0

लिसो

–पूर्णप्रसाद ब्राह्मण

तपस्विनी वीर प्रसविनी भारतमाताले उजुरी दिइन्– जातिवाद मेरो क्षेत्रबाट हटाइयोस् भनेर ।
भारतमाता झिकाइन् विश्व न्यायालयमा, साथै लिसो जातिवाद पनि । न्यायाधीशले भारतमातालाई सोधे– ‘तपाईंलाई यसले के ग¥यो ?’

‘घरमा बसेर मेरा छोराहरू फुटाइदियो, अझ सर्वस्वमा दावा गरिरहेछ ।’

‘कति भो यसले यति गरेको ?’

‘डेढ हजार वर्ष ।’

जातिवादतिर फर्केर न्यायाधीशले भने– ‘त्यसो गर्न तेरो के हक ?’
‘डेढ हजार वर्षको कुरा हैन, यो मेरो पुरानो राज्य हो निष्कण्टक !’

‘के प्रमाण छ ?’
‘प्रमाण अरु के ? पुराना महर्षि, राजर्षिहरू साक्षी छन् ।’

झिकाइए अतीतका द्वार खोलेर प्राचीन महर्षि राजर्षिहरू । वादी प्रतिवादीको मिसिल सुनाइयो ।
र, सोधे अन्यायका दुस्मन न्यायाधीशले– ‘ब्यासजी, के भारत क्षेत्र अघिदेखि नै यसको हो ? पक्षपात नगरीकन भन्नुहोस् ।’

‘योसँग मेरो के पक्षपात, म स्वयं माझिनीको छोरो । अघि यसको यहाँ केही अधिकार थिएन ।’
‘महर्षि जावालि ?’

‘म त बाबु नै पत्ता नलागेको मानिस, जातिवादको पक्ष लिन खाँचो पो के छ ! यसको बयान सर्वथा झुठो हो ।’
‘राजर्षि भरत ?’

‘म खास वेश्याको छोरोलाई यसमाथि पक्षपात गर्नुपर्ने केही छैन । यो बदमास हो ।’
‘पञ्च पाण्डवहरू ?’

‘हामी त एक बाबुका छोरा नै हैनौं, यसमाथि के पक्षपात छ ! यसको आग्रह निराधार हो ।’
न्यायाधीशले भने– ‘राजर्षि महर्षि, सभ्य गन्यमान्य सबजना भन्नुहोस्, साँच्चै यो क्षेत्र कसको हो र विश्व कल्याणका लागि कसको हुनुपर्छ ?’

सबले एक स्वरमा भने– ‘गुण र कर्मको !’

फैसला सकेपछि जातिवादले नुहेर भन्यो– ‘चर्चेको घरबार छोडेपछि एउटा आश्रय त पाउँछु कि !’
न्यायाधीश– ‘भैगो, केही दिनलाई अज्ञान र संकोचको घरमा बस ।’
हुन त लिसो न हो, त्यति भइसकेपछि पनि त्यसले अझ यहाँ राम्ररी छोडेको छैन ।
तपस्विनी भारतमाता आशाको उज्यालोमा भविष्य हेरिरहेकी छिन् ।

साभारः ब्राह्मण, पूर्णप्रसाद । २०४६ । लिसो । संजीवनी १२(२–३) ः २५–२५ ।

 

0

आधुनिक बराजु दुस्साहस नगर

-धनकुमारी सुनार

उत्पीडनको चरम बर्बरताविरुद्ध
विद्रोहको आँट गरेर
आफ्नै सहपाठी ठानी
तिम्रो हात समाउन पुगें

हजार सपना देखाई
भ्रमको चुलीमा पुर्यायौ
र खण्डखण्डमा
आहत तुल्याइरहृयौ

माक्र्सवादका ठेलीमा लेखिएझैँ
सर्वहाराको एकै थलो हो भन्ने बुझेर
मैले तिमीलाई नि
आफ्नै बराबर देख्ने आँट गरे

तिमीले कहाँ पचाउन सक्थ्यौ र ?
तिमी त कम्युनिष्टको खोल ओढेको
ब्राम्हणबादी नै पर्यौ

मैले मानें,
मेरा बराजुको त ख्वामित नै हौ तिमी,
तर मेरो बन्ने दुस्साहस नगर !
युगौंदेखि तिम्रो दैलोमा
निमिट्यान्न मेरो अस्तित्व
पैतालामा लम्पसार परेको हेर्ने
तिम्रो भोक हो भने
त्यागी देऊ आधुनिक बराजु
तिम्रो त्यो दुःस्वप्न !
शुद्र भई मेरा पुर्खाले आर्जन गरेको
सिल्प र श्रमको गौरव
कदापि
तिम्रो पाउमा बिसाउन्न !
बरु मलाई जुत्ताको कण सम्झने
तिम्रा मनोआकांक्षाविरुद्ध
अर्को नयाँ हुँकारको आधीबेहरी निर्माण गर्ने छु
म र मजस्तैको शीर ठाडो बनाइरहने छु ।

0

अछूत

-युगकवि सिद्धिचरण श्रेष्ठ

 के ल्यायौ यो आफ्नै भाइ बहिनीकन पनि नछुवाई ?

यो फर्काऊ तिम्रो पूजा, यस्तो चाहिन्न मलाई ।

 

कसरी मेरो पूजा गर्छौ ? गरी घृणा आफैंलाई

कसरी मेरो मन्दिर पस्छौ, थुनेर ढोका अरुलाई ?

 

जाऊ, जाऊ, भित्र नजाऊ, हे पापी, मूर्ख, गँवार

ल्याएको यो पूजा तिम्रो छैन मलाई स्वीकार ।

 

भो, भो, मेरो पाउ नछोऊ, जल्दछ मेरो प्रति अंग

पीप सिंगानभन्दा ननिको ल्यायौ यो जल अपवित्र ।

 

साँच्चै पूजा गर्ने हो त ऊ उसलाई अघि लाऊ

युग युगदेखिन् तिमीले जसको अधिकार सबै पृथियायौ ।

 

छुन नहुने भनी पाप छिटा लि जसको हद अपमान गर्‍यौ

पाउ समाई उसकै पहिले मेरो मन्दिरमा आऊ ।

 

अनि नै मेरो वरदान लिई मानिस योग्य तिमी बन्छौ

देश अगाडि बढ्न नदिने काँढा नबनी सोझिन्छौ ।

 

रचनाकाल : २०१२ साल, नव युगवाणी, १२ जेठ २०५७ ।

साभार : छापामा दलित

 

0

दमाई दाइ

तस्वीर स्रोत : गुगल

–लक्ष्मीप्रसाद देवकोटा

सियोको टुप्पोले मुटु बिझ्यो दमाई दाइ
आजलाई देशलाई देखेर
जर्जर पातमा कीराले दमार्ई दाइ
देश दशा झलक्क लेखेर ।

ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला
एउटै मासु एउटै रगत एउटा अर्को पेला
पहिले खाँद्छन् मूलालाई पछि भन्छन् सिन्की
मान्छे सडाई मान्छे खान्छ झिँगाजस्तो भन्की
देख्दाखेरी मेरो कञ्चट त्यसै आउँछ रन्की
जसले चुस्छ त्यही गुरु रे त्यसकै तिमी चेला
भएन है अझै किन आँखा खोल्ने बेला ?
कुकुर चुम्छन् मानिस थुक्छन् हामीलाई दमार्ई दाइ
लात्तीले नै फुटबलझैँ फँेकेर ।

थिचिएको सुनको खानी भुइँचालोले झिक्ला
दबिएको आवाजलाई ज्वालामुखी फेँक्ला
ठाँटिएका परी देउता, स्वर्गका छन् सुरा
हामी नांगा, हामी भोका हिउँदका छुरा
हामी नाला, हामी गन्दा हामीहरू कीरा
सुनको मन्दिर, ढुंगो ईश्वर धर्म गाँजा सन्की
अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि
सडेका कपडा अनि कुहेका चमडा
नक्कलीले लाल सर्बत पिएर ।
(लक्ष्मी गीत संग्रह)
…………………………..