2

मधेसी दलितको संघर्ष र बलदेव राम

-रक्षाराम हरिजन

-रक्षाराम हरिजन

दलित तथा भूमि आन्दोलनका अगुवा सप्तरीका बलदेव रामको निधनले दलित र भूमिहीन आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । उनी दलितको आत्मसम्मान, शिक्षाको अधिकार र रोजगारलगायत विषयको ग्यारेन्टीका लागि सप्तरी र सिरहासहितका जिल्लामा सक्रिय थिए । भूमि अधिकार र हरूवाचरुवाका अधिकारको लागि अगुवाइ गर्दै थिए । उनले उठाएका आवाजलाई जोगाइराख्ने आन्दोलन र अगुवाको अभाव देखिएको छ । यस्तो अभाव हुन नदिने दायित्व समग्र मधेसी दलितको काँधमा छ । यस्तो दायित्वबाट कुनै पनि बहानामा उम्किनु आफ्नो समुदाय र अधिकारलाई धोका दिनु हो ।

उनले गरेको संघर्षले गर्दा मधेसका दलित समुदायको जीवनशैलीमा सुधार भएको छ । युवावस्थादेखि नै दलित मुक्तिका लागि लागेर उनले २०५६ सालको ज्याला वृद्धिको आन्दोलन, निःशुल्क शिक्षाका लागि आवाज उठाउने काम गरेका थिए । २०५८ सालको सिनो बहिष्कार आन्दोलनको अगुवाइ गरेका रामले २०६० सालदेखि नै हरूवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्थाका लागि अनवरत आवाज उठाए । अन्ततः उनी दलित युवाहरूका लागि प्रेरणाका स्रोत बने । भूमिहीन, हरूवाचरुवाको थातवास र जीविकाका लागि गरेका योगदानकै कारण उनी स्मरणीय रहेको वरिष्ठ पत्रकार वैद्यनाथ झालगायत नागरिक समाजको भनाइ छ ।

के थियो, सिनो बहिष्कारको आन्दोलन ?
बाहुनवादले कथित तल्लो जातलाई सेवामूलक काममा लगायो । दलित समुदायभित्रका चमार जातिलाई सिनो सोहोर्न लगाइयो । त्यो कार्य जातीय परम्परा र जिम्मेवारीजस्तै बनाइयो । दलितलाई सेवामूलक र सरसफाइका काम गराइयो । उनीहरूलाई अछुतको दर्जाबाट माथि उठ्न दिइएन । त्यसकै विरोधमा उभिएका अगुवा हुन् बलदेव राम । सवर्ण र मालिल्लो भनिने जातका जनावर मरेमा चमारहरूले फाल्नुपर्ने बाध्यताविरुद्ध आन्दोलन भएको हो ।

उनले २०५६ सालमा सिनो फाल्ने कार्यलाई बहिस्कार गर्ने आन्दोलनको नेतृत्व गरे । सप्तरीका चमार समुदायले सुरुआतमा सप्तरीको मधुपटी गाविसको कनकपुर गाउँबाट सिनो नफाल्ने अडान लिए । धेरै दलित समुदाय र सामाजिक अभियानमा लागेका व्यक्तिले सहयोग गरे । तर जिल्लाका कथित उपल्लो जातका भूमिपति र मध्यम जातिका मानिस सामाजिक परम्परालाई दिइएको चुनौती देखेर क्रुद्ध बने । तत्कालीन सांसद समेत आन्दोलनको विरोधमा उभिए । र दलितहरूलाई लहान सहर पस्न पनि मनाही गरियो । उनीहरूलाई सामाजिक बहिस्कार गरियो । उनीहरूलाई बाटोघाटो हिँड्नमा रोक लगाइयो, रोजगारबाट हटाउने प्रयास गरियो । बैंकबाट ऋण दिन छाडियो । सार्वजनिक श्रोत उपभोग गर्न नपाउने बनाइयो । बजारमा काम गर्नबाट बन्चित गरियो । पसलमा सरसामान र औषधि नदिनेलगायत मानवताविरोधी कार्य गरियो । दलित एकतालाई तुहाउन मुसहरलाई पनि उपयोग गरियो ।

दमन हुँदाहुँदै पनि आन्दोलनकारीहरू आफ्नो मुद्दाबाट विमुख भएनन् । उनीहरूले सिनो बहिष्करणको आन्दोलन जारी राखे । राष्ट्रिय संचारमाध्यमले प्राथमिकताका साथ प्रचार प्रसार गरे । नागरिक समाजका विभिन्न तप्काले आन्दोलनको समर्थन गरे । आन्दोलन सफल भयो, दलितहरूको जीत भयो । पेसाका रूपमा गरिने र अपमानित नहुने सर्तमा मात्र सो कार्य गर्न सकिने सम्झौता भयो ।

डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित बलदेव एक दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित भए । गा.वि.स. सचिवको रूपमा कार्यरत बाबुको अघिपछि गर्दागर्दै उनी भूमिहीन र दलितहरूको दुःखपीडासँग नजिकिएका थिए । उनी १४ वर्षको उमेरदेखि नै सामाजिक आन्दोलनमा सरिक हुँदै आएका थिए । आफू बसेको ठाउँ कनकपुर क्षेत्रमा मात्र दुई हजार तीन सयभन्दा बढी मोहीको समस्या देखेपछि उनी भूमि आन्दोलनमा लागेका थिए । त्यसको पछिल्लो कडी हो सिनो बहिष्कार आन्दोलन ।

२०५६ सालमा भएको सिनो आन्दोलन अचेल किंवदन्ती रूपमा मात्रै सुन्न पाइन्छ । लिखित रूपमा एकाध पुस्तकमा अंश छापिने बाहेक त्यसबारे कुनै दस्तावेज लेखिएको छैन । आन्दोलन हुनुमा ककसको भूमिका थियो, खोज र बहसको विषय हुनसक्छ । त्यसबाहेक के मधेसमा बस्ने दलितहरूले आन्दोलनै गरेका छैनन् ? यसको खोजी आजको मधेसी दलितले गर्नुपर्ने देखिन्छ । हामीले सहि समयमा आफ्ना इतिहासलाई दस्तावेजीकरण गर्न सकेनौं भने आउने पुस्ताले हामीलाई धिक्कार्ने छ । इतिहास किंवदन्तीका रूपमा कति दिन रहन्छ र ? त्यसैले हामीले आफ्नो इतिहास आफै लेख्नुपर्छ, तब मात्रै सत्यको उजागर हुन्छ । यो आफैमा एक आन्दोलन हो ।

मधेस आन्दोलनमा दलित
बलदेव रामको देहान्त भइसक्यो, तर मधेसी दलितको आन्दोलनको अन्त्य भएको छैन । हरेक मधेस आन्दोलनमा मधेसी दलितको ठूलो भूमिका रहेको छ । मधेस आन्दोलनको क्रममा सहादत पाउनेहरूका नामावली हेरे त्यसको पुष्टि हुन्छ । सहादत हुनेमा दलित, मुस्लिम वा मध्यमवर्गीय मधेसी मात्रै छन् । त्यसैले मधेस आन्दोलनमा दलितहरूको सहादत र योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । वास्ता गर्ने नाममा छनौटकारी कृपा गरिएको पनि उदाहरण पनि छ । प्रशान्त झाको शब्दमा गणतन्त्रको पहिलो राष्ट्रपति पदको चुनावमा एमालेले समावेशीको प्रतियोगितात्मक खेल खेल्न मधेसी दलित नेता रामप्रित पासवानलाई उम्मेदवार तोकेको थियो ।

पहाडी दलितहरूको सामु एउटा पर्खाल मात्रै छ, त्यो हो जातीय विभेद र छुवाछूत । तर मधेसी दलितको सामुको पर्खालै पर्खाल छ, जातीय विभेद, क्षेत्रीय विभेद, भाषागत विभेद, समुदायगत विभेद । मधेसी दलितले मधेस आन्दोलनमा साथ दिएर र सहभागी भएर सामुदायिक विभेदलाई चिर्ने प्रयास गरेका छन् । सीके लालका शब्दमा यो प्रत्येक मधेसीको आत्मसम्मानसँग जोडिएको आन्दोलन हो । यसरी मधेसी दलित मधेस आन्दोलका पनि मुख्य साझेदार भएकोले त्यसका उपलब्धिमाथि सहभागीहरूको पनि उत्तिकै हक लाग्छ ।

विडम्बना, अहिले मधेसी दलितहरू पेन्डुलमको अवस्थामा छन् । दलितको नाउँमा आउने अवसर मूलधारको दलितले खाइदिने, मधेसीको नाउँमा आउने जति मधेसका इलिट वर्गले खाइदिने अभ्यास छ । मधेसका दलितहरू न यताका भए न उताका । आन्दोलनमा सहादत हुने ठाउँमा दुवै आन्दोलनमा प्रयोग हुने, अवसर बाँडफाँटका बेला दुवैबाट बेवास्ता गरिने । त्यसको नमुनाका लागि राष्ट्रिय दलित आयोगको पदाधिकारीको अनुहार मात्रै हेरे पुग्छ । त्यसका १७ सदस्यमा १ जना मधेसी दलितको मात्रै प्रतिनिधित्व छ ।

मधेसी दलित आन्दोलनको राष्ट्रियकरण
हाल समग्र दलित आन्दोलन गैससमुखी भएको देखिन्छ । त्यसबाट मधेसी दलित आन्दोलन पनि अछुतो छैन । यसलाई साहै्र नकारात्मक रूपमा लिनु जरुरी पनि छैन । मधेसका गाउँगाउँमा दलित आन्दोलन चलिरहेको छ । जातीय विभेद, छुवाछुत, सामुदायिक कुरिती हटाउन स्थानीयस्तरमा प्रयास भएका छन् । विडम्बनाको कुरा, मधेसी दलित समग्र मधेसी दलित आन्दोलनमा एकाकार भएका छैनन् । पक्कै पनि यी सबै आन्दोलनलाई एकिकृत वा राष्ट्रियकरण गर्न सकिएको छैन । यसमा केही समस्या छन् । एकातिर मूलधारको दलितले चाहेका छैनन् । अर्काेतिर मधेसी दलित आफैले मूलधारको दलितसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

गाउँगाउँमा भएको प्रयास, जनस्तरबाट उठेका आवाजलाई जोड्ने कोसिस गरिनुपर्छ । ससाना आवाजलाई सम्बन्धित निकाय वा स्थानसम्म पुर्याउन सक्नुपर्छ । यो आन्दोलनलाई क्षेत्रीयकरण गर्दै सशक्त रूपमा राष्ट्रियकरण गर्न जरुरी छ । यसमा नै मधेसी दलितको उन्नति हुनेछ । उनीहरूले मधेसी सत्ता र नेपाली सत्तासँग एकै पटक लडाइँ लड्न सक्नुपर्छ । बलदेव रामले भुइँतहबाट मधेसी दलितका मुद्दा उठाएर बाटो देखाउने र जुझ्ने तरिका सिकाएका छन् । आफ्नो पेसाको रक्षा, विकास र सम्मानसँगै समुदायकै आत्मसम्मानका लागि उनले गरेको संघर्ष ऐतिहासिक पाठ हो । कुनै पनि खाले विभेदबाट मुक्त समाज निर्माणका लागि उनले पोखेका विचार र देखाएका व्यवहारले सबैलाई प्रेरणा दिइरहने छन् ।

2 Comments

  1. यस लेख मधेशी दलितको संघर्ष र बलदेव रामको जिवनी बाट धेरै राम्रा उपल्बधीमुलक सिकाई भएको छ । हाल बलदेब राम स्वर्गावास भए पनि उहाँको दलित , भुमिअधिकार र हरुवाचरुवा जस्ता अभियान अगाडी वढाउन सम्पुर्ण दलित युवा हरु हातोमालो गरेर अगाडी बढाउने बेला आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *