0

लिसो

–पूर्णप्रसाद ब्राह्मण

तपस्विनी वीर प्रसविनी भारतमाताले उजुरी दिइन्– जातिवाद मेरो क्षेत्रबाट हटाइयोस् भनेर ।
भारतमाता झिकाइन् विश्व न्यायालयमा, साथै लिसो जातिवाद पनि । न्यायाधीशले भारतमातालाई सोधे– ‘तपाईंलाई यसले के ग¥यो ?’

‘घरमा बसेर मेरा छोराहरू फुटाइदियो, अझ सर्वस्वमा दावा गरिरहेछ ।’

‘कति भो यसले यति गरेको ?’

‘डेढ हजार वर्ष ।’

जातिवादतिर फर्केर न्यायाधीशले भने– ‘त्यसो गर्न तेरो के हक ?’
‘डेढ हजार वर्षको कुरा हैन, यो मेरो पुरानो राज्य हो निष्कण्टक !’

‘के प्रमाण छ ?’
‘प्रमाण अरु के ? पुराना महर्षि, राजर्षिहरू साक्षी छन् ।’

झिकाइए अतीतका द्वार खोलेर प्राचीन महर्षि राजर्षिहरू । वादी प्रतिवादीको मिसिल सुनाइयो ।
र, सोधे अन्यायका दुस्मन न्यायाधीशले– ‘ब्यासजी, के भारत क्षेत्र अघिदेखि नै यसको हो ? पक्षपात नगरीकन भन्नुहोस् ।’

‘योसँग मेरो के पक्षपात, म स्वयं माझिनीको छोरो । अघि यसको यहाँ केही अधिकार थिएन ।’
‘महर्षि जावालि ?’

‘म त बाबु नै पत्ता नलागेको मानिस, जातिवादको पक्ष लिन खाँचो पो के छ ! यसको बयान सर्वथा झुठो हो ।’
‘राजर्षि भरत ?’

‘म खास वेश्याको छोरोलाई यसमाथि पक्षपात गर्नुपर्ने केही छैन । यो बदमास हो ।’
‘पञ्च पाण्डवहरू ?’

‘हामी त एक बाबुका छोरा नै हैनौं, यसमाथि के पक्षपात छ ! यसको आग्रह निराधार हो ।’
न्यायाधीशले भने– ‘राजर्षि महर्षि, सभ्य गन्यमान्य सबजना भन्नुहोस्, साँच्चै यो क्षेत्र कसको हो र विश्व कल्याणका लागि कसको हुनुपर्छ ?’

सबले एक स्वरमा भने– ‘गुण र कर्मको !’

फैसला सकेपछि जातिवादले नुहेर भन्यो– ‘चर्चेको घरबार छोडेपछि एउटा आश्रय त पाउँछु कि !’
न्यायाधीश– ‘भैगो, केही दिनलाई अज्ञान र संकोचको घरमा बस ।’
हुन त लिसो न हो, त्यति भइसकेपछि पनि त्यसले अझ यहाँ राम्ररी छोडेको छैन ।
तपस्विनी भारतमाता आशाको उज्यालोमा भविष्य हेरिरहेकी छिन् ।

साभारः ब्राह्मण, पूर्णप्रसाद । २०४६ । लिसो । संजीवनी १२(२–३) ः २५–२५ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *