0

जसले आन्दोलनको ज्योति बाले

बाबासाहेब डा. भीमराव अम्बेडकरलाई भारतको संविधान निर्माताका रूपमा मात्रै चिन्ने धेरै छन्। खासमा उनी दलित र सीमान्तकृत समुदायका विचारक, अगुवा र अभियन्ता हुन्, जसको कुनै जोडा छैन।

भीमराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ मा मध्यप्रदेशको महु छावनी गाउँमा छालाको काम गर्ने ‘अछूत’ परिवारमा भएको थियो। उनको पैत्रिक गाउँ रत्नागिरि जिल्लाको अम्बावडे गाउँ हो। पिताको नाम रामजी राव र माताको नाम भीमाबाई थियो। उनी पाँच वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो।

महाराष्ट्रमा नामसँगै आफ्नो गाउँको नाममा ‘कर’ थपेर थर लेख्ने चलन छ। अम्बेडकर प्रारम्भिक शिक्षाका लागि सतराको एउटा सरकारी विद्यालयमा भर्ना हुँदा सुरुमा उनको नाम ‘भीमराव अम्बावाडेकर’ नै राखिएको थियो। तर उनका शिक्षकले ‘अम्बावडेकर’ बोल्नमा असहज लाग्ने हुनाले ‘अम्बेडकर’ उपनाम लेख्न सल्लाह दिए। त्यसपछि अम्बेडकर भनेर सबैले बोलाउन थाले।

अम्बेडकर सानैदेखि कुशाग्र बुद्धिका थिए। शिक्षा आर्जनमा उनको विशेष रुचि थियो। सन् १९०७ मा उनले म्याट्रिक उत्तीर्ण भए। सन् १९०८ मा १७ वर्षको उमेरमा उनको विवाह रमाबाईसँग भयो तर बिहेपछि पनि उनले पढाइलाई निरन्तरता दिइ नै रहे। बडौदाको महाराजबाट प्रतिमहिना छात्रवृत्तिका रूपमा प्राप्त हुने २५ रूपैयाँको सहयोगले उनी सन् १९१२ मा बीए परीक्षामा उत्कृष्ट अंक ल्याएर भए।

उच्च शिक्षा प्राप्त गर्न अम्बेडकर सन् १९१३ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा भर्ना भए। सुरुका केही महिना उनलाई बास व्यवस्थापनमा निकै समस्या भयो। त्यहाँको खानपानसँग पनि अभ्यस्त हुन सकेनन् उनी। पछि लिविङ्स्टोन हालमा बम्बईको एउटा पारसी विद्यार्थी नवल भथेनासँग बस्न थाले। दुवै विद्यार्थीबीच प्रगाढ मित्रता भयो। कोलम्बिया विश्वविद्यालयको विद्यार्थी जीवन उनका लागि ज्ञानरूपी प्रकाश साबित भयो। उनले साथीहरूसँग स्वतन्त्रतापूर्वक घुम्ने स्वतन्त्रता पाए। त्यहाँ भारतमा जस्तो सामाजिक प्रतिबन्ध थिएन। त्यहाँको जीवन पद्धति तथा गतिविधिमा अछूतपनको कुनै अभिशाप थिएन। त्यहाँ सबैसँग समानताको व्यवहार हुन्थ्यो। अम्बेडकरका लागि त्यो सब कुरा एउटा नयाँ संसारजस्तो लाग्यो। उनको मानसिक क्षितिजको दायरा विस्तार हुँदै गयो। कोलम्बिया विश्वविद्यालयको वातावरणले उनमा ज्ञान आर्जन, विश्व दृष्टिकोण निर्माणमा ऐतिहासिक योगदान ग¥यो।

कोलम्बिया विश्वविद्यालयबाट अम्बेडकरले एमए र पीएचडीको उपाधि प्राप्त गरे। अचानक छात्रवृत्ति बन्द भएका कारण उनी भारत फर्किन बाध्य भए। त्यसपछि बदौडाको सेनामा सैन्य सचिवको पदमा कार्य गर्न थाले। सैन्य सचिवका रूपमा काम गर्दा पनि उनले सामाजिक विभेद तथा अपमानबाट मुक्त पाएनन्। सवर्ण समाजबाट निरन्तर विभेद तथा अपमान भोग्नुपर्‍यो, जसले गर्दा सैन्य सचिवको काम छोड्न बाध्य भए।

अम्बेडकरले बम्बईको ‘सिडनेम कलेज अफ कमर्स एन्ड इकोनोमिक्स’ मा अध्यापन सुरु गरे। सन् १९२० मा कोल्हापुरको महाराजबाट छात्रवृत्ति पाएपछि उनी पढाइ पुरा गर्न लन्डन गए। सन् १९२३ मा उनले डाक्टर अफ साइन्स (डीएससी)को उपाधि प्राप्त गरे। त्यहाँ कानुनमा स्नातक तह उत्तीर्ण गरेर उनी भारत फर्किए। भारतमा बम्बई हाइकोर्टमा वकालत गर्न थाले। बम्बई विधान—परिषद्को सदस्यको पदमा मनोनीत भए।

अमेरिकामा अध्ययनका क्रममा नै उनमा असहायता र गैरबराबरीविरुद्ध विद्रोहको वीजारोपण भएको पाइन्छ। उनी आफ्नो जिम्मेवारी तथा दायित्वप्रति सदैव सचेत थिए। उनले सहरिया जीवनको चमक—दमक तथा चहलपहलबाट आफूलाई टाढा नै राखे। भुख पिपासा र ज्ञान पिपासामध्ये उनको प्राथमिकता ज्ञान पिपासाको तृप्ति नै थियो। उनले आफ्नो जीवनकालमा ४५ हजारभन्दा बढी किताब अध्ययन गरे।

सामाजिक तथा आर्थिक समानताको अनुपस्थितिमा राजनीतिक समानताको कुनै मूल्य हुँदैन। जबसम्म हामी देशमा सामाजिक तथा आर्थिक न्याय आधारित व्यवस्था निर्माण गर्दैनौं तबसम्म लोकतन्त्रको सम्पूर्ण कल्पना साकार गर्न सकिँदैन

डा. अम्बेडकरको अध्ययनको प्रमुख विषय अर्थशास्त्र थियो। यसबाहेक समाजशास्त्र, राजनीति विज्ञान, नैतिक दर्शन र मानव विज्ञानमा पनि गहिरो रुचि थियो। उनी दिनमा १८ घन्टासम्म निरन्तर अध्ययन गर्थे। उनले ‘एडमिनिस्ट्रेसन एन्ड फाइनान्स अफ दि इस्ट इन्डिया कम्पनी’ विषयमा थेसिस लेखेर सन् १९१५ मा एमए पास गरेका थिए। उनले ९ मे १९१६ मा डा. गोल्डन वाइजरको एन्थ्रोपोलोजी सेमीनारमा एउटा शोधपत्र प्रस्तुत गरे। त्यसको शीर्षक हो, ‘कास्ट्स इन इन्डिया : देअर मेकानिज्म, जेनेसिस एन्ड डेभलपमेन्ट (भारतमा जाति प्रथा : त्यसको कार्यप्रणाली, उत्पत्ति र विकास)।’

अम्बेडकरले कोलम्बिया विश्वविद्यालयमा पीएचडी उपाधिका लागि सन् १९१६ मा बुझाएको शोधपत्रको शीर्षक हो, ‘नेसनल डेबिडेन्ड अफ इन्डिया— ए हिस्टोरिक एन्ड एनालिटिकल स्टडी।’ विधिवत् उपाधि प्रदान गर्न शोधपत्र प्रकाशित गर्नुपर्ने थियो। तर आर्थिक अवस्था कमजोर भएकाले उनले विश्वविद्यालयलाई बुझाउनुपर्ने एक प्रति छपाउन सकेनन्। आठ वर्षपछि उक्त शोध प्रबन्ध किताबका रूपमा प्रकाशित भयो र त्यसपछि मात्रै उनले पीएचडी उपाधि प्राप्त गर्न सके।

जुन १९१६ मा डा. अम्बेडकर अमेरिका छोडेर अध्ययनका लागि लन्डन गए। अक्टोबर १९१६ मा अर्थशास्त्र अध्ययन गर्न ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’ मा भर्ना भए। लन्डनका प्रोफेसरहरू उनको गहिरो अध्ययनबाट अति प्रभावित भए र अर्थशास्त्रमा डीएससी उपाधिका लागि स्वीकृति पनि प्रदान गरे। लन्डनमा पनि उनले अमेरिकामा जस्तै आफ्नो अध्ययनमा जोड दिए।

छात्रवृत्तिको समयसीमा सकिएपछि उनी अध्ययन पूरा नगरी भारत फर्किनुपर्ने स्थिति आइलाग्यो। तर, लन्डन विश्वविद्यालयले अक्टोबर १९१७ देखि चार वर्षभित्रमा अध्ययन समापन गर्न अनुमति र सहयोग उपलब्ध गराइदियो। यसले गर्दा उनलाई अध्ययन पूरा गर्ने अवसर पाए। अम्बेडकरले जीवनमा बीए, एमए पीएचडी, डीएससी, डीलिट र बार–एट–ल को उपाधि हासिल गरे। यसरी उनले औपचारिक ज्ञानको शिखर नै निर्माण गरे।

डा. अम्बेडकरको व्यक्तित्व र कृतित्व निर्माणमा अमेरिका र लन्डनको शिक्षाले गहिरो छाप छोडेको देखिन्छ। चिन्तन र दर्शनको शिखरमा पुग्न उनलाई कोलम्बिया विश्वविद्यालय, लन्डन स्कुल अफ इकोनोमिक्स, ग्रेज इन आदिको ठूलो योगदान छ। उपरोक्त संस्थान वा विश्वविद्यालयमा पनि उनी एक सुयोग्य मेधावी छात्रका रूपमा आज पनि गनिन्छन्। कोलम्बिया विश्वविद्यालयले उनलाई ‘सिम्बल अफ नलेज’ (ज्ञानको प्रतीक) को रूपमा मान्यता प्रदान गरेको छ।

डा. अम्बेडकरले अध्ययनसँगै सामाजिक र राजनीतिक सुधारलाई सँगसँगै अगाडि बढाए। उनको प्रेरणाको स्रोत कबीर, फुले र बुद्ध थिए। उनको प्रसिद्ध रचना ‘शुद्र कौन थे ? ’ महात्मा फुलेप्रति समर्पित थियो। उनले अछूत, गरिब, किसान, महिला, मजदुरका सामाजिक, आर्थिक तथा राजनीतिक मुद्दालाई आजीवन उठाइरहे। हिन्दु समाजमा अछूत मानिने समुदाहरूको दीन—हीन अवस्था छँदै थियो, उनी आफैं पनि विभेदित तथा अपमानित जीवन बाँच्न बाध्य भएका थिए। त्यसैले पनि उनले जातीय अन्याय तथा शोषणविरुद्ध भारत नै हल्लाउने खालका विभिन्न आन्दोलनको नेतृत्व गरे। तिनमा सन् १९१७ देखि सन् १९५६ सम्म महाड सत्याग्रह (१९२७), मन्दिर प्रवेश आन्दोलन (१९२९–१९३०), लेबर पार्टीको स्थापना (१९३६), नागपुर सम्मेलन (१९४२), धर्म परिवर्तन आन्दोलन (१९५६) आदि महŒवपूर्ण छन्। बहिस्कृत भारत, मुकनायक र जनताजस्ता अखबारको सम्पादन नेतृत्व गरी उनले समाज सुधारको सांस्कृतिक कार्यलाई पनि अगाडि बढाए। उनका लेख रचनाको भण्डार नै प्रकाशित छ।

भारतको संविधान नै बनाए पनि डा. अम्बेडकरको सपना अधुरो छ। उनी वर्गहीन–वर्णहीन समाज स्थापना गर्न चाहन्थे। उनको मत थियो, केवल राजनीतिक लोकतन्त्रबाट सामाजिक तथा आर्थिक सवाललाई सम्बोधन गर्न सकिँदैन। सामाजिक तथा राजनीतिक गैरबराबरीको मुद्दालाई सचेत रूपमा सम्बोधन गर्नुपर्छ। उनले भारतको संविधानसभामा दिएको अन्तिम भाषण आज पनि सान्दर्भिक र व्यवहारतः प्रमाणित देखिन्छ। उनले सत्तरी वर्षअघि भनेका थिए, ‘सामाजिक तथा आर्थिक समानताको अनुपस्थितिमा राजनीतिक समानताको कुनै मूल्य हुँदैन। जबसम्म हामी देशमा सामाजिक तथा आर्थिक न्याय आधारित व्यवस्था निर्माण गर्दैनौं तबसम्म लोकतन्त्रको सम्पूर्ण कल्पना साकार गर्न सकिँदैन।’

नेपालको परिवेशमा पनि डा. अम्बेडकरका विचार सान्दर्भिक छन्। यहाँ पनि सामाजिक र आर्थिक गैरबराबरीको प्रत्यक्ष प्रभाव राजनीतिमा पनि देखिन्छ। नेपालका दलित, खासगरी मधेसी दलित, बहुजन, मुस्लिम, थारू, अति सीमान्तकृत आदिवासी जनजातिहरू राजनीतिक समानताको अधिकारबाट वञ्चित छन्। दलगत राजनीतिक प्रतिनिधित्वको सवाल चम्चा युगको रूपमा झन्झन् विकास भइरहेको छ। सीमान्त समुदायको स्वायत्तता र एकताबिनाको राजनीतिक प्रतिनिधित्व एउटा औजारको रूपमा प्रयोग भइरहेको छ। यसै सन्दर्भमा बाबासाहेब डा. अम्बेडकरको विचारलाई गहिरो अध्ययन गर्न आवश्यक छ। सामाजिक लोकतन्त्रसहितको राजनीतिक लोकतन्त्रको यात्रा तय गर्न उनको विचारको विकल्प छैन।

Source: http://annapurnapost.com/news/95658

Leave a Reply

Your email address will not be published. Required fields are marked *