1

प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन

-सरिता परियार

-सरिता परियार

समाजमा प्रशंसा वा गालीको आधारशिला कसरी निर्माण गरिन्छ भन्ने कुराको विशिष्ट समाजशास्त्र छ। आफूलाई मन पर्ने र नपर्ने अवधारणालाई जनाउन निश्चित प्रकृतिका चित्र, भाष्य वा कथन बनाउँदै लगिन्छ र त्यस्तै मौलिक चरित्रको अभ्यासको स्वीकारोक्ति पनि। बोक्सी प्रथा त्यस्तै कल्पनाभन्दा पनि डरलाग्दो अभ्यास हो, उत्पीडनको एउटा स्वरूप हो।

 

बोक्सी आरोपमा बढ्दो अमानवीय घटनालाई बेवास्ता गर्न सकिँदैन। त्यसैले मैले पढेको समाजशास्त्रीय नजरबाट समाजमा व्याप्त बोक्सी प्रथाबारे तथ्य प्रमाण जुटाउने कोसिस गरें।

‘तिमीले जुटाएको साँच्चै तथ्य–प्रमाण हो र’ भनी उठ्ने घरीघरीको प्रश्नले रन्थनाउने गरेकै छ। तथ्य–प्रमाणको मानक पछ्याउँदै बोक्सी प्रथाबारे अवधारणा बनाउन तथ्य–प्रमाण जुटाउन थालें। यद्यपि लामो समयदेखि नेपाली समाजले मान्दै आएको तथ्य–प्रमाणको विशिष्ट मौलिक चरित्र र समाजशास्त्रीय बुझाइ नभएको होइन। साँच्चै समाजले स्वीकार नगरेको तथ्य–प्रमाण आफैंमा तथ्य–प्रमाण हुन सक्छन् कि सक्दैनन्? हामीले कसलाई समाज मान्दै आयौं, हामीले मानेको समाजमा हामी आफैं अटायौं कि अटाएनांै? हाम्रा भोगाइ, अनुभव र स्मृति तथ्य–प्रमाण हुन् कि होइनन्? जीवित मस्तिष्कले प्रश्न गर्न थाले बोक्सीको प्रतिविम्बबारे।

सामाजिक परिकल्पनामा बोक्सी

नेपाली समाजमा बोक्साबोक्सी भनेको पिर्ने शक्ति भनी बुझ्ने चलन छ। बोक्सी भन्नासाथ टोक्ने, माटो मार्ने, गाई–भैंसीको दूध सुकाउने र घाँस नखाने बनाउने, बाँझो बनाउने, नछुने बिगार्ने, छौंडा पठाउने, पति–पत्नीबीच सम्बन्ध बिगार्ने, बिसन्चो बनाइरहने, व्यापार व्यवसायमा आँखा लगाउने इत्यादिका रूपमा बुझ्ने प्रवृत्ति छ। चाहेर होस् या नचाहेर, यो विषय गाउँघरका अँगेना र चौतारीदेखि सहरको चोक र गल्लीसम्म हुने कुराकानी हो। यस्तो कुराकानीले बनाएको मेरो मस्तिष्कको मानचित्रमा बोक्सी भन्नेबित्तिकै काली बूढी, विधवा, कपाल जिंग्रिंग भएको, दाँत नभएको, तन्त्रमन्त्र जानेको, आँखा कुइरो भएको प्रतिविम्ब आउँथ्यो जसलाई म डरलाग्दो ठान्थे र डराउँथें पनि। यस्तो चित्र त्यत्तिकै बनेको पक्कै होइन होला।

सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ मा असहाय, रूपडाल नपरेकी, अलि उमेर घर्केकी, दाँत फुक्लेकी, गाला चाउरी परेकी गाउँकी गरिब बूढी स्वास्नीमान्छे बोक्सीको लाञ्छनाबाट बच्नै गाह्रो हुन्थ्यो। तर त्यस बेला पनि जातजाति र समुदायको विविधता भएको समाजमा कुन जातजाति विशेषलाई बोक्सीको आरोप सजिलै लाइन्थ्यो त? ‘गाउँले रूढिवादी’ अध्यायमा पाँडेले खुलाएको पाइनँ।

नेपाली समाजमा गरिब र असहाय महिला धेरैजसो कुन जात समूहमा पर्छन्? रूप नपरेकी महिला कसलाई मानिन्छ? यस्ता प्रश्नबारे सार्वजनिक बहस सुरु भएको छ। लेखक आहूति ‘नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष’ मा लेख्छन्, सुन्दरता जति गैरदलितको भागमा र कुरूपता जति दलितको भागमा छ। नेपाली समाजको सौन्दर्य चिन्तन जातव्यवस्थामा आधारित छ। त्यसैले यहाँ राम्रो र नराम्रो, सुन्दर र असुन्दरको परिभाषा जातभातसँग गाँसिएको छ। मन नपरेको व्यक्तिलाई सहजै बोक्सीको आरोप लगाइन्छ। गाउँघरमा धेरैजसो बोक्सीको आरोप पनि मन नपराइने जातको व्यक्तिलाई नै लगाइन्छ।

नेपाली समाजमा कसले कसलाई मन पराउँछ, यसको पनि आफ्नै समाजशास्त्र छ। तर हामीकहाँ पढाइने ‘अनुशासित समाजशास्त्र’ ले मनको सम्बन्ध र अन्तरद्वन्द्वबारे पढाउँदैन। त्यसमा पनि बोक्सीप्रथासँग गाँसिएका यस्ता सम्बन्ध अध्ययनको क्षेत्र हुने कुरै भएन। हाम्रो प्रचलित सौन्दर्यशास्त्रले पनि मनपराइबारे खासै चिरफार गरेको पाइनँ। एक समूह छलफल गर्दा कसलाई बोक्सी भनिन्छ भनेर गाउँलेहरूलाई सोधेकी थिएँ। कुनै पनि कुरा निर्धक्क राख्ने सुरो मान्छे, अरूका कुरामा प्रश्न गर्ने तथा धर्मकर्मबारे ज्ञान भएको आत्मविश्वासी व्यक्ति, र मन नपरेका मानिसलाई नै बोक्सी भन्ने चलन रहेको पाएँ मैले। आफूलाई देवताको दूत ठान्दै अरूलाई बोक्सीका रूपमा परिभाषित गर्ने हैसियत राख्छ? त्यसमाथि प्रश्न उठाउनेलाई नै बोक्सी मानिएको त होइन?

विश्वव्यापी प्रथा

घाना र नेपालको बोक्सी प्रथाबारे अध्ययन गर्दै मेन्साह अदिन्क्राह र प्रकाश अधिकारीले भनेका छन्— नेपाली समाजमा चाहिँ जातप्रथा प्रभावशाली छ। त्यसैले तल्लो वा अछुत जात भनिने दलितलाई बोक्सी भन्ने चलन छ। दलितमा पनि महिलालाई, गरिब महिलालाई, विधवा महिलालाई यस्तो लाञ्छना लगाइन्छ र हिंसाको सिकार बनाइन्छ।

संसारमा यस्तो मुलुक पनि छ जहाँ विशेष गरी बोक्सीले राम्रो काम गर्छ भन्ने विश्वास बलियो छ। पश्चिम अफ्रिकाको घानाको अकान्स समुदायमा बोक्सीहरू राम्रा हुने बुझाइ छ। उनीहरूको बुझाइमा ती बोक्सीहरूले आफ्नो शक्तिको प्रयोग आर्थिक समृद्धि, प्राज्ञिक सफलता र वैवाहिक जीवनको भलाइका लागि प्रयोग गर्छन्। कतिसम्म भने बोक्साभन्दा बोक्सी बढी शक्तिशाली हुन्छन् त्यहाँ।

नेपाल र हिन्दु धर्ममा मात्रै होइन, अन्य धर्म र समुदायमा महिलालाई बोक्सीलगायत आरोप लगाइन्छ, यातना दिइन्छ र मार्ने कामसमेत गरिन्छ। संसारमा बोक्सी प्रथाको लामो अभ्यास रहे तापनि यसको सामाजिक उद्भवबारे अध्ययनको क्रममा सन् १६९२ मा अमेरिकाको म्यासेचुसेट्स भएको घटनालाई उदाहरणका रूपमा लिइन्छ। म्यासाचुसेट्सस्थित एन्डोभरलगायतका २५ वटा गाउँमा फैलिएको बोक्सीको आरोपमा २० जना मारिएको थियो। तिनमा १४ जना महिला थिए भने १ जनालाई फाँसी दिइएको थियो। बन्दी अवस्थामा २ जना बच्चाको मृत्यु भएको थियो। बेन्जामिन रेले यसलाई अमेरिकी इतिहासको मेटाउनै नसकिने इतिहासको रूपमा विश्लेषण गरेका छन्। यस घटनामा अमेरिकीहरूको नैतिक चेतना प्रतिविम्बित हुन्छ। यसबारे विभिन्न लेखक तथा अनुसन्धानकर्ताले भिन्नाभिन्नै दृष्टिकोणबाट विश्लेषण गरेका छन्। तीमध्ये स्ट्यासी स्किफको ‘द विचेज : सलेम’, पल बोयर र स्टेफन निसेनबामको ‘सलेम पोजेज्ड’ तथा मेरी बेथको ‘द डेभिल्स स्नेयर : सलेम विचक्य्राफ्ट क्राइसिस अफ १६९२’ जस्ता किताबलाई महत्त्वपूर्ण अध्ययन सामग्रीका रूपमा लिइन्छ।

बोयर र निसेनबामका अनुसार सलेम गाउँको बोक्सी काण्ड पुटनम परिवार र पोर्टर परिवारबीचको शक्ति सम्बन्ध र द्वन्द्वको परिणाम हो। त्यहाँको सामाजिक परिवर्तन र आधुनिक पुँजीवादका मूल्यमान्यताबीचको अन्तरसंघर्ष प्रकट भएको देखिन्छ। यस घटनामा समाजको सम्पन्न व्यापारीहरूले गरिब र गाउँका बासिन्दालाई बोक्सीको आरोप लगाएका थिए। पुटनम परिवारले गरेको स्वायत्तताको माग र पोर्टर परिवारले गाउँलाई व्यापारिक केन्द्र बनाउने एवं राजनीतिक जीवनलाई विकसित गर्ने उद्देश्यबीचको संघर्षको एउटा प्रकट रूप थियो यो काण्ड। यद्यपि १६९२ भन्दा अघि र पछिको द्वन्द्वलाई हेर्दै बेन्जामिन रेले सलेम गाउँ र सहरबीचको द्वन्द्व यथावत् नै थियो भनेका छन्।

रेका अनुसार त्यस समाजमा गोरा मानिसहरूले आदिवासी अमेरिकीहरूलाई ‘इन्डियन डेभिल्स’, ‘विच डेभिल्स’ भनी अत्यन्त घृणा गर्ने गरिन्थ्यो। र, न्यू इंग्ल्यान्डको संस्कृतिमा ‘प्युरिटी’ माथि अत्यन्त विश्वास गर्ने गरेको तथा ‘डेभिल भर्सेस गड’, ‘गड भर्सेस डेभिल’ को अवधारणा थियो।

इतिहासका प्राध्यापक ब्रायन ए. पाभल्याक भन्छन्, ‘बोक्सी प्रथाको विश्व अभ्यासलाई अध्ययन गर्न पश्चिमा मुलुकमा विकास गरिएका अनेक सिद्धान्त मात्रै पर्याप्त छैनन्।’ प्रत्येक सिद्धान्तले निश्चित भूगोल, निश्चित ऐतिहासिक कालखण्डको खास मौलिक अवस्थाबारे व्याख्या गर्छ। माथि उल्लिखित सिद्धान्तले नेपाललगायत दक्षिण एसियामा व्याप्त रहेको जीवित यथार्थ : जातप्रथाको विशिष्टीकृत स्तरीकरणलाई समेट्न सक्दैनन्।

बोक्सीबारे अनेक सिद्धान्त भए पनि भिन्नाभिन्नै भौगोलिक विशिष्टता, त्यहाँ प्रचलित धार्मिक मूल्यमान्यता, संस्कार, संस्कृति तथा राजनीतिक विचारधारालाई ख्याल राख्नुपर्ने देखिन्छ। नेपालको विशिष्ट सामाजिक अवस्थामा ‘इलनेस थ्योरी’ (अस्वस्थताको सिद्धान्त), ‘मिसोजिनी थ्योरी’ (स्त्री द्वेषको सिद्धान्त) र ‘सोसियल कन्ट्रोल एन्ड स्टेट बिल्डिङ थ्योरी’ (सामाजिक नियन्त्रण र राज्य निर्माणको सिद्धान्त) लगायतका केही सिद्धान्त प्रयोग भएको देखिन्छ। रसुवाको यार्साको तुलु सार्की थिङ होउन् या बाँके, नौबस्ताका दण्डी थारू या सरिता कुँवर या कोहलपुरकी टीका कठायत, यस्ता अधिकांश घटनामा रोगको निहुँमा बोक्सीको आरोप लगाइएको पाइन्छ र इलनेस थ्योरी आकर्षित भएको देखिन्छ। थिङलाई बोक्सोको आरोपमा कालोमोसो दल्दै, मरणासन्न हुनेगरी कुटी अन्त्यमा जिउँदै गाडेको थियो, त्यो पनि आफ्नै भतिजाले। आफ्नो बालाई लागेको क्यान्सरको उपचारबाट हत्तु उक्त भतिजाले असहाय, गरिब र पहुँचहीन ठूला बाको हत्या गरेको थियो, आफ्नो बालाई भेदेर मारेको भन्दै।

लक्ष्मी परियार हत्याको प्रसंगमा केही हदसम्म सोसियल कन्ट्रोल एन्ड स्टेट बिल्डिङ थ्योरी जोडिन पुग्छ। परियारको हत्यामा उजुरी र गिरफ्तारीमा पनि सरकारी व्यवहार यही सिद्धान्त वरपर घुमेको पाइन्छ।

सन् २०१६ मा छापिएको ‘द हिन्दु’ को रिपोर्टअनुसार राज्यसभामा दिइएको सूचनामा भारतको झारखण्ड राज्यमा बोक्सीको आरोपमा सन् २०१२ देखि २०१४ सम्ममा १ सय २७ जना महिला मारिएका थिए। प्रहरी रेकर्डअनुसार २०१४ जुनदेखि २०१६ सम्ममा राज्यमा ९८ जना मारिएको र १,८५७ वटा घटना भएको देखिन्छ।

जब–जब महिलाले आफ्नो अस्तित्वको खोजी गर्छन् र सीमान्तकृत समुदायका सदस्यहरूले आफ्नो नैतिकताको परिभाषा गर्छन्, तबतब उनीहरूलाई प्रचलित मूल्यमान्यताको बाटो बिराएको आरोप लाग्छ। र, उनीहरू प्रभुत्वशाली जातसमूहको आक्रमणमा पर्छन्। भारतको पश्चिम बंगालको चियाबगानका कामदारमाथि अध्ययन गरेकी भारतीय अध्येता शोमा चौधरी बोक्सी प्रथाको अवधारणालाई द्वैध विचलनको अर्थमा परिभाषित गर्छिन्। चौधरीले द्वैध विचलनलाई दुई तहमा विभाजन गरेकी छन्। एक, विचलित समूह अर्थात् प्रचलित सामाजिक मूल्यमान्यता तोड्ने समूह। दुई, प्रचलित सामाजिक मूल्यमान्यता बचाउन खोज्ने नैतिक उद्यमी समूह (लेबलिङ ग्रुप)। विचलित समूहका कामलाई नैतिक उद्यमी समूहले आफ्ना लागि चुनौतीका रूपमा लिने गर्छन्। नैतिक उद्यमी समूहले समाजमा नैतिक सीमा बाँध्न खोज्छ र त्यस नैतिक सीमाभित्र नबस्ने समूहलाई विचलित समूहको लेबल लगाउने काम गर्छ।

विचलनसम्बन्धी अमेरिकी समाजशास्त्री हवार्ड एस. बेकरले नैतिक उद्यमी समूहलाई पनि दुई भागमा विभाजन गरेका छन् : एक, नियम बनाउने, अर्काे नियम कार्यान्वयन गर्ने। नियम बनाउनेहरू नैतिक प्रहरीको रूपमा चिनिन्छन्, जो अरूलाई सहमत गराउन सक्ने क्षमता राख्छन्। तर त्यसका लागि कस्तो किसिमका माध्यम प्रयोग गरिन्छ, त्यसको कुनै मतलब राखिँदैन। नैतिक र अनैतिक के हो भन्ने परिभाषा गर्ने काम पनि उनीहरूले नै गर्छन्। र, उनीहरूसँग शक्ति, सार्वजनिक समर्थन हुने मात्रै होइन, विभिन्न मुद्दामा सार्वजनिक रूपमा चेतना वा अपवाह फैलाउने र त्यसबारे स्वीकारोक्तिको वातावरण बनाउने काम पनि गर्छन्। त्यस्ता सफल नैतिक प्रहरीहरू समाजको माथिल्लो र प्रभुत्वशाली तहका हुने गर्छन्।

बोक्सी प्रथामा विचलित भनिने समूह र विचलित भएको आरोप लगाउने समूहको कुरा आउँछ, ती दुईबीचको अन्तरसम्बन्ध र अन्तरसंघर्षको कुरा पनि आउँछ नै। मानव सभ्यताकै बेसी तह र श्रेणीमा बाँडिएको जातीय समाज, माथिल्लो र तल्लो वर्ण वा जात मान्ने बस्तीमा बोक्सीको आरोप कथित माथिल्लो भनिएका जात, त्यसमा पनि धनीमानी र पुरुषविरुद्ध कमै लाग्ने गरेको देखिन्छ। बरु, उनीहरू अरूलाई बोक्सीको आरोप लगाउँछन् नैतिक उद्यमी वा नैतिक प्रहरीको रूपमा। उनीहरूबाट लेखिने धर्मग्रन्थ, इतिहास र साहित्यमा पनि त्यसको दुर्गन्ध आउँछ सबै गंवार, शूद्र, पशु र नारी उत्पीडनका लागि योग्य छन् भन्ने भावसँगै। यस्ता विषयमा प्रश्न उठाउने कि नउठाउने? शूद्र र नारीलाई प्रश्न गर्न सक्ने बनाउने कि नबनाउने? एकातिर प्रश्नमा बन्देज लगाउने, अर्काेतिर प्रश्न गर्न नसक्ने भनी न्यारेटिभ सिर्जना र स्थापित गर्ने बौद्धिक कुलत छ। लेखक उज्ज्वल प्रसाईंका शब्दमा ‘बाँझो नेपाली एकेडेमिया’ यस्तो कुलतबाट कहिले मुक्त हुने?

बोक्सी प्रथाको लैंगिकीकरण र जात

बोक्सी प्रथा र जातप्रथाको अन्तरसम्बन्ध बाहिरी सतहमा देखिएको जस्तो पातलो र सामान्य छैन। बोक्सी प्रथाको सम्बन्ध राज्यसँग सीधा छ र राज्य जातिवादी छ। किनभने राज्यले लामो समयदेखि आफू धामी बन्दै उत्पीडितहरूलाई बोक्सी बनाउँदै आएको छ। त्यसलाई समाजमा धार्मिक पुण्य कामको रूपमा स्थापित गर्न खोजिए पनि त्यसको प्रतिरोध भएकै छ। इतिहासकार एवं नारीवादी लेखक उमा चक्रवर्ती भन्छिन्, ‘ब्राह्मणवादी पितृसत्ता त्यस्तो संयन्त्र हो, जसले भूमि र महिलामाथिको स्वामित्व र रीतिथितिको गुण नियन्त्रण गर्छ। जातीय स्तरीकरण र लैंगिक असमानतालाई निरन्तरता दिन समाजका बहुसंख्यक सदस्यबीच सहमति बनाइन्छ भने राज्यमार्फत दमन गरिन्छ।’

बोक्सी प्रथाका जोर्नी हुन् तन्त्र, जादू र टुनामुना। तिनलाई पुरेत्याइँ गर्ने समुदायबाट रणनीतिक रूपमा प्रयोग गरिएको छ। इतिहासकार रामशरण शर्मा भन्छन्, ‘तन्त्रको उद्भव तथा विकासलाई बुझ्न पूर्वमध्यकालको आर्थिक एवं सामाजिक प्रवृत्तिलाई अध्ययन गर्न जरुरी छ। पूर्वमध्यकालको उल्लेखनीय विशेषता भनेको पुरोहित र मन्दिरलाई दिइने बढीजसो भूमिदान हो। नयाँ क्षेत्र, नयाँ बस्ती, धार्मिक प्रयोजन र भूमिदानले ब्राह्मण संस्कृति फैलाउनमा नयाँ आयाम थपेको छ। ब्राह्मण संस्कृतिसँग तन्त्र, जादू र टुनामुना पनि जोडिएको छ, जुन पुरोहित वर्गबाट अभ्यास गरिएको पाइन्छ। किनभने मध्यकालका तान्त्रिक नै पुरोहित, ज्योतिषी र वैद्य एकसाथ हुन्थे। मन्दिर र भूमिसँग सम्बन्धित भूस्वामित्वको सवालमा हुने संघर्षमा उनीहरूबाट पीडित हुनेमा महिला, शूद्र र गरिब नै बेसी हुन्थे। समाजको पिँधमा परेका तिनै वर्ग, वर्ण र लिंगका मानिसलाई प्रताडित गर्ने लाञ्छनाको हतियारका रूपमा बोक्सी प्रथालाई प्रयोग गरिन्छ।

नेपाली समाजमा बोक्सी प्रथा लामो समयदेखि व्यापक रूपमा अभ्यास भएको छ। त्यसमा पनि ऐतिहासिक उत्पीडित समुदायका महिलाहरू नै बलिको बोका बनाइएको छ। इतिहासकारहरू तुल्सीराम वैद्य र त्रिरत्न मानन्धरको ‘क्राइम एन्ड पनिसमेन्ट इन नेपाल’ अनुसार शाह र राणाकालमा बोक्सीको आरोप लगाएर महिलाहरूको जिब्रोमै तातो फलामले डाम्ने गरिन्थ्यो। उनीहरूको आदेशमा बोक्सीको बात लागेको महिलाको कपाल मुण्डन गरिन्थ्यो, दिसा–पिसाबजस्ता अभक्ष खुवाइन्थ्यो, गरगहना जफत गरिन्थ्यो र उनलाई जिउँदै जलाइन्थ्यो वा अन्य तरिकाबाट मारिन्थ्यो। तथाकथित बोक्सीहरूलाई अभक्ष खुवाएर जिल्लाबाट निकाला गरिन्थ्यो।

इतिहास वर्तमानमा कसरी पुनरुत्पादन भइरहेको छ भन्ने बोक्सी प्रथाको अभ्यासमा पनि देखिन्छ। हुन त राष्ट्रिय महिला आयोगसँग बुझ्दा बोक्सी प्रथाबारे अत्यन्त सीमित मुद्दा मात्रै दर्ता भएको जानकारी पाएँ। मैले बाँसगडी, बुटवलमा गरेको अध्ययन र सामूहिक छलफलमा धेरैको अनुमान थियो— मधेसी, दलित र महिला बोक्सी प्रथाको सिकार भएको हुनुपर्छ। सोच नेपालले २०७३ भदौ १ देखि मंसिर मसान्तसम्म गरेको कुरीतिसम्बन्धी एक अध्ययन ३४ वटा घटनामध्ये २० प्रतिशत घटना बोक्सी प्रथासँग सम्बन्धित थिए। सञ्जय खड्का र एलिनोर मिडलटनद्वारा लिखित ‘कुरीति : संकृतिका नाममा पीडा’ शीर्षकको रिपोर्टमा सन् २००८ देखि २०१२ सम्मका कुरीतिका घटनाक्रमलाई अध्ययन गरिएको छ। त्यसमा उल्लिखित ६३ घटनामध्ये करिब २० वटा घटना बोक्सी प्रथासँग सम्बन्धित थिए। बोक्सी प्रथाका सिकारमध्ये १८ जना महिला थिए, जसमा दलित र मधेसी (चौधरी) को संख्या बढी थियो। यस अध्ययनले पनि नेपाली समाज र राज्यको माथिल्लो र प्रभुत्वशाली तहका महिला एवं पुरुष बोक्सी प्रथाको कमै सिकार भएको देखाउँछ। प्रश्न के होइन भने किन सामान्यत: कथित उपल्लो जातका महिला र पुरुषलाई बोक्सी बनाइन्न, मुख्य प्रश्न हो : दलित, आदिवासी र मधेसी समुदायका महिलाको शरीर, विचार र प्रश्नमाथिको नियन्त्रणका लागि यसलाई कतिन्जेल अस्त्रका रूपमा प्रयोग गर्ने?

बढ्दो बोक्सी प्रथाबारे मिडिया कन्टेन्टको सतही विश्लेषण गर्ने काम नभएको होइन। तिनलाई मात्रै आधार मान्दा समाजको पिँधमा व्यापक रूपमा भइरहेका सत्यतथ्य सार्वजनिक नहुने सम्भावना रहन्छ। पिँधमै पुगी ऐतिहासिक यथार्थ खोतल्ने काम नहुँदा र वर्तमानमा त्यसको पुनरुत्पादन कसरी भइरहेको छ भन्ने विषयमा अध्ययन नहुँदा समाजशास्त्रीय विश्लेषण कमजोर भएको ठम्याउन कठिन छैन। यसको अर्थ बोक्सी प्रथाबारे थप खोज, अध्ययन र सार्वजनिक बहस जरुरी देखिन्छ। त्यस्तो अध्ययनमा नेपालको जातप्रथाको विशिष्टीकृत स्तरीकरण र बोक्सी प्रथाको अन्तरसम्बन्धलाई बेवास्ता गर्न मिल्दैन।

अनुशासित समाजशास्त्रसामु प्रश्न

हाम्रो समाज त्यस्तो समाज हो, जहाँ दलितले घिउ खाँदा कथित उपल्लो जातले अपमान बोध गर्छ। त्यस्तो समाज र अपमानबोधमाथि प्रश्न गर्ने तथा फरक विचार राख्नेलाई ‘बौद्धिक बोक्सी’ को आरोपमा सिकार गर्ने ‘विच हन्टिङ’ बढ्दो छ। प्रश्न के हो भन्दा पनि प्रश्न कुन जातजातिले गर्‍यो भनी खुट्याउने गरिन्छ नेपाली समाजमा। यहाँ प्रश्नको पनि जातशास्त्र छ।

विश्वमा जातीय शुद्धताको नाममा, आफ्नो नश्लको श्रेष्ठताको नाममा नरसंहार (जेनोसाइड) भएको छ। तर दलितको हकमा भने ‘प्रश्नको संहार’ (क्वेस्चनोसाइड) हुँदै आएको छ, त्यससँगै उनीहरूको आत्मसम्मानको पनि आमहत्या पनि हुँदै आएको छ। ‘प्रश्न र आत्मसंहार’ को आयामको गहिराइ बुझ्न सतही बुझाइ र अध्ययनले पुग्दैन। अब हाम्रो अनुशासित समाजशास्त्रले बोक्सी प्रथा, जातप्रथा, ब्राह्मणवादी पितृसत्ताको अभ्यास गर्ने नेपाली समाजबारे प्रश्न गर्न सिकाउने कि प्रश्नको संहार गर्न?

प्रकाशित: वैशाख ९, २०७४

स्रोत : कान्तिपुर दैनिक

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *