0

जातीय वर्चस्वको नयाँ भाष्य

०७२ को भूकम्पपछि दलितसँगै बहिष्कृत समुदायलाई पुनर्निर्माण प्रक्रियामा कसरी समेटिन सकिन्छ भन्ने विषयमा छलफल आयोजना गरेका थियौँ । प्रमुख वक्ताका रूपमा आमन्त्रण गरेका थियौँ– योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्की ।

उनले विषयमा प्रवेश गर्नुको सट्टा उपदेश दिए, ‘मैले दलितको घरमा पसेर खाना खाएको छु । छुवाछुत र विभेदका घटना धेरै घटेका छन् । छुवाछुत दलितभित्रै व्याप्त छ । पहिले तपाईंहरू आफूभित्रको छुवाछुत अन्त्य गर्नुस् ।’

                        
संविधान निर्माणको अन्तिम चरणमा दलित आन्दोलनका अगुवा दलितका हक–अधिकार सुनियोजित ढंगले काटिएकाले एमालेका अध्यक्ष केपी ओलीसामु ज्ञापनपत्र बुझाउन गएका थिए । ओलीले पनि कार्कीकै भाषामा ‘आफूले दलितको घरमा खाना खाएको र दलितलाई विभेद नगरेको’ भन्दै विषयान्तर गरे । दलितसँग सम्बन्धित कार्यक्रममा धेरैजसो ‘उच्च’ जातका वक्ता उपदेश दिने वा विषय मोड्ने गर्छन् । उनीहरूले फर्मुलाजस्तै प्रायजसो तीनवटा सुझाब दिने गर्छन् ।

पहिलो– तपाईंहरू आफैँले आफूलाई दलित नभन्नुहोस् । दोस्रो– पहिले तपाईंहरू आफूभित्रकै छुवाछुत र विभेद हटाउनुहोस् । तेस्रो– मैले दलितको घरमा खाना खाएको छु, विभेद घटेको छ ।

यस्ता फर्मुलाजस्ता सुझाब सुन्दा प्रश्न उठ्छ– उनीहरू आखिर किन यस्तो सल्लाह दिन्छन् ? के छ त यस्तो सुझाबपछाडिको मनसाय ?

यस्ता सल्लाह–सुझाबभित्र तीन मनसाय लुकेको पाइन्छ । एक–दलितमाथि वर्ण–जातको वर्चस्व कायम राख्नु । दुई– दलित समुदायलाई पुनः विभेद गर्नु र तेस्रो– दलितका वास्तविक समस्यालाई ढाकछोप गर्नु ।

‘दलितले आफैँलाई दलित भन्नु हुँदैन’

माक्र्सवादी चिन्तक अन्तोनियो ग्राम्सीका अनुसार प्रभुत्वशाली वर्गले सहमतिका आधारमा सीमान्तकृत वा शासित वर्गमा आफ्नो दर्शन, विचार, मूल्य मान्यता, आनिबानी, संस्कृति, परम्परा, धर्म, भाषाको वर्चस्व कायम गर्छ । ‘आफूलाई दलित भन्नु हुँदैन’ भन्ने विचारले पनि दलित र गैरदलितको शक्ति–सम्बन्धलाई छोप्दै वर्ण–जात व्यवस्थाको वर्चस्व कायम राख्छ ।

तर, दलितले भने प्रभुत्वशाली जातबाट परिभाषित ‘अछुत’ शब्दलाई इन्कार गर्दै ‘दलित’ चयन गर्दै त्यस वर्चस्वको प्रतिवाद गरेका छन् । आहुतिका अनुसार ‘दलित’ शब्दले दलितभित्रका सबै जात र थरलाई एकीकृत गर्दै सचेत हुन, संगठित हुन र संघर्षशील हुन प्रेरित गर्छ ।

यसले स्रोत–साधन र संस्कृतिमा रहेको असमान र विभेदकारी सम्बन्धलाई उजागर गर्न र फेर्न प्रेरित गर्छ । यस्तो सम्बन्ध र पहिचान रहेसम्म ‘उच्च’ वर्ण र जातको वर्चस्वविरुद्ध संघर्ष गर्न उत्प्रेरित गरिरहन्छ । ‘दलित’ शब्द अस्तित्वमा रहेसम्म पुरानो शक्ति–सम्बन्धका पक्षधरका लागि खतराको घन्टी बजिरहन्छ ।

यसै क्रममा दलित शब्द हटाउने नियतका साथ दलितको अर्थ र उद्देश्यलाई तोडमरोड गरिएको पाइन्छ । जस्तै– दलित शब्दलाई अपमान गर्ने अर्थमा मात्रै बुझाउने गरिन्छ, त्यसमा लुकेको प्रतिरोधको मतलबलाई भने लुकाउने गरिन्छ । यस्तो परिभाषा अँगालेपछि दलितमाथि वर्चस्व कायम हुन्छ । यसले दलितलाई फुटाएको छ र फुटबाट वर्ण–जात व्यवस्था कमजोर हुँदैन ।

‘पहिले दलितभित्रकै छुवाछुत र विभेद उन्मूलन गर’

जातीय भेदभाव तथा छुवाछुत उन्मूलनको कुरा उठ्नासाथ आउने सुझाब हो : ‘पहिले दलितले आफूभित्रको विभेद र छुवाछुत अन्त्य गर, आफूहरू नै सराबरी होऊ, एकताबद्ध होऊ, अनि बल्ल हामीलाई भन ।’

त्यसो त ‘उच्च’ वर्ण र जात पनि बराबर र एकताबद्ध कहाँ छन् र ? एकै वर्णभित्र पनि एकले अर्कोलाई उँचनीचको व्यवहार गर्छन्, कतिपय अवस्थामा छुवाछुत र भेदभाव पनि । त्यसको उदाहरण हो, ब्राह्मणभित्र उपाध्याय र जैसीबीच विभेद ।

जैसीहरूलाई वेद पढ्ने, होम गराउने र यजमानलाई पूजापाठ गराउनबाट वञ्चित गरिएको छ । जैसीका चेलीबेटी उपाध्याय ब्राह्मणलाई चल्दैन । कतिपय उपाध्यायले जैसीबाहुनले छोएकोसमेत खाँदैनन् ।

विभेद र छुवाछुत सिंगो समाजमा रहेको अवस्थामा सबैले आआफ्नो समुदायभित्रको विभाजन र छुवाछुतविरूद्ध बोल्नुपर्ने होइन र ? समग्र हिन्दू वर्ण र जात व्यवस्थाको विरुद्धमा धाबा बोल्नुपर्ने होइन र ?

सामाजिक परिवर्तन सबै जात र समूहको परिवर्तनबाट मात्र सम्भव हुन्छ । दलितभित्रको विभेदबारे मात्रै खोइरो खन्ने प्रवृत्तिले दलित समुदाय डबल सिकारका भागी हुन्छन् र समाज परिवर्तन नै अवरुद्ध हुन्छ ।

‘दलितको घरभित्र पसेर खाएको छु, विभेद घटेको छ’

प्रधानमन्त्री ओलीदेखि अन्य उच्च जातका वक्ताले भन्ने भनाइ हो, ‘दलितको घरभित्र पसेर खाएको छु, विभेद घटेको छ ।’ पहिलो कुरा, उच्च जातले दलितको घरभित्र पसेर खाना खाँदैमा दलित समुदायमाथि जारी विभेद र छुवाछुत घटेको भन्न मिल्दैन ।

उदाहरणका लागि, जनयुद्धका वेला प्रचण्ड र उनका लडाकुले दलितका घरमा बास बस्ने र खाना खाने गरे । त्यस्तै, दलित र गैरदलितको पहलमा कैयौँ गाउँगाउँमा सहभोज कार्यक्रम पनि गरिए । तर, विभेद र छुवाछुत हटेको देखिएन, हटेका भनी प्रचारित ठाउँमा पनि पुनस्र्थापित भएको देखिन्छ ।

किनभने खास विभेद दलित समुदायमा होइन, गैरदलितका घर प्रवेशमा र भातपानीमा छ । दलितहरूलाई उच्च जात भनाउँदाहरूको घरमा पस्न, भान्सामा सँगै बसेर भातपानी खान, बिहेबारी गर्नमा विभेद छ ।

आफूले विभेद नगरेको दाबी गर्नेहरूलाई सोध्नुपर्छ, उनीहरूले कतिजना दलितलाई आफ्नै घरको भान्सामा लगेर खाना खुवाए, भातपानीमा छुवाछुत गरेनन् र बिहेबारीको पर्खाल हटाए ?

मुख्य प्रश्न कुनै व्यक्तिले विभेद र छुवाछुत ग-यो कि गरेन भन्ने होइन, जातको आधारमा गरिने विभेद गर्ने सामाजिक तथा सांस्कृतिक शक्ति–सम्बन्ध फेर्न सकियो कि सकिएन भन्ने हो । यस्तो शक्ति–सम्बन्ध नफेरिएसम्म दलितमाथि हुने विभेद घट्यो भन्नु वास्तविकतालाई छोप्नु हो ।

जातीय भेदभाद तथा छुवाछुत बिस्तारै घट्ने भन्दै यसका लागि समय लाग्छ भन्दै कुर्ने समय छैन । यस्तो सुस्त मानसिकताबाट पीडितले न्याय नपाउन सक्छन् । र, दलितले भोगेका मुख्य समस्या सरोकारवालाले सम्बोधन नगर्ने सम्भावना प्रबल हुन्छ ।

यस्तो अमानवीय कलंक हटाउन ढिलो भइसक्यो, अब हतार गर्नुपर्ने हुन्छ । यही गतिमा जाने हो भने जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि हजारौँ वर्ष लाग्न सक्छ ।

(विक दलित रिडरका सहकर्मी एवं अध्येता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *