3

जात बदलेर थरमा खोजिने आत्मसम्मान !

-शुभाष नेपाली

-शुभाष नेपाली

“अहिले नै दलितहरू हिन्दू वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रले सिर्जना गरेको जालमा फँस्दै जाने हो भने गैरदलितले निर्माण गरिदिएका मिथक र भाष्य हामीले नयाँ पुस्ताका लागि छाडेर जानु पर्ने छ ।”

आफ्नै सन्तानले उसका साथीसँग तपाईंंलाई परिचित गराउन संकोच मानेको थाहा भए तपाईंलाई कस्तो अनुभूति होला ? त्यसमाथि आफ्ना छोराछोरीले विद्यालयमा अपमानित हुनबाट बच्न परिचय गराउन इन्कार गर्दा दलित अभिभावकको कस्तो मानसिक दशा बन्ला ? यो धेरैको लागि काल्पनिक समस्याजस्तो लाग्न सक्छ । तर, नेपालका दलित समुदाय भने यस्तै समस्या भोग्न बाध्य छन् ।

कक्षा आठमा पढ्दै गरेकी १३ वर्षकी मेरी भाञ्जी आफ्ना अभिभावक उनको विद्यालयमा नआउन् भन्ने अपेक्षा गर्छिन् । धेरैपटक अभिभावक भेला र अन्य समारोहमा मुखै फोरेर नआउन आग्रह गरेको म आफैले पनि देखेको–सुनेको छु । यसो हुनुको मुख्य कारण होः उनको बुबाको नागरिकतामा जात ‘सार्की’ लेखिएको हुनु । नेपालमा ‘सार्की’हरू छाला–जुत्ताको काम गर्ने जातको रूपमा परिचित छन् । विद्यालयमा आफ्नो जातको सट्टा ‘वस्याल’ थर लेखाएकी भाञ्जीलाई ‘जुत्ता सिउने जातकी छोरी’को रूपमा परिचित र अपमानित हुन नपरोस् भन्ने चिन्ता हो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

वस्याल थर ब्राह्मण जातको थरसँग मिल्ने हुनाले भाञ्जीमा अपमानित हुनु पर्दैन भन्ने मानसिक छाप परेको छ । मेरी भाञ्जीको जस्तो मानसिकता धेरैमा पाइन्छ, तर यस्तो मानसिकता सामाजिक न्यायको संघर्षसँग बाझिन्छ । मेरी दिदी विद्यार्थी–जीवनदेखि नै दलित अधिकारका लागि संघर्षरत हुनुहुन्छ । दलित अधिकार सामाजिक न्याय र परिवर्तनको लडाइँसँग गाँसिएको छ । यसरी गाँसिए पनि भाञ्जीलाई आफ्नी आमा सामाजिक न्याय र परिवर्तनको लागि संघर्षरत व्यक्ति भनेर चिनाउन लज्जाबोध हुन्छ ।

सात दशक लामो सामाजिक न्याय र आत्मसम्मानको आन्दोलनमा होमिएका नेतृत्वकै सन्तानमा पनि दलित पहिचान देखाउन प¥यो भने लाज मान्छन् । उनीहरूले समेत आफूलाई ‘दलित समुदाय’को भनेर स्वीकार्न हिच्किाएको वा दलित पहिचानलाई नकारेको अवस्था छ । यस्तो अवस्थामा गैर–दलित समुदायबाट कसरी सामाजिक सम्मानको आशा गर्न सकिन्छ ? यो गम्भीर र सोचनीय विषय हो ।

मरे/मारेको जनावरको छालाबाट मान्छेको शरीर ढाक्ने वस्त्र, जुुत्ता र अन्य औजारको उत्पादन गर्ने आदि–जात दलितका पुर्खा थिए । नेपालको सन्दर्भमा छालाको पेसा–व्यवसाय गर्नेलाई सार्की÷चमारको रूपमा चिनिन्छ । उनीहरूले काँचो छालालाई प्रशोधन गर्न औजारको निर्माण गर्ने, सही रुखबिरुवा र माटोढुंगाको पहिचान गर्ने तथा रुखबिरुवाका पात र बोक्रालाई उपयुक्त मात्रामा माटोढुंगा मा मिश्रण गर्ने विधिको आविष्कार गरेका थिए (इलैया सन् २००९) । यसप्रकारका विधिविधानलाई उपयोगी बनाउनेलाई वैज्ञानिक भनिन्छ (नेपाल प्रज्ञा–प्रतिष्ठान २०६७) ।

यसरी विज्ञान र कलासँग जोडिएको छ छालाजुत्ताको काम । यस्तो काममा जोडिएका छन् सार्की समुदायका पुर्खा । यस्तो वैज्ञानिक र कलात्मक पेसा गर्ने आफ्ना बाजे–बराजुको जीवनलाई सम्मान गर्नुपर्छ । यस्तो सोच भाञ्जी र युवा पुस्तामा आउन नसक्नुका पछाडि धेरै कारण हुन सक्छन् । तर, प्रमुख कारण भने काम वा पेसासँग जोडिएको शुद्ध÷अशुद्ध, उँच÷नीच, पवित्र÷अपवित्रजस्तोे अवधारणासहितकोे हिन्दू वर्णव्यवस्था हो । यो वर्णव्यवस्थामा छालालाई अशुद्ध र अपवित्र मानियो, छाला–जुत्ताको पेसा गरी आफ्नो जीविकोपार्जन गर्ने जातलाई नीच (इलैया सन् २००९) । र, ईसा–पूर्व २०० मा मनुले अशुद्ध, नीच र अपवित्र ठह¥याइएका जातलाई अछूत बनाए । त्यही व्यवस्थालाई नेपालका शासक वर्गले पनि अपनायो (आहुति २०६७) ।

नेपालमा पनि विज्ञान र कलासँग जोडिएका पेसा–व्यवसाय र त्यस्तो पेसा–व्यवसाय गर्ने जातलाई कानुनी रूपमा नीच, अपवित्र र अशुद्ध ठह¥याइयो । १९१० सालको मुलुकी ऐनमा विज्ञान र कलासँग जोडिएका पेसा–व्यवसाय गर्ने कामी, दमाई, र सार्कीजस्ता जातलाई पानी नचल्ने र छोईछिटो हाल्नुपर्ने ‘अछूत’ जातमा वर्गीकरण गरियो (होफर सन् २०१२) । उनीहरूका कामलाई सानो दर्जाको काम भनेर समाजमा चिनाइयो । यसकै आधारमा अपमानित पेसाको रूपमा स्थापित गरियो ।

कानुनको सहारामा यस्ता पेसा र व्यवसायीलाई समाजको तल्लो तहमा राख्दै राज्यले नै जातीय विभेद–छुवाछूतलाई संस्थागत गर्दै गयो । यो क्रम २०४६ सालसम्मै रह्यो भने विभिन्न कोणबाट त्यसको प्रतिरोध पनि हुँदै आयो । २०४६ सालपछि दलित समुदायमा चेतना वृद्धि भएकै कारण जातको बदलामा कतिपय दलितको थर माथिल्ला जातसँग मिल्ने हुनाले थरगोत्र लेख्न थाले (आहुति २०६७) । कथित माथिल्लो जातसँग थर नमिल्ने दलित समुदायका जातले पनि थरगोत्र लेख्दा सजिलै दलितको रूपमा परिचित र अपमानित हुन नपर्ने कारणले गर्दा थरगोत्र लेख्ने क्रमले तीव्रता पाएको छ ।

जात र थरमा अवश्य पनि तात्विक भिन्नता छ । हिन्दु वर्णव्यवस्थामा जातले पेसा र वैवाहिक घेरालार्ई जनाउँछ भने थरले वंशलाई । वंशीय शुद्धताका लागि वैवाहिक–सम्बन्ध एउटै जातमा हुने परम्पराको थालनी आजभन्दा ३५०० वर्ष पहिल्यै भएको हो (क्लास सन् २००४) । कतिपय विद्वानले यसैले नै जातव्यवस्थाको शुरुवात गर्न र कायम राख्नमा भूमिका खेलेको ठह¥याएका छन् । यस भनाइका आधारमा हेर्दा एउटा जातको थर अन्य जातको थरसँग मिल्ने सम्भावना न्यून देखिन्छ । त्यसकारण धेरैजसो दलित जातको आफ्नै पृथक् थर छ । नेपालमा दलित जातको थर ‘माथिल्लो जात’सँग मिल्नुको प्रमुख कारण भने उनीहरूको जात विभिन्न कारणले घटुवामा पारिनुलाई अनुमान गरिएको छ । साथै, आफु बसेको स्थानको नामको आधारमा थर लेखिनुलाई पनि मानिएको छ (आहुति २०६७) । जातको बदलामा अनेक कारणवश थरगोत्र लेख्न थालिएको भएता पनि अपमानबाट छुटकाराको खोजी प्रमुख कारण हो । यस अर्थमा दलित स्वयंले आफ्नो जातलाई अपमानित जात मानेको ठहरिन्छ । दलित समुदायका अनेक जातलाई तल्लो जात मान्ने कथित माथिल्लो जातकै भनाइमा सही थापेको नै अर्थ लाग्छ ।

यो वास्तवमा गैर–दलित वा कथित माथिल्लो जातको व्यक्तिको मानसिक सोच तथा व्यवहार दलितको मानसिकताको प्रतिविम्ब पनि हो । यस सम्बन्धमा भारतीय राजनीतिक मनोविज्ञ आशिष नन्दीले ‘अपमान’बारे पोखेको मत विचारणीय छ । उनको विचारमा अपमान भनेको मानवीय सम्बन्धको त्यस्तो रूप हो, जसको दोहोरो विनिमय हुन्छ । अपमानित हुनेहरूले अपमान गर्नेको अपमानलाई नस्वीकारेमा अपमान भएको मानिँदैन (नन्दी सन् २००९) । यस अर्थमा दलित अस्मितालाई दलित स्वयंले आत्मसम्मानको पहिचानको रूपमा नलिँदासम्म गैरदलितले दलितलाई सम्मानित ढंगले लिँदैन । दलित शब्दको विकल्प खोज्ने प्रयास र जातको बदलामा थर लेखेर दलित मुक्ति खोज्ने प्रयास मूलतः वर्णव्यवस्थाको जरो नउखेली उल्टै त्यसलाई टिकाइरहने बाटो हो । र, कालान्तरमा गैरदलित मतको प्रभुत्वलाई टेवा पु¥याउनु हो । यसतर्फ दलित आन्दोलनले हालसम्म प्रतिफल आउने गरी वैचारिक विमर्श गरेको छैन । यसले दलितको आत्मसम्मानमा मात्रै असर पारेको छ कि गैरदलितको मतलाई टेवा पु¥याइरहेको छ त ? केही प्रतिफलका उदाहरण हेरौं ।

संख्याको खेल
दलितले आफ्नो जात लुकाएर कथित माथिल्लो जातका थरसँग मिल्नेगरी परिवर्तन गर्नाले दलितको कुल जनसंख्या कम र गैरदलितको जनसंख्या सापेक्षिक रूपमा बढिरहेको छ । यसले दलितहरूलाई ‘सकारात्मक विभेद’का लागि आवश्यक संख्याको खेलमा कमजोर बनाइरहेको छ । हामीले दलितको कुल जनसंख्या २० प्रतिशत दाबी गर्दै आएका छौं । तर, हालसम्मका जनगणनामा करिब त्यो अनुमान सात प्रतिशतले कम हुँदै आएको छ । पछिल्ला तीनवटा जनगणनाकै उदाहरण लिऔं । सन् १९९१, सन् २००१ र सन् २०११ को जनगणनामा क्रमशः १६, १३ र १४ प्रतिशतको हाराहारीमा दलितको जनसंख्या घट्दै छ । यसरी दलितको जनसंख्या घट्नुले माथिको तथ्यलाई पुष्टि गर्छ । विकास प्रक्रियामा जनसंख्या वृद्धि दर घट्नु स्वाभाविकै होला, तर समग्र देशको जनसंख्या वृद्धि हुँदा गरिबीको पिँंधमा परेको समुदायको जनसंख्या घट्नुमा सामाजिक चेतनामा आएको परिवर्तनलाई मात्र कारणको रूपमा लिन सकिँंदैन । तुलनात्मक रूपमा अरू समुदायको भन्दा जन्मदर बढी रहेको दलित समुदायको जनसंख्या दिनानुदिन घट्नु र जातीय छुवाछूत–भेदभाव र बहिष्करण कायमै रहनुको राजनीति के हो ? यसको रहस्य बुझ्न खासै कठिन छैन । दलित तथा सीमान्तीकृत समुदायलाई झन् किनारीकृत गर्ने राज्यको उद्देश्यलाई हामी आफैले पनि सहज बनाइरहेका त छैनौ ?

सबाल्टर्न विद्वानको बेवास्ता
दलित इतिहास ज्ञानको खोज, विधिविधानको आविष्कार र कलासंस्कृतिको शुरुवातसँग जोडिएको छ, यो अत्यन्तै गौरवको कुरा हो । यस गौरवपूर्ण इतिहासलाई स्थापित गराउनमा उनीहरूले प्रयोग गर्दै आएको जातको प्रयोग नै बलियो माध्यम हो । जातले विज्ञानसँग उनीहरू जोडिएका पेसा, व्यवसाय र इतिहासलाई जनाउँदछ । तर, आत्मसम्मान हासिल गर्न सजिलो उपायको रूपमा जातको बदलामा थर लेख्ने प्रचलनले वैकल्पिक भाष्य निर्माण गर्ने पहललाई कमजोर बनाउने छ । थरप्रतिको आकर्षणले दलितको पेसा र पेसासँग जोडिएको जातलाई अपवित्र र अशुद्ध मान्ने सवर्ण शासक वर्गको भाष्यलाई नै बलियो बनाउन मद्दत गर्ने छ । हामीलाई सत्तामा हालिमुहाली हुने सवर्णहरूकै भाष्यलाई स्वीकार्ने दिशामा उन्मुख गराएको छ । र, जबसम्म हामी यस्तो भाष्यलाई स्वीकार्छौं, त्यसले हाम्रो इतिहास लेखिने र हाम्रो भाष्य निर्माण हुने वातावरण सिर्जना गर्न सक्दैन ।

दलितहरू ‘सबाल्टर्न साइन्टिष्ट’ हुन् भन्ने तथ्य र तर्कलाई कान्चा इलैयाले आफ्नो ‘पोष्ट–हिन्दु इण्डिया’ पुस्तकमा जोडतोडका साथ उठाएका छन् । उनले तथ्य र तर्कले यस भाष्यलाई प्रमाणित गरेका छन् । नेपालमा मनुस्मृतिलाई पछ्याउने क्रममा जयस्थिति मल्लले बनाएको १४३६ सालको ‘मानवन्यायशास्त्र’सँगै ‘सुधार’ र जंगबहादुर महाराजले बनाएको १९१० सालको मुलुकी ऐनले विज्ञान र कलासँग सम्बन्धित पेसालाई दलित समुदायका लागि तोक्नुले पनि उनीहरू नेपालका वास्तविक वैज्ञानिक र कला साधक थिए भन्ने कुरा प्रमाणित गर्छ । हाल आएर केही दलितहरू विज्ञान र कलाको गौरवपूर्ण इतिहास बोकेको पेसा जनाउने जातलाई बिसर्जन गर्न तम्तयार छन् । यसले गर्दा उनीहरूमा गौरवपूर्ण इतिहास र सिर्जनाको स्वामित्व लिने नैतिक आधार कमजोर हुँदै गएको छ । अहिले नै दलितहरू हिन्दू वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रले सिर्जना गरेको जालमा फँस्दै जाने हो भने गैरदलितले निर्माण गरिदिएका मिथक र भाष्य हामीले नयाँ पुस्ताका लागि छाडेर जानु पर्ने छ ।

विभेदकारी वर्णव्यवस्थाको हिमायती
जातलाई थरमा परिवर्तन गर्दा तत्काल दलितहरूलाई केही राहत पुगेझैं देखिए पनि दीर्घकालीन रूपमा अन्यायपूर्ण र विभेदकारी वर्णव्यवस्थाको हिमायती बनाउने छ । कथित माथिल्लो जातमा ‘विलीन’ हुने प्रयास सबै दलितमा लागू नहुन सक्छ । उदाहरणका लागि, मधेशका दलितहरूका अधिकांश थर पहाडी दलितसँग मात्रै होइन, तराईकै गैरदलितसँग पनि मिल्दैन । पहाडमा पनि केही सार्की, कामी र दमाईबाहेकका दलितको थर गैरदलितसँग कम मिल्छ । अर्कोतर्फ नेपालको सामाजिक र भौगोलिक विविधताअनुसार भेदभावका आयाम समेत बेग्लाबेग्लै छन् ।

फ्रान्सेली दार्शनिक तथा ‘डिकन्स्ट्रक्सन’ सिद्घान्तका व्याख्याता ज्याक डेरिडाको ‘अण्डर इरेजर’को अवधारणाअनुसार एक वस्तु वा अवधारणाको अर्थ अर्कोसँग जोडिन्छ (डेरिडा सन् १९९२) । त्यसैले एकपटक अस्तित्वमा आइसकेको वस्तु वा अवधारणालाई पूर्ण नामेट गर्नु असम्भवजस्तै छ । वर्णव्यवस्था र यसको आधारमा सुरु भएको उँच–नीच र समाजको तहगत वर्गीकरणको धारणालाई स्वीकारेर दलित मुक्तिको सपना देख्नु असम्भवजस्तै हो । किनभने जातव्यवस्थाभित्र कथित माथिल्लो जातको ओहोदा पाएपछि पुनः उनीहरूले जातव्यवस्थाका नियमको पालना गर्ने ‘नैतिक दायित्व’ पूरा गर्छन् । यसको अर्थ थर वा जात लुकाएर गैरदलितकै थर अंगीकार गरेका दलित पनि आफू गैरदलित भएको प्रमाणित गर्न पुनः दलितमाथि जातीय विभेद र छुवाछूत गर्न बाध्य हुन्छन्÷गर्छन् । यस्तो अवस्थामा उनीहरू आफैले खोजेको सामाजिक न्यायको बाटोलाई निकृष्ट ढंगले कुल्चन्छन् । र, निरन्तर गैरदलित प्रमाणित गर्नुपर्ने मनोवैज्ञानिक डरमा फस्छन् ।

कुनै समय सँगसँगै काम गरेको एक जना दलित समुदायका सहकर्मीमा आफ्नो जात लुकाएर आत्मसम्मान हासिल गर्न सकिन्छ भन्ने विश्वास थियो । उनले आफ्नो जातको बदलामा थर लेखेका थिए । यही कारण मसँगको सहकार्य उनका लागि निकै असहज हुन पुग्यो । दलित मुद्दाका विभिन्न सवालमा बहस गर्दा उनी गैरदलित सहकर्मीको पक्षमा निरन्तर बोल्नुपर्ने बाध्यताले थिचिइरहेका छन् । र, उनले आफ्नो पहिचान खुल्ने डरले आफूलाई दलित सहकर्मी र समुदायबाट सधै टाढा राख्ने गर्छन् । उनी आफू कथित उच्च जातको भएको प्रमाणित गर्न दलितमाथि अपमान र जातीय विभेद गर्न समेत बाध्य भएका छन् । यस्ता प्रवृत्ति बोकेका व्यक्ति नेपालको मिडिया, सामाजिक क्षेत्र, राजनीति र कर्मचारीतन्त्रमा प्रशस्तै छन् ।

अन्यायप्रति उदासीनता
यथार्थको सामना र संघर्ष गर्नबाट भागिरहेका दलित समुदायका दलितहरूले ‘इडिपस द किङ’ नामक एथेनियन वियोगान्त नाटकका राजाको भन्दा कम पीडादायी भाग्य रचेका छैनन् । ‘इडिपस द किङ’ नाटकका मुख्य पात्र ‘इडिपस’ले आफू के कुरादेखि भागिरहेको छु भन्ने चाल नपाउँदा अनेक दुःख भोगे । त्यति मात्रै होइन, उनी जुन कुरादेखि भागिरहेका थिए, भाग्ने क्रममै भोगिसकेको पनि उनले पत्तै पाएनन् । जब उनले सत्य कुरा थाहा पाए त्यत्तिबेला उनले त्यो सत्यको सामना गर्न सक्ने साहस जुटाउन सकेनन् । सत्यबाट टाढा रहन उनले दुवै आँखा फुटाए । अन्ततः उनी न्याय र अन्यायप्रति नै उदासीन बने ।

अहिले नेपाली दलित आन्दोलन जातको विकल्पमा थरको प्रयोग गरेर आत्मसम्मान खोज्ने प्रवृतिप्रति प्रायः मौन छ । दलित राजनीतिज्ञ र प्राज्ञिक व्यक्तित्वहरूले समेत यो विषयलाई आम चासोको विषयका रूपमा उठाउन सकिरहेका छैनन् । हामीहरूमध्ये धेरैजसो दलित पनि हिन्दू सौन्दर्यशास्त्रका मूल्यमान्यताबाट प्रभावित छौँ र त्यसकै सेरोफेरोमा हाम्रा मूल्यमान्यता घुमिरहेका छन् । हिन्दू सौन्दर्यशास्त्र वर्णव्यवस्थाको एउटा मौलिक विशेषता हो, जुन शास्त्रलाई स्वीकार्नु भनेको वर्णव्यवस्थाको आधारमा सिर्जित जातीय संरचनालाई स्वीकार्नु नै हो ।

‘इडिपस’को जस्तै परिस्थिति आफूले पनि भोगेको कुुरा मेरा एक मित्रले मलाई बारम्बार बताइरहन्छन् । जातको बदलामा हिन्दू उच्च जातसँग मिल्ने थर अपनाएका ती दलित मित्रका बालबच्चा उनले ग्रहण गरेको थरसँगै हुर्किए । उनीहरूलाई आफूहरू दलित समुदायको भन्ने हेक्कै भएन । एक दिन उनीहरू पुख्र्यौली थलोमा सपरिवार पुगे । त्यहाँ उनीहरूले जातीय विभेदको सामना गर्नुप¥यो । त्यतिबेला गैरदलित थर ग्रहण गरेका मेरा मित्रसँग जातीय विभेदको सामना गर्ने नैतिक ताकत भएन । उनीसामु आफू र आफ्ना सन्तानमाथिको विभेदलाई चुपचाप सहनुको कुनै विकल्प भएन ।

असफल प्रयोग
भारतमा गान्धीले जातप्रथाको जरो पहिचान नगरीकनै जात परिवर्तन गरेर वा लुकाएर दलितको स्थिति माथि उठाउने असफल रणनीति प्रयोग गरेकै हुन् । ‘महात्मा’ भनिने गान्धीले दलितलाई ‘हरिजन’ उपाधि थरको रूपमा प्रयोग गर्न लगाए (राय सन् २०१७) । तर, त्यसको आधा शताब्दीपछि पनि भारतीय दलितहरूको अवस्थामा खास परिवर्तन आउन सकेन । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिएको भारतकै उत्तर प्रदेशका युना वा सहनपुरजस्ता दलित बाहुल्य क्षेत्रमा दिनहुँ भइरहेका जातीय हिंसा र अपमानको शृंखलाले संसारका दलितको वास्तविक अवस्थालाई चित्रण गर्छ ।

यिनै तथ्य र तर्कका आधारमा नेपालमा पनि जातको बदलामा थर लेखेर आत्मसम्मान खोज्ने रणनीतिलाई असफल नै मान्न सकिन्छ । दलितले जातको बदलामा थर लेख्ने बढ्दो प्रचलनले गर्दा ‘यहाँ कुन जातमा पर्नुहुन्छ ?’ भनेर सोधखोज गर्ने चलन पनि बढेको छ । दलितभित्रको जातको रूपमा पहिचान भएमा जात लुकाउन खोजेको, झुटो बोलेको, ब्राह्मण बन्न खोजेकोजस्ता आरोप लगाउने गरिन्छ । र, उनीहरूलाई दलित जातको भएकोमा र जात ढाँटेकोमा दोहोरो अपमान समेत गरिन्छ । समग्रमा जातको बदलामा थर लेख्ने प्रचलनले दलितप्रति गरिने भेदभाव र अपमानलाई न्यूनीकरण गर्दै र दलितप्रतिको सम्मानलाई जगाउँदै जाने हाम्रो प्रमुुख उद्देश्यमा कुुनै पनि योगदान गरेको छैन ।

उज्यालो बाटो
अहिले नेपाली दलित आन्दोलन जातको विकल्पमा थरको प्रयोग गरेर आत्मसम्मान खोज्ने प्रवृतिप्रति प्रायः मौन छ । दलित राजनीतिज्ञ र प्राज्ञिक व्यक्तित्वहरूले समेत यो विषयलाई आम चासोको विषयका रूपमा उठाउन सकिरहेका छैनन् । हामीहरूमध्ये धेरैजसो दलित पनि हिन्दू सौन्दर्यशास्त्रका मूल्यमान्यताबाट प्रभावित छौँ र त्यसकै सेरोफेरोमा हाम्रा मूल्यमान्यता घुमिरहेका छन् । हिन्दू सौन्दर्यशास्त्र वर्णव्यवस्थाको एउटा मौलिक विशेषता हो, जुन शास्त्रलाई स्वीकार्नु भनेको वर्णव्यवस्थाको आधारमा सिर्जित जातीय संरचनालाई स्वीकार्नु नै हो । हिन्दू सौन्दर्यशास्त्रको प्रभुत्वलाई अन्तोनियो ग्राम्सीको ‘वर्चस्व’को अवधारणासँग गाँसेर हेर्न सकिन्छ । यस सौन्दर्यशास्त्र, यसको राजनीतिक र सांस्कृतिक वर्चस्वलाई कायम राख्ने विश्व दृष्टिकोण र राजनीतिक व्यवस्थाले दलितलाई सम्मानपूर्ण सामाजिक तथा राजनीतिक स्थान कहिल्यै गराउँदैनन् ।

स्वीस भाषाविद् फर्डिनान्ड डी सौस्सुरका अनुसार ‘उच्चको अर्थ नीचको सापेक्षता’मा मापन गरिनुपर्छ (डी सौस्सुर सन् १९९८) । उनको सैद्धान्तिक अवधारणालाई नेपालको सन्दर्भमा हेर्दा ब्राह्मणको उच्चता वा श्रेष्ठता दलितलाई नीच देखाउन सक्नुमा रहेको छ । वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रअन्तर्गत सिर्जित ब्राह्मणको श्रेष्ठता दलित समुदायमा लोकप्रिय हुनु भनेको दलितको नीच छविको प्रतिरोध गर्नुको साटो त्यसैलाई स्वीकार्नु हो । अहिलेको मुख्य प्रश्न बदलिँदो परिवेशमा हिन्दू सौन्दर्यशास्त्रद्वारा सिर्जित राज्यव्यवस्थालाई राजनीतिक सत्ता र शक्तिसम्बन्धको आधारमा चुनौती दिनेगरी दलित आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा विकास गर्ने कि हिन्दू ‘राज्यसत्ता’ले लादेको ‘सिनो खाने जात’को छविलाई स्वीकारेर आफ्ना सन्तान–दरसन्तानलाई अपमानको पगरी भिराउँदै बस्ने भन्ने हो ।

सन्दर्भ सामग्री

आहुति । २०६७ । नेपालमा वर्णव्यवस्था र वर्ग–संङ्घर्ष । राजेन्द्र महर्जन, सम्पादक । ललितपुरः समता फाउण्डेसन ।

नेपाल प्रज्ञा–प्रतिष्ठान । २०६७ । नेपाली बृहत् शब्दकोश (संशोधित र परिवर्धित संस्करण) । काठमाडौं ।

Derrida, Jacques. 1992. Structure, Sign, and Play in the Discourse of the Human Sciences. in Hazard Adams (ed.) Critical Theory Since Plato. New York: Harcourt Brace Jovanovich College Publishers.

de Saussure, Ferdinand. 1998. Course in General Linguistics. in Hazard Adams (ed.) Critical Theory Since Plato. New York: Harcourt Brace Jovanovich College Publishers.

Hofer, Andras. 2004. The Caste Hierarchy and the State in Nepal: A Study of the Muluki Ain of 1854. Kathmandu: Himal Books.
Ilaiah, Kancha. 2009. Post-Hindu India: A Discourse in Dalit Bahujan, Socio-Spiritual and Scientific Revolution. New Delhi: SAGE Publications India Pvt Ltd.

Klass, Morton. 2004. Caste: the Emergence of the South Asian Social System. New Delhi: Manohar.

Nandy, Ashis. 2009. Humiliation: Politics and the Cultural Psychology of the Limits of Human Degradation. in Gopal Guru (ed.) Humiliation: Claims and Context. Pp 41-57. Delhi: Oxford University Press.

Roy, Arundhoti. 2017. The Doctor and the Saint: Caste, Race, and Annihilation of Caste, the Debate Between B.R. Ambedkar and M.K. Gandhi. Chicago: Haymarket Books.

3 Comments

  1. लेख तथ्यमूलक, खोजपूर्ण र तर्कपूर्ण छ। तर दलितहरूले थर लेखेर दलित मुक्तिको सवालमा चुकिरहेका छन्, गल्ती गरिरहेका छन् भन्ने लेखकको आसय हो भने फेरि पनि म त्यो चाँही होइन भन्छु। किनकि हामीले कि त हिन्दू वर्ण व्यवस्थाले थोपरेको जातीय नामलाई नै अस्वीकार गर्नु पर्यो। कि त जातीय नाम ‘सार्की, दमाई, कामी, चमार, डोम, वादी, गाइने’ लाई स्वीकार गर्ने हो भने त्यो जातभित्र पनि थर हुन्छ भन्ने कुरा बुझाउन सक्नु पर्यो । थर लेखेकै कारण जातीय पहिचान मेटाउने काम भयो र आन्दोलन, अभियानमा घाटा लाग्छ भन्ने होइन। जस्तैः थर लेखेर पनि आहुति मुक्ति आन्दोलनमा हुनुहुन्छ। अनि म पनि छु । थर लेखेर तपाईले भने जस्तै तपाईको साथिको जस्तो नियती र भान्जीले जस्तो व्यवहार गर्नु पर्ने अवस्था आई लाग्यो भने म तपाईसंग दुई सय प्रतिशत सहमत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *