5

विभेद: गैरदलितको समस्या हैन र ?

-साझना तोलाङ्गे

-साझना तोलाङ्गे

यो शरीर धर्तीमा छ । मेरा आँखा भने आकाशतिर मोडिएका छन् । म प्रायः आकाशतिर हेरेर टोलाउने गर्छु । आकाशमा उड्ने चरालाई देख्दा मलाई भित्रभित्रै इष्र्या लाग्छ । आकाशमा देखिने बादलको स्वरूप फेरिएर, त्यहाँको वातावरण जति नै परिवर्तन भए पनि सबै परिस्थितिलाई छिचोल्दै स्वतन्त्रताको पखेटा फरफराउँदै उड्छन् ती पन्छीहरू । अनि मेरो मनले मभित्र लुकेको ‘म’लाई भन्छ । मभन्दा पनि कति धेरै स्वतन्त्र, खुशी र सुखी छन् ती पन्छीहरू । म मानव भएर पनि कति धेरै दुःखी छु, ती पन्छी भएर पनि कत्ति सुःखी छन् । हुन त उनीहरूका पनि आफ्नै दुःख होलान्, कसरी बुझाँै मैले ती भाषाबिनाका अभिव्यक्ति !

मानिसको जात के हो ? धेरैले भन्ने गरेको सुनेकी छु, मानिसका २ जातमात्रै छन्, महिला र पुरुष । मलाई त मानिसको विवेकशीलता उसको जात हो जस्तो लाग्छ । उसका स्नेह, प्रेम, बुझाईलाई नै मानवको जात मान्ने गरेकी छु । मनमा प्रश्नको चाङ लाग्छ, कसले बनायो होला धनी–गरिबको धारणा ? कसले बनायो होला यो सानो र ठूलो जात ?

अचम्म लाग्छ, के कोही सानो र कोही ठूलो जातको हुन्छन् होला त ? कति अनौठो लाग्छ, कसैले तिमी सानो जातको हौ भन्दा । तिमीले छोएको पानी चल्दैन भनेको सुन्दा मेरो शरीर पीडाले चिसो भएर आउँछ । फेरि सोच्छु, मेरो मनले नस्वीकार्दैमा वास्तविकता फेरिँदैन । मनमा विद्रोहले जन्म लिन्छ, कतिञ्जेल हामीले मानिस भएर पनि मानिसको जस्तो सम्मानित जिन्दगी बाँच्न नपाउने ? अझै कहिलेसम्म छेकिन्छ हामीलाई भगवानको पवित्र मन्दिरमा जान ? सधैँ यो समाजको सेवा गरेर कतिञ्जेल भोकै बस्ने हामी ? अमूल्य सीप र श्रमदान गरेर वर्षौंदेखि यो समाजलाई टिकाइरहेका हामीले बौद्घिकता नभएको समुदायको बिल्ला कहिलेसम्म भिर्ने ? यी प्रश्न कहिल्यै निको नहुने घाउको खतजस्तै टाँसिएर बसेका छन् यो मनमा ।

हुन त नेपालमा भेदभाव र छुवाछूतविरुद्ध अनेक कानुन बनेका छन्, तर व्यवहार भने विभेद र छुवाछूत जारी छ । मुलुकी ऐन २०२० मा भेदभाव र छुवाछूत गर्न नपाइने कुरा उल्लेख गरिएको थियो । २०४७ सालको संविधान हुँदै २०६३ सालको अन्तरिम संविधानसम्म आइपुग्दा जातीय छुवाछूत अन्त्य गर्ने धेरै कोसिस भएको जस्तो लाग्छ । तर कठै हामीहरू ! त्यो न्यायको ढोकासम्म कसरी पुग्नु ? कसले सम्झने हामीलाई बराबर ? कसले दिने हामीलाई न्याय ?

आज म भन्छु, तपाईंलाई पानी छोएको निहुँमा दलित भनेर कुटपिट गर्ने ती ठूला जातहरूको कथा । जातीय भेदभाव गरेको कारण प्रहरीमा जाँदा न्याय नपाएको व्यथा भन्छु म तपाईंहरूलाई ।

म ९ वर्षकी थिएँ, जतिबेला मलाई ती कथित ठूलो जातको महिलाले धारोमा पानी छोएको निहुँमा कुटपिट गरिन् । म बिरामी परें, मलाई ज्वरो आयो । मेरा हातखुट्टा सुन्निए । म मेरो मनको पीडा पोख्न चाहन्छु, प्रहरीसमक्ष जाँदा पनि मैले न्याय पाइनँ ! ती पीडक महिलालाई प्रहरीले समातेर लग्दा २०० जना गाउँलेले प्रहरी कार्यालय घेरे, उनलाई थुन्न पाइँदै भन्ने नारा लगाउँदै । सबै कथा सुनाउँछु म आज तपाईंलाई ।

मेरो नाम कल्पना विश्वकर्मा हो (नाम परिवर्तित) । मेरो जन्म २०५७ सालमा काभ्रे जिल्लाको सुगम गाउँमा भएको हो । एक दाजु र एक दिदीपछि जन्मेकी म । मेरो अभिभावकको माहिली सन्तान हँु । मेरो बुबा आरनमा काम गर्नुहुन्थ्यो । आर्थिक स्थिति निकै कमजोर थियो हाम्रो । वर्षभरि फलामको काम गरिदिएबापत एक परिवार बराबर एक पाथी अन्न पाउँथ्यौं । हाम्रा एकदमै कममात्रै आवश्यकता पूरा हुन्थे । हामी जसोतसो हुर्किरहेका थियौं ।

मलाई पढ्न एकदम मन लाग्थ्यो । एकदम मेहनत गरेर पढ्थें म । त्यसैले एक कक्षादेखि चार कक्षासम्म जहिल्यै प्रथम हुन्थें । यसरी मेरो बाल्यकाल बितिरहेको थियो । तर मेरो बाल्यकालमा यस्तो मोड आयो जसले गर्दा मेरो जिन्दगीमा धेरै खालका मानसिक उथलपुथल आए ।

यो २०६६ सालको कुरा हो, जतिबेला म ९ वर्षकी थिएँ । कक्षा ५ मा पढ्थें । चैत्र महिना चलिरहेको थियो । पानीको हाहाकार थियो गाउँमा । पानी लिन टाढासम्म जानुपथ्र्याे । एक दिन म धारामा पानी थाप्न गएकी थिएँ । धारामा गाईको खोले बनाउने भाँडामा पानी थापिएको थियो । भाँडा भरिएर पानी पोखिन थालेको थियो । मैले त्यहाँ निकै बेर कुरेँ पानी पोखिएको हेर्दै । पानी लिन कोही नआएपछि मैले त्यो भाँडा हटाएर मेरो गाग्री थापें । त्यसपछि एक गैरदलित महिला आएर एकाएक मलाई पानी छोइदिएको भन्दै ढुङ्गाले जथाभावी हान्न थालिन् । मेरो शरीरका अङ्गबाट रगत आउनेगरी, अनि हातखट्टटा चलमलाउन नसक्नेगरी कुटिन् । म अचेत भएँ ।

पछि मैले यो कुरा आमा–बाबालाई बताएँ । मेरो आमा–बाबा यो घटना हुनुभन्दा केही दिनअघि मात्रै एक दलित संस्थाले गरेको जातीय छुवाछूत र भेदभावविरुद्घ अन्तत्र्रिmया कार्यक्रममा जानुभएको रहेछ । कार्यक्रममा जातीय विभेद र छुवाछूत सामाजिक अपराध हो, कसैले छुवाछूत गरे प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने कुरा सिकेर आउनुभएको रहेछ । म त मात्र ९ वर्षकी थिएँ, के भइरहेको छ भन्ने कुरा मेरो बालमस्तिष्कले बुझ्न सकिरहेको थिएन ।

अत्यधिक पीडाका कारण आँखाबाट आँसुका ढिक्का खसेका थिए मेरा । कति धेरै मानसिक पीडा भएको थियो त्यो घटनाको कारण । मेरो बाबा–आमाले प्रहरीमा जाने कुरा गर्नुभयो । मेरो बालहृदयले पनि सहमति जनायो । त्यति धेरै बुझ्ने उमेर त भएको थिएन मेरो, तर पनि ती महिलाले गलत गरेकी हुन् भन्ने सत्यचाहिँ त्यसबेलै बुझेकी थिएँ । ती महिलालाई सजाय दिनुपर्छ भन्ने लाग्यो मलाई पनि ।

बाबा–आमाले छुवाछूतविरुद्घ चेतनामूलक कार्यक्रम गर्न आएका तिनै दलित अधिकारकर्मीहरूलाई सम्पर्क गर्नुभयो । दलित अधिकारकर्मी, पत्रकार र राजनीतिक नेताहरूको भीड लाग्यो गाउँमा । सबैको सहयोगमा हामी प्रहरी कार्यालयमा ती महिलाविरुद्ध उजुरी गर्न गयौं । उजुरी दर्ता गरेपछि प्रहरीहरू ती महिलालाई लिन गाउँ पुगे । कथित ठूला जातका गाउँलेहरूले ती महिलालाई गिरफ्तार गर्न नदिन धेरै कोसिस गरे । झडपको स्थिति सिर्जना भयो । तर पत्रकारहरूसमक्ष ती महिलाले कुटपिट गरेको कुरा गर्वका साथ सुनाएको भिडियो रेकर्ड गरिएको हुनाले गाउँलेको केही लागेन ।

ती महिलाले घटनाबारे सोध्न पुगेका पत्रकारहरूलाई भनेकी रहिछन्, ‘त्यो सानो जातको केटीले पानी थापेकी भाँडो छोएकीले मैले पिटीदिएकी हुँ ।’ पत्रकारहरूले रेकर्ड गरेको भिडियोमा उनले हामीलाई पशुलाई गरिने प्रयोग गरिने शब्दभन्दा नीच शब्द प्रयोग गरेर गाली गरेकी थिइन् ।

करिब ४ बजेतिर ती महिलालाई प्रहरी कार्यालयमा उपस्थित गराइयो । लामो समय त उनले आफ्नो कर्तुत अस्वीकार गरिन्, तर पत्रकारहरूले उनको स्वीकारोक्ति भएको भिडियो देखाइदिएपछि स्वीकार गर्न करै लाग्यो । खाने, लाउने, खेल्ने, स्वतन्त्रतापूर्वक गाउँमा साथीहरूसँग घुम्दै हिँड्ने अनि पढ्ने उमेरमा म कति ठूलो लडाइँ लडदैथिएँ । के हुने हो भन्ने खुल्दुली भइरह्यो मनमा ।

गाउँका गैरदलितहरूले हामीलाई उजुरी फिर्ता लिन दबाब दिइरहे । म शारीरिक रूपमा झन्झन् कमजोर हँुदै गएँ । मेरो परिवारसँग मेरो उपचार गर्ने खर्चसमेत भएन । न्याय र उपचार दुवै पाउने आसमा मेरो शरीरमा भएको अत्याधिक पीडालाई पनि सहिरहें ।

वातावरण धेरै नै तनावमय भयो । धेरै मानिसको ध्यान खिच्यो त्यो घटनाले । यहाँका मान्छेहरू देख्दा विचित्र लाग्छ मलाई । विश्वासै लागेन उनीहरूमा चेतनाको यति कमी छ भनेर । म त बालिका नै थिएँ । ममाथि हिंसा भएको थियो तर मेरो पक्षमा बोल्ने दलित अधिकारकर्मी, मानवअधिकारकर्मीबाहेक सबै तिनै पीडकको पक्षमा ।

पीडकको पक्षमा करिब ५०–६० मान्छे उपस्थित थिए प्रहरी कार्यालयमा । हामी घर फर्कने समेत स्थितिमा भएनौं । त्यसैले हामीले सहयोग गरिरहेको दलित संस्थाको कार्यालयमा रात बितायौं । भोलिपल्ट हामी फेरि प्रहरी कार्यालय पुग्यौं । त्यहाँ पुग्दा करिब २०० जना गाउँले पीडकलाई छुटाउन आएका थिए । उनीहरूले मेरा बाबालाई घेरेर थर्काउन थाले । दलित अधिकारकर्मीहरूलाई पनि घेरेर धम्क्याए ।

सायद तपाईंलाई विश्वास लाग्दैन होला, त्यहाँ कतिसम्म भएको थियो भनेर । मेरो बालमष्तिस्क त भयभीत भयो कथित ठूला जातका मान्छेहरूका व्यवहार र तर्क सुनेर । उनीहरूले भन्दैथिए, तिमीहरू साना जातका भएर ठूला जातका मानिसको पानी छुन हुन्छ ? गल्ती गरेर उल्टो प्रहरीसम्म आउने कत्रो आँट तिमीहरूको !

कतिसम्म भने प्रहरी प्रमुखले समेत दलित अधिकारकर्मीलाई डलर पचाउन आएका भनेर गालीगलौज गरे । जनतालाई न्याय दिने भनेर पदमा बसेका प्रहरी प्रमुखले समेत किन बुझेनन् जातीयविभेदलाई । कसरी चुक्न सकेका उनी ती जातीयविभेद विरुद्घ बनेका नियम कानुन लागू गर्नमा । कहालीलाग्छ सबै कुरा सम्झिँदा । त्यसपछि मेरो र मेरो परिवारमा कति कष्ट थपिए । म बाँड्न चाहन्छु, तपाईंसँग मेरो जिन्दगीका गाथा ।

हो, तनावै तनावमा बिते हाम्रा परिवारका दुई दिन । हामी दोस्रो दिन पनि घर जान सक्ने स्थिति बनेन । अवस्था झन् डरलाग्दो हुँदै गयो । हामीलाई गाउँलेहरूले डर त्रास देखाइरहे । गाउँ निकाला गर्ने समेत धम्की दिए मेरो परिवारलाई ।

हाम्रो गाउँमा करिब ३५–४० घरधुरी दलितको छ । तर तीन–चार दलित घरधुरीमात्रै हाम्रो पक्षमा उभिए । अरु सबै नै डराए गैरदलितहरूको धम्कीसामु । पहिलेदेखि नै सामाजिक हेपाइ सहँदै आएका दलितहरूलाई कसले भनिदिने अन्याय गर्नुभन्दा अन्याय सहनु पाप हो भनेर । हामीले निडर भएर न्यायका लागि संघर्ष गरिरह्यौं । सामाजिक भेदभावलाई अपराध नसम्झने गैरदलित छिमेकीहरूले ती महिलाले गरेको व्यवहार अपराध हो भन्ने प्रमाणित भएपछि अर्काे रणनीति लिए । उनीहरूले ती पीडक महिलालाई माफी दिन मलाई अनुरोध गरे ।

प्रहरी प्रशासनले पनि मिलेमतोे गरेर घर जान भन्यो, तर हामीले न्याय चाह्यौं । हामीले अन्याय सहेर मिल्न चाहँदैनौ, अपराधीलाई सजाय दिन चाहन्छौं भन्यौं । तर, ती पीडक महिलालाई एक दिन पनि थुनिएन । हामी त्यो महिलालार्य जेल चलान गरिहोस् भन्ने चाहन्थ्यौं ।

यसरी हामी दोस्रो दिन पनि त्यही संस्थामा बस्यौं । निडर हुनु राम्रो होला, न्याय चाहनु पनि राम्रो होला, तर जिन्दगीमा यति धेरै बाध्यता पनि हुँदा रहेछन्, जसले हामीलाई संघर्ष जारी राख्न रोक्दा रहेछन् । म यस्तै सोच्छु अहिले । मेरा बाबाले साह्रै चिन्ता व्यक्त गर्नुभयो– ‘यो गाउँ छोडेर म कहाँ जाउँ । उनीहरूले रिसाएर काम नदिए हामी कसरी बाँच्ने ? अन्त कहाँ गएर के काम गर्ने ?’

गाउँमा सम्बन्ध बिग्रने स्थिति देखियो । बाबा र मैले सल्लाह ग¥यौं । त्यो बेला मैले सोचें, म किन जन्मिएँ होला मेरो परिवारलाई दुःख दिन ? किन भनें होला मैले त्यो घटनाबारे । सहेको भए मेरो परिवार यति धेरै कष्टमा पर्दैन थियो होला ।

लक्ष्मीप्रसाद देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ जातले होइन’ भनेको मलाई हो जस्तो लाग्थ्यो । तर यहाँ त मानिस जातले ठूला हुँदा रहेछन् । ठूला जात भनेपछि उनीहरूले जे गरेपनि हुने रहेछ । यस्तै–यस्तै सम्झेर दलित संस्थाका व्यक्तिहरूलाई थाहै नदिई हामी गाउँ गयौं । मेरा बाबाले गाउँ विकास समितिमा गएर मिलापत्रमा हस्ताक्षर गर्नुभयो । बाहिरबाट हेर्दा लाग्नसक्छ, कसरी मिलापत्र गर्न सकेको ? तर कठै, मेरो बाबाका निधारमा देखिएका ती चिन्ताका रेखाको बयान गर्ने मसँग कुनै शब्द भइदिएको भए म आज भन्ने थिएँ, किन उहाँले न्यायको बाटोबाट आफ्नो मुन्टो फर्काउनुभयो भनेर । तर मसँग उहाँको पीडालाई बयान गर्ने उपयुक्त शब्द नै छैनन् । सायद भविष्यमा आइपर्ने द्वन्द्वको सामना गर्ने आँट गर्न सक्नुभएन उहाँले ।

मिलापत्र गरेपछि पनि स्थिति पहिलेजस्तो रहेन । हामीसँग कोही बोलेनन् । आफ्नै समुदायका छिमेकीले पनि ‘मुखियाहरूसँग जोरी खोज्नेहरू’ भनेर हेलाँ गरे । कथित सानो जातको कारणले जन्मेदेखि सामाजिक भेदभावमा पिल्सिएको मेरा परिवार अरु धेरै प्रकारका भेदभावमा परे ।

मेरो अन्तिम परीक्षा नजिकिँदै थियो । त्यो घटनापछि शारीरिक र मानसिक अस्वस्थताको कारण म स्कुल जान सकिनँ । जसोतसो परीक्षामा सहभागी भएँ । म फेरि पनि प्रथमै भएँ सामाजिक अपहेलनाको वातावरणबीच पनि । मुखिया परिवारलगायत गैरदलितले मात्रै होइन, दलित परिवारसँगै आफ्नै साथीभाइले गरेको विभेदपूर्ण व्यवहार सहँदै मेरो परिवार अगाडि बढिरह्यो ।

गाउँलेहरूले मुख मोडेपछि मेरा बाबाले आरनको काम छाडेर घर बनाउने काम गर्न थाल्नुभयो । ती घटना सम्झिँदा असह्य पीडा हुन्छ, तैपनि मैले पढाइलाई प्राथमिकता दिएँ । यसरी म कक्षा नौसम्म प्रथम छात्रा रहेँ । २०७२ सालमा ७९.१० प्रतिशत ल्याएर एसएलसी परीक्षामा मेरो ब्याचमा दोस्रो हुन सफल भएँ । म मेरो सफलतामा खुशी भएँ, तर सफलतापछि मन भने दुःखी भइरह्यो । किनभने म नर्स पढ्न चाहन्थें । तर मेरो परिवारसँग पैसा थिएन । भूकम्पमा परेर मेरो बाबाको ढाड भाँचियो । दुःखै दुुःखको सागरमा हुर्केको हाम्रो जिन्दगीमा फेरि अर्को दुःख आइप¥यो ।

मैले काभ्रेकै एउटा प्रख्यात नर्सिङ्ग क्याम्पसमा छात्रवृत्तिमा नाम निकालें । छात्रवृत्तिमा नाम निकाले पनि २ लाख रूपैयाँ तिर्नुपर्छ भनेपछि मैले त्यहाँ अध्ययन गर्न सकिनँ । ममा निराशा छायो, त्यतिखेर लाग्यो गरिबी र सानो जातको हुनु सबैभन्दा ठूलो अपराध हो । म अरु कुनै नर्सिङ्ग क्याम्पसमा, पैसा तिर्नु नपर्ने ठाउँमा पनि भर्ना हुन सक्थें । तर महिनाभरि खर्च दिने मेरा बाबाले काम गर्न नसक्ने हुनुभएपछि मेरा सपना भताभुङ्ग भए । एसएलसीमा राम्रो नम्बर ल्याएर पास भएकीले गाविसबाट ६० हजार रूपैयाँ पाएँ । त्यही पैसाले मैले मानविकी संकायमा एक वर्षसम्म पढें । अहिले म १२ कक्षामा पुगेकी छु, तर पैसा नभएकै कारण पढ्न जान पाएको छैन ।

म १७ वर्षकी मात्र भएँ । तर मेरो परिवारको लागि भनेर आज टाढा बसेर एउटा फाइनान्समा काम गर्दैछु । आफ्नो पढाइका लागि, परिवारका लागि खर्चको जोहो गर्छु । क्याम्पसमा पढ्न जान नपाए पनि घरमै बसेर पढ्ने सोच बनाएकी छु । पढ्ने, लेख्ने र हिँड्डुल गर्नुपर्ने कलिलो उमेरमा म आफूलाई तीस वर्षकी जस्तो लाग्छ । जिम्मेवारीको बोझ र अधुरा सपनाको भारी मनमा भएकाले होला, म अहिले नै बुढी भइसकेँ जस्तै लाग्छ ।

अहिले काम गरेर, केही पैसाको जोहो गरेर काम गर्दै भएपनि नर्सिङ्ग पढ्ने सपना अझै छ यो मनमा । यो समाजले हामीलाई गरिब र पिछडिएको भने पनि, अगाडि बढेर समाज परिवर्तनका लागि काम गर्ने चाहना तीव्र छ मभित्र । म कसरी भुल्न सक्छु र, समाजका ती कथित उपल्लो जातका मानिसहरूले दिएका पीडा ! ती घटना सम्झिँदा मन झसंग भएर आउँछ ।

यो कथा मेरो मात्र पनि होइन । हाम्रो समग्र दलित समुदायले भोगेको समस्या हो यो । करिब १३ प्रतिशत जनताले भोगेको समस्याबारे राज्य र कथित उपल्ला जातका मानिसले नसोच्नु धेरै नै विडम्बनाको कुरा हो । यो समाजले हामीलाई जति हेला गरे पनि, जति पछाडि पारे पनि म हार्न चाहन्नँ । मेहनत गरेर, राम्रो काम गरेर अगाडि बढ्ने सपना साँचेकी छु । मलाई थाहा छ, मेरा जिन्दगीमा समस्या छन् । ती समस्याले मलाई धेरैजसो पीडा र निराशा दिने गर्छन्, तर म थाक्न चाहन्नँ ।

मनभरि थरीथरीका प्रश्न खेल्छन् ः किन गरियो हामीलाई यस्तो अपहेलना ? हामीले के नराम्रो गरेका थियौं र, हामीलाई यसरी विभेदको शिकार बनाइयो ? किन हाम्रा आवाज अझै पनि गुम्सिएका छन् ? दलित समुदायमा मात्र होइन, गैरदलित समुदायमा पनि चेतनाको कमी देखेकी छु । यो समस्या दलितहरूको मात्रै हुन सक्दैन, यो त गैरदलितको समस्या बेसी हो । यो समस्या सिङ्गो राज्यको हो । तर पढेलेखेका, आफूलाई बौद्घिक श्रेणीमा राख्नेहरूले पनि यो समस्या अन्त्य गर्न पहल गर्नुपर्छ । मेरो अनुभवले त यही भन्छ ।

जति बेला मेरो परिवार न्याय चाहन्थ्यो, ती गैरदलित नै थिए, जसले जातीय विभेदलाई समस्याको रूपमा हेरेनन्, न्यायको समस्याको अर्थमा बुझेनन् । उनीहरूले विभेद गर्नुलाई हकअधिकार ठाने । अब हाम्रो आन्दोलनले, हाम्रो आवाजले निर्णय गर्नुपर्छ, हामी विभेदको अन्त्य गर्न चाहन्छौं भनेर । यस्तै यस्तै सोचेर हिँडेकी छु म आजभोलि । केही वर्षको संघर्षपछि आफ्नोे समुदायको हितको काममा लाग्ने विचार छ मेरो । मैलेजस्तै अरु बालबालिकाले यस्तो हिंसात्मक व्यवहार सहन नपरोस् भनेर धेरै काम गर्नु छ मैले । तर कसरी गर्छु ? के गर्छु ? थाहा छैन ।