जिउँदो इतिहास रहेछ, सत्य रहेछ । उनी र उनीजस्तै महिलाका ‘अछुत’ गर्भ नै इतिहासको साक्षीप्रमाण रहेछ ।

१९१० को मुलुकी ऐनलाई नै संशोधन गरी बनाइएको नयाँ मुलुकी ऐन, २०२० र मुलुकी ऐनको संशोधन, २०७४ मा पनि छैन धर्माधिकारी प्रथा । पक्कै पनि धर्माधिकारी प्रथा इतिहास भइसकेको छ, तर धर्माधिकारीका नयाँ–नयाँ स्वरूप भने जिउँदै छन्, जन्मँदै छन् । जसले महिलाको गर्भलाई नै निरन्तर अछुत बनाउँछन्, जसले अछुतहरूलाई नै अपराधी बनाउँछन्, त्यस्ता ‘धर्माधिकारी’ ले चलाउने न्यायव्यवस्था कसरी हाम्रो हुन सक्छ ?

Source: https://www.kantipurdaily.com/koseli/2018/03/17/152126227455279750.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *