0

अन्तरजातीय विवाह जात–व्यवस्था नष्ट गर्ने उपाय हो ?

हिन्दूसमाज र जात–व्यवस्था
हिन्दू समाज एकैसाथ १६औँ र २१औँ शताब्दीको अन्तरविरोधमा बाँचिरहेको छ । यसले एकातिर जात–व्यवस्था, सजातीय विवाह, छुवाछूत, उँचनीच र परम्परालाई संरक्षण गर्नमा गौरव गर्दछ भने अर्कोतिर लोकतन्त्र, समानता, प्रेम विवाह र आधुनिकताको पनि दलिल दिन्छ ।

बाबासाहेब डा. भीमराव अम्बेडकरका अनुसार “हिन्दू समाज एउटा मिथक मात्र हो । हिन्दू नाम पनि विदेशी नाम हो । यो नाम मुसलमानले सवर्णलाई आफूभन्दा अगल राख्नका लागि दिएको नाम हो । मुसलमानले भारतबर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएको कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्दको उल्लेख भएको पाइँदैन (अम्बेडकर सन् २०१६) ।” त्यसैले हिन्दू समाज नामको कुनै चीज छँदै छैन । हिन्दू समाज विभिन्न जातजातको समूह हो । प्रत्येक जात आफ्नो जातीय अस्तित्वबाट परिचित छन् । जातिवादी सोच, मानसिकता र मनोविज्ञान आधुनिक समयमा पनि बलवान् तथा प्रभुत्वशाली छन् । जातले केवल जातमात्र पाल्दैन उँचनीचको भावना पनि पाल्छ । पवित्र अपवित्रको संस्कार मान्छ । मानव समुदायबीचमा अलगावको बीउ रोप्छ र पृथक छिमेकपनको निर्माण गर्छ ।
नेपालमा खासगरी मधेशमा जातप्रथाको विषयमा गहिरिएर मानवशास्त्रीय ढ¨बाट अध्ययन अनुसन्धान भएको जस्तो लाग्दैन । अध्ययन भएको हो भने जात–व्यवस्थाको विषयमा के कस्ता जानकारी प्राप्त भएका छन् भन्ने सम्बन्धमा तथ्यगत कुरा तथ्याङ्क विभागमा नै थन्किएको छ । चाहिने जति प्रकाशमा आएको देखिन्न । विचारणीय पक्ष के हो भने लाखौं खर्च गरेर प्राप्त भएका यी तथ्यलाई सही ढंगबाट प्रकाशित गर्ने चलन पनि छैन । यो रुढिवादी हिन्दू पण्डित तथा पुरोहितको कल्पनाभन्दा बाहिरको कुरा हो । उनीहरू जात–व्यवस्थालाई स्वाभाविक र हानिरहित मान्दछन् र त्यसमाथि गर्व गर्दछन् । यसमा कुनै समस्या देख्दैनन् । सार्वजनिक रूपमा यस विषयमा खुलेर बहस गर्न चाहँदैनन् । उनीहरूलाई के डर छ भने बाहिरी संसारमा हिन्दू सवर्णभित्रको अमानुषीकरण, दयनीय र विषैली सामाजिक व्यवस्थाको पोल नखुलिहालोस् । यस्तो अवस्थामा जात–व्यवस्थाको जटिलता र रहस्यको विषयमा इतिहासका विद्यार्थी तथा आजको युवा पुस्ताले आफ्नो कल्पनाशक्ति र व्यावहारिक ज्ञानमा आधारित भएर आवश्यक अध्ययन अनुसन्धानको ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । तथ्यलाई समाजको अगाडि ल्याउनैपर्छ ।

जातीय समस्या व्यावहारिक तथा सैद्धान्तिक रूपमा जेलिएको विकराल समस्या हो । यो समस्या जति व्यावहारिक रूपमा जेलिएको छ त्यति नै सैद्धान्तिक रूपमा इन्द्रजालजस्तो रहस्यमय छ । यसरी बाहिरबाट हेर्दा जात–व्यवस्था एउटा स्थानीय समस्याजस्तो देखिए पनि यसको परिणाम भयावह छ । यसै सन्दर्भमा डा. अम्बेडकर लेख्छन्,“जबसम्म हिन्दू समाजमा जात–व्यवस्था विद्यमान रहन्छ, तबसम्म हिन्दूमा अन्तरजातीय विवाह तथा बाह्य मान्छेसँग समागम सम्बन्ध हुन सक्दैन । यदि हिन्दू पृथ्वीको अन्य भागमा गयो भने जातपातको समस्या विश्वको समस्या भइहाल्छ (अम्बेडकर २०१६) ।” जात–व्यवस्था आज स्थानीय समस्या रहेन । यसको विश्वव्यापीकरण द्रुत गतिमा भइरहेको छ । हिन्दू समाज, खासगरी सवर्णहरू जातीय मनोविज्ञान, सोच र चिन्तन आफूसँगै लिएर संसारभरि फैलिँदै छन् । संसारभरि जातीय संगठन निर्माण गरिरहेका छन् । संसारभरि मूर्तिपूजा गर्न थालेका समाचार पढ्न पाइन्छ ।

जात–व्यवस्थाको विषयमा विद्वान्हरू इमाईल सेनार, जोन सि. नेसफील्ड, सर एच. रिजले र डा. एस.भि. केतकरलगायतकाले आ–आफ्ना दृष्टिकोण र परिभाषा दिएका छन् । डा.एस.भि. केतकरले दिएको जातको परिभाषा अध्ययन योग्य छ । उनले दक्षिण भारतको परिवेशमा जातको परिभाषा यसप्रकार गरेका छन्–
“दुई लक्षण भएको सामाजिक समूह (क) उनीहरूको सदस्यता त्यो व्यक्तिसम्म सीमित हुन्छ जुन जन्मबाट निर्धारित हुन्छ अथवा यसरी जन्म लिने सदस्यहरू सामिल हुन्छन्, (ख) कठोर सामाजिक कानुनद्वारा सदस्य आफ्नो जातभन्दा बाहिर विवाह गर्न वर्जित हुन्छ (केतकर, कास्ट : ४) ।”

यस परिभाषालाई गहिरिएर विचार गर्दा जात–व्यवस्थाको सम्बन्धमा विवेचनात्मक तथा सटीक दृष्टिकोण देखिन्छ । केतकरले जात–व्यवस्थाको विश्लेषण जात–व्यवस्थाको आधार संरचनाबाट गरेको छ । केतकरले रोटीबेटीको व्यवहारमा भेदभावको विचारलाई प्रमुख रूपमा उठाएका छन् । जात–व्यवस्था मूल रूपमा रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । त्यसैले जात–व्यवस्था एउटै सिक्काका दुई पाटा हुन । बेटी व्यवहारमा पाबन्दीको मतलब यसले सामाजिक परिधिलाई संकुचित गर्छ । जातको चौखटभित्र सामाजिक अन्तरघुलनलाई परहेज तथा निषेध गर्छ । सामाजिक परिधिलाई संकुचित गर्नुको तात्पर्य अन्तरजातीय खानपान र अन्तरजातीय विवाह सम्बन्धलाई धार्मिक प्रभाव रहेको जात–व्यवस्थालाई वैधानिकता प्रदान गर्नु हो ।

दक्षिण एसिया, त्यसमा पनि मूलतः भारत र नेपालमा जात–व्यवस्थाको मूल चरित्र रोटीबेटी सम्बन्धमा देख्न सकिन्छ । रोटी भनेको खानपान अथवा छुवाछूत हो भने बेटी भनेको रगतलाई आफ्नो जातभित्रै संकुचित गर्नु हो । मधेशमा विभिन्न जातजातिका समुदाय बसोबास गर्छन् । उनीहरूको सतहमा सांस्कृतिक एकता देखिन्छ । सांस्कृतिक एकता सजातीय समाजको मापदण्ड हो । सांस्कृतिक एकताभित्र जातीय विषमता नै जात–व्यवस्थाका लागि नयाँ समस्या सिर्जना गर्छ । यसलाई संस्थागत गर्ने काम बेटी व्यवहारबाट हुन्छ । बेटी व्यवहार सजातीय विवाह प्रथाबाट हुनेगर्छ । विवाह सजातीय भए पनि सहगोत्र भने हुँदैन ।

सजातीय बनाम बहिर्गोत्र विवाह
हिन्दू समाजमा जात–व्यवस्थाको अर्थ समाजलाई कृत्रिम रूपमा विभाजन गर्नु हो जुन रीतीरिवाज, विवाह–शादी आदि भिन्नतामा बाँधिएको हुन्छ । जात–व्यवस्थाको मूल चरित्र सजातीय विवाह नै हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने सजातीय विवाह किन हुन्छ ? यो प्रश्नको उत्तर पत्ता लगाउन सकियो भने जात–व्यवस्थालाई व्यावहारिक रूपबाट यसको उत्पत्तिको जरो पता लगाउन सजिलो हुन्छ ।

सवर्ण समाज आदिम समाजमध्येको एउटा समाज हो । आधुनिक समयमा पनि यसको प्रभाव समाजमा हावी छन् । विवाहको इतिहास हेर्दा आदिम समयमा पनि बहिर्गोत्र विवाहको प्रचलन थियो । युग परिवर्तनसँगै बहिर्गोत्र विवाहमा परिवर्तन भएको पाइँदैन । हिन्दू समाजमा आज पनि बहिर्गोत्र विवाह प्रथा प्रचलनमा छ । समाजमा सपिंड विवाह प्रथामा मात्र प्रतिबन्ध छैन बल्कि सगोत्र विवाह पनि अपवित्र मानिन्छ । आधुनिक समय सँगसँगै अन्तरजातीय विवाह केही हदसम्म स्वीकार भए पनि बहिर्गाेत्र विवाह कठोर रूपमा पालन गरिन्छ । सहगोत्र विवाह गरेको पाइएमा कठोर सजायको भागिदार हुुनुपर्छ ।

डा. अम्बेडकरका अनुसार सजातीय प्रथा हिन्दू समाजका लागि विदेशी प्रथा हो (अम्बेडकर सन् २०१६) । हिन्दू समाजमा बहिर्गोत्र विवाह एउटा विधानको रूपमा स्थापित छ र यसको उलंघन मुश्किल मात्र छैन, नामुमकिनै छ । जातभित्रको विवाह प्रथाको बावजुद गोत्रबाहिरको विवाह प्रथालाई कडाइपूर्वक लागू गरिन्छ । सगोत्र विवाह प्रथाको दण्ड सजाय अन्तरजातीय विवाह प्रथाभन्दा कठोर विधान हुन्छ । मतलब सगोत्र विवाहको कल्पना पनि गर्न सकिँदैन । यही बिन्दुमा आएर जात–व्यवस्थालाई नष्ट गर्न सकिन्छ । बहिर्गोत्र विवाहको विधान बनाइयो भने जात–व्यवस्थाको आधारै नष्ट हुन्छ । कारण बहिर्गोत्रको अर्थ परस्पर विलय हो । बेटी व्यवहारबाट मानव सम्बन्धमा स्नेह, करुणा, प्रेमको विकास गर्न सकिन्छ ।

बहिर्गोत्र विवाह विधानसँग जात तथा सजातको विवाहको विधान पनि जोडिएको छ । बहिर्गोत्र समाजमा सजातीय विवाह विधानको पालन सहज रूपमा सम्भव छ जुन जात–व्यवस्थाको मूल हो । यही मूल जात–व्यवस्थाको एउटा गम्भीर समस्या हो । बहिर्गोत्र विवाहको विधानको कारण सजातीय विवाह सम्भव भएको हो । अन्तरजातीय विवाह र बहिर्गोत्र विवाहको मूल उद्देश्य एक आपसमा विलय नै हो । बहिर्गोत्र विवाहको मूल चरित्र अन्तरजातीयसँग मिल्छ । यही माध्यमबाट जात–व्यवस्थालाई नष्ट गर्न सकिन्छ । समाजमा सामाजिक अन्तरघुलनको यो प्रक्रियालाई सामाजिक सुधारको माध्यमबाट गैर–बराबरीको सम्पूर्ण मानकलाई रूपान्तरण गर्न सकिन्छ । जात सामाजिक उत्पत्ति हो । जैविक दुर्घटनाको रूपमा जातको उत्पत्ति भएको हो । यो केवल दुर्घटना हो तर जात अफवाह मात्र होइन सामाजिक वास्तविकता पनि हो । दुर्घटनाको रूपमा प्राप्त प्रतिष्ठालाई हामी सबैले त्याग्नुपर्छ । यसको धार्मिक प्रभावलाई पनि अस्वीकार गर्नुपर्छ । हामी त्यो मन्दिरमा किन जाने, जहाँ दलितलाई जान दिइँदैन ? यो कस्तो भगवान हो, जसलाई मुनुष्यदेखि घृणा छ ?

हिन्दू समाजको सुधार र अन्तरजातीय विवाह
जबसम्म हिन्दू सामाजिक व्यवस्था रूपान्तरण हुँदैन तबसम्म आमूल रूपमा सांस्कृतिक परिवर्तन गर्न सकिँदैन । समाजमा जात–व्यवस्थाको जगमा कुनै रचनात्मक निर्माण कार्य सम्भव छैन । जात–व्यवस्थाको जगमा राष्ट्र निर्माण गर्न पनि सकिँदैन । कारण जात–व्यवस्था राष्ट्रविरोधी विचार हो । यसको जगमा तपार्इं नैतिकताको पनि निर्माण गर्न सक्नुहुन्न । समानता, भाइचारा, न्याय र स्वतन्त्रताजस्ता मानवमूल्य जात–व्यवस्थाको जगमा निर्माण असम्भव प्रायः नै छ । जात–व्यवस्था रक्त–सम्बन्धको परिधिमा मात्र संकुचित हुन्छ । रक्त–सम्बन्धको हित नै सर्वोपरि हित कहलिन्छ । त्यसो भए हिन्दू समाजलाई कसरी सुधार गर्न सकिन्छ त ? जात–व्यवस्थालाई कसरी नष्ट गर्न सकिन्छ त ? यस सन्दर्भमा अन्तरजातीय विवाहको भूमिका कस्तो हुन्छ ? हिन्दू समाज जात–व्यवस्थामा मात्र विभाजित छैन । जातभित्र पनि उप–जात छन् । उप–जातभित्र पनि सोपानक्रम निर्धारण गरिएको छ ।

जात–व्यवस्थाका दुई पक्ष हुन्छन् । पहिलो पक्ष मनुष्यलाई अलग अलग समुदायमा विभाजन गर्नु हो । दोस्रो पक्षमा अलग अलग समुदायलाई सोपानक्रममा दर्जा निर्धारण गर्नु हो । प्रत्येक जात तथा उपजात आपूm अर्को कुनै जातभन्दा श्रेष्ठ भएकोमा गर्व गर्छन् । यसको चरित्र ‘उपर चाटो, निचे काटो’को व्यवहारमा आधारित हुन्छ । प्रत्येक जातले आपूmभन्दा माथिको जातलाई चापलुसी गर्ने र आपूmभन्दा तलको जातलाई दुव्र्यवहार तथा तल्लो स्तरको ठान्ने मनोविज्ञान बोकेको हुन्छ ।

जात–व्यवस्थाको सोपानक्रममा बाह्य लक्षणको रूपमा सामाजिक र धार्मिक अधिकारको पनि श्रेणीकरण गर्नु हो । सोपानक्रमलाई शास्त्रीय रूपमा अष्टाधिकार संस्कार पनि भनिन्छ जहाँ जुन जातको दर्जा जति माथि हुन्छ त्यति नै बढी सामाजिक तथा धार्मिक अधिकार प्राप्त हुन्छ । जुन जातको दर्जा जति तल हुन्छन् त्यति नै कम अधिकार उसलाई प्राप्त हुन्छन् । मतलब अधिकार जति सवर्णको भागमा र कर्म जति दलित-बहुजनको भागमा पर्छ । जात–व्यवस्थाको यस्तो सोपानक्रमले गर्दा जात–व्यवस्थाको विरुद्धमा सामूहिक मोर्चा खोल्न प्रायः असम्भव बनेको छ । हरेक जातले एक अर्कालाई घृणा गर्ने संस्कृतिको विकास गरेका छन् । यसले समाजलाई खण्ड खण्डमा विभाजन गरेको छ । त्यसैले खण्डित मनोविज्ञानले पाखण्डलाई मलजल गर्छ ।

जात–व्यवस्थालाई समाप्त गर्ने एउटा अर्को कार्यक्रम नेपालमा सञ्चालन भएको देखिन्छ । त्यो हो अन्तरजातीय खानपानको आयोजनाबाट जात–व्यवस्थालाई समाप्त पार्ने । यसलाई सहभोज भनिन्छ । सहभोज कार्यक्रम हिन्दू समाजमा विभिन्न कालखण्डमा हुँदै आएको छ । यो विषयमा समान्य अनुभव कस्तो छ भने यो जातको भावना र जात–बोधलाई समाप्त गर्ने सवालमा सफल भएको छ । सहभोजले अन्तरजातीय खानपानको निषेधलाई थोरै भए पनि तोडेको देखिन्छ तर जात–व्यवस्थाको मानसिकतालाई हल्लाउन सकेको देखिँदैन । जात–व्यवस्था समाप्त गर्न अन्तरजातीय विवाह नै सबभन्दा उपयुक्त उपाय हो । रक्त–सम्बन्धले मात्र रिश्ताको भावना पैदा गर्न सक्छ । स्नेह र प्रेमको भावनाको विकास गर्न सक्छ । रक्त–सम्बन्धमा करुणाको भाव उत्पन्न हुन्छ ।

जबसम्म सजातीयताको भावनालाई सर्वोच्च स्थान दिइन्छ तबसम्म जात–व्यवस्थाबाट विकसित पृथकता अथवा परायापनको भावनालाई नष्ट गर्न सकिँदैन । हिन्दू समाजमा अन्तरजातीय विवाह सामाजिक जीवनमा आमूल रूपान्तरण ल्याउन सक्छ । गैर–हिन्दूमा अन्तरजातीय विवाह त्यति आवश्यक छैन किनभने गैर–हिन्दू समाजमा सम्बन्ध सुसंगठित हुन्छ र विवाह भन्ने कुरा एक सामान्य घटना भएर जान्छ । तर हिन्दू समाजमा मानव सम्बन्ध छिन्न–भिन्न छ । सम्बन्धलाई मानवीय बनाउन अन्तरजातीय विवाह बाध्यकारी शक्तिको रूपमा स्थापित हुन सक्छ । जात–व्यवस्थालाई नष्ट गर्न अन्तरजातीय विवाह अनिवार्य सर्त हो । रक्त–सम्बन्ध दुनियाँमा सबभन्दा शक्तिशाली र प्रभावकारी सम्बन्ध हो । यसका लागि अन्तरजातीय विवाह नै प्रमुख र निर्विकल्प गोरेटो हो ।

जात–व्यवस्था नष्ट गर्न जात–विलयजस्तो उपायका अतिरिक्त अरु कुनै उपाय प्रभावकारी सिद्ध हुन सक्दैन । सामाजिक अत्याचारको तुलनामा राजनीतिक अत्याचार केही पनि होइन । जबसम्म समाजमा असमानता रहन्छ राजनीतिमा पनि असमानता हुन्छ । राजनीति समाजको दर्पण हो । समाजमा जात छ त्यसैले राजनीतिमा पनि जात छ । सामाजिक सुधार राजनीतिक सुधारको प्रमुख सर्त हो । समाजको प्रतिविम्ब राजनीतिमा पनि पर्छ । कारण जुन कुवाको पानी हामीले खाएका छौँ त्यही कुवाको पानी राजनीतिक नेतृत्वले पनि खाएको छ । समाजभन्दा पृथक् राजनीतिक नेतृत्व हुन सक्दैन । व्यक्तित्व निर्माणमा समाजको प्रमुख तथा प्रभावकारी भूमिका हुन्छ ।

रोटीबेटीको सम्बन्ध जब सामान्य व्यवहार बन्छ तब जात–व्यवस्था नष्ट हुन्छ । तर अधिकांश हिन्दू रोटीबेटीको सम्बन्ध जातको चौखटभन्दा बाहिर बनाउन चाहँदैनन् ? रोटीबेटीको सम्बन्ध आज पनि किन लोकप्रिय हुन सकेको छैन त ? कारण रोटीबेटीको सम्बन्ध हिन्दू धार्मिक आस्थाको विरुद्धमा छ जसलाई हिन्दूले अपवित्र मान्छ । यस सन्दर्भमा डा. अम्बेडकर भन्छन्, ‘जात कुनै पर्खालको इँटाजस्तो वा काँडेतारजस्तो छैन जसले हिन्दूलाई मेलमिलाप गर्नबाट रोक्छ’ (अम्बेडकर सन् २०१६) । जात–व्यवस्था मानसिक धारणा हो । मानसिक स्थिति हो । त्यसैले जात–व्यवस्थालाई नष्ट गर्नु भनेको भौतिक रुकावट होइन । यो वैचारिक तथा मानसिक रूपान्तरणको विषय हो ।

हिन्दूशास्त्रले मान्छेको मस्तिष्कलाई नियन्त्रण गरेको छ । हिन्दूशास्त्रलाई अस्वीकार नगरेसम्म मस्तिष्क स्वतन्त्र हुन सक्दैन । मस्तिष्कको विकास नै मानव अस्तित्वको अन्तिम उद्देश्य हुनुपर्छ । मस्तिष्कको विकास भनेको वस्तुलाई तर्कको आधारमा छनौट गर्नु हो । यो कुरा मानव सम्बन्धका सबै पक्षमा लागू हुन्छ ।

जात–व्यवस्था हिन्दू धर्मसँग जोडिएको विषय हो । हिन्दू समाजले जातपात मान्नुको मुल कारण उनीहरू अत्यधिक धार्मिक हुनु हो । जात–व्यवस्था मान्नुमा मान्छे दोषी छैन धर्म र धर्मशास्त्र दोषी छन् । तिनकै कारण मान्छे जातपात मान्न बाध्य छन् । यसबाट प्रस्ट हुन्छ, जात–व्यवस्थालाई नष्ट गर्न जातपात मान्ने व्यक्तिसँग मोर्चाबन्दी गर्नुभन्दा पनि हिन्दूशास्त्रलाई व्यावहारिक रूपमै अस्वीकार गर्नुपर्छ । हिन्दूशास्त्रले नै मनुष्यलाई जातपातको शिक्षा प्रदान गरेको छ । अन्तरजातीय विवाह र अन्तरजातीय खानपिनका लागि कुनै जात समूहलाई दोष दिनुभन्दा हिन्दूशास्त्रबाट मान्छेको आस्था र विश्वासलाई हटाउनुपर्छ । शास्त्रसत्तालाई विरोध नगरीकन जात–व्यवस्थालाई नष्ट गर्न सकिँदैन । जात–व्यवस्थामाथि धार्मिक प्रभावलाई हटाउन रक्त–सम्बन्धमा रूपान्तरण अनिवार्य सर्त हो । रक्त–सम्बन्धमा रूपान्तरण अन्तरजातीय विवाहबाट मात्र सम्भव छ ।

मान्छेले तबसम्म आफ्नो आचरणमा सुधार गर्दैन जबसम्म उसले शास्त्रको पवित्रतामा विश्वास गरिरहन्छ । मान्छेको आचरण शास्त्रबाट निर्देशित छ । विवाह धर्मशास्त्रको प्रभावबाट मुक्त हुनुपर्छ । यसको लागि दलित÷बहुजनको नेतृत्वमा सामाजिक सुधारको आन्दोलनको शुरुवात गर्नुपर्छ । आन्दोलनको मुख्य उद्देश्य प्रत्येक महिला र पुरुषलाई हिन्दूशास्त्रको बन्धनबाट मुक्त गराउने हुनुपर्छ । शास्त्रद्वारा प्रतिष्ठापित हानिकारक धारणाबाट मस्तिष्कलाई मुक्त गर्नुपर्छ । त्यसपछि प्रत्येक महिला पुरुषले अन्तरजातीय खानपिन र अन्तरजातीय विवाहको आयोजन गर्न थाल्छन् ।

सामाजिक सुधारको बाटो राजनीतिक सुधारभन्दा चुनौतीपूर्ण हुन्छ । यो आन्दोलनमा मित्रभन्दा आलोचक र शत्रु बढी हुन्छन् । यसले मान्छेको मन र आत्मालाई शास्त्रको प्रभावबाट मुक्त गर्नुपर्छ । मन र आत्माको मुक्ति जनताको राजनीतिक विस्तारका लागि पहिलो आवश्यकता हो । अन्तरजातीय विवाहलाई धार्मिक प्रभावबाट मुक्त गर्नुपर्छ । विवाह समारोहमा धार्मिक संस्कारलाई अस्वीकार गर्नुपर्छ । हिन्दूशास्त्रको जगमा निर्माण भएको पितृसत्तालाई चुनौती दिन सक्नुपर्छ । पण्डित पुरोहितलाई बहिष्कार गर्नुपर्छ । सवर्ण जातीय पितृसत्ताको सम्पूर्ण अवशेषलाई नष्ट गरी अन्तरजातीय विवाहलाई अभियानको रूपमा लागू गर्नुपर्छ । राजनीतिक तथा सामाजिक अभियन्ता रामरिझन यादवले स्वयंबाट सुधारको जुन अभियान सञ्चालन गर्नुभएको छ त्यो स्वागतयोग्य छ । अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको दिन आफ्नो छोरी शिखाकिरणको अन्तरजातीय बिहेको आयोजन नितान्त गैरधार्मिक विधिबाट गरिरहनुभएकोमा हार्दिक शुभकामना तथा बधाई ।

लेखक सामाजिक अभियानकर्ता हुन् । अम्बेडकरी मुभमेन्ट विचारको नजिक छन् । माथि उल्लेखित विचार लेखकको निजी विचार हो ।

0

पृथ्वीनारायण राष्ट्रनिर्माता होइनन्

नेपालमा राज्य, राष्ट्र र देश भनेको एउटै हो भनेजसरी पञ्चायती व्यवस्थाले प्रशिक्षण गरेकाले पनि धेरै ठूलो भ्रमले दिमागहरूमा रजगज गरिरहेकै छ । राज्य (स्टेट) भनेको निश्चित वर्गका मानिसले अरु मानिसलाई आफ्नो उद्देश्यअनुरूप चल्न बाध्य पार्न गठन गरिएको अस्त्र/शस्त्रयुक्त संगठनको समग्र रूप हो ।

राष्ट्र वा राष्ट्र उन्मुखता (नेसन अर नेसनालिटिज) चाहिँ खास मानव समूहको लामो ऐतिहासिक यात्रामा निर्मित साझा भौगोलिक, आर्थिक, सांस्कृतिक, भाषिक र मनोवैज्ञानिक अपनत्वसहितको गौरवभाव हो । अर्थात्, मौलिक सभ्यता हो । देशचाहिँ जनता र राज्य भएको निश्चित भूगोल हो । त्यसैले देश बनाउन खास भूगोलमा दमनकारी राज्यबाट जनतालाई काबुमा राखे पुग्छ । तर, राष्ट्र बनाउन लामो ऐतिहासिक जनताबीचको स्वेच्छिक सहकार्यबाट गुज्रनुपर्छ । नेपाल करिब तीन हजार वर्षदेखि फरक–फरक सामाजिक मानव समूहहरू एकआपसमा अन्तक्र्रिया गर्दै गरेको भूगोल हो । एकीकरण भनेको स्वेच्छिक एकताको विस्तृत भाव हो ।

नेपालमा एकीकरणको विषयलाई नेपालको भूमिभित्र बस्ने विविध मानव सभ्यताको स्वेच्छिक एकताको रुचिबाट हेर्ने कि, जबर्जस्ती एउटा सभ्यताको शासनमुनि अरु सभ्यताहरू बस्न बाध्य पार्ने शैन्य प्रक्रियाबाट हेर्ने ? राजतन्त्र नै नरहेको नेपालमा अब त यस विषयमा छलफल मैत्रीपूर्ण पक्कै हुन सक्छ । राजा पृथ्वीनारायण र नेपाल देशको निर्माणलाई एकीकरण हो कि राज्य विस्तार ? उनी राजा हुन् कि राष्ट्रनिर्माता भन्ने विषयमा पनि पूर्वाग्रहरहित भएर छलफल गर्नु उचित हुनेछ ।

 संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौँ कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए । दोस्रो, बल प्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै होइन ।

इतिहासमा सबैतिर बल प्रयोग गरेरै राज्य विस्तार गर्ने र त्यसका नायकलाई राष्ट्र निर्माता मान्ने गरिएकाले पृथ्वीनारायण शाह पनि राष्ट्र निर्माता हुन् भन्ने मान्यता जोडदार रूपमा राख्ने गरिएको छ ।

पहिलो, संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौँ कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए । दोस्रो, बल प्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै होइन ।
संसारको हरेक राष्ट्र र देश निर्माणका आफ्नै विशेषता र परिघटना छन् । तर्क गर्ने गरिएजस्तो सबैतिर बल प्रयोगबाट एकीकरण गरिएको भन्ने कुरा सही होइन ।

एउटै भाषा, एउटै संस्कृति र एउटै जाति समग्रमा एउटै सभ्यताका फरक–फरक राज्यहरूलाई एउटै बनाउन बल प्रयोग गर्नु र फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बल प्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बल प्रयोग केवल राजनीतिक सत्ता प्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । छिमेकी चीनको निर्माणको मूल चरित्र यही प्रकारको हो । त्यसैले त्यस्तोलाई एकीकरण पनि भन्न सकिएला । तर फरक सभ्यतामाथि बल प्रयोगद्वारा राज्य विस्तार गर्नु भनेको खास सभ्यताको मानव निर्मित सबै सांस्कृतिक सम्पदालाई नाश पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ तर बल प्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाएर एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ ।

उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्ध गरिएका बल प्रयोग जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ ? कदापि मिल्दैन ।

बल प्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भू–भाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्य निर्माणका निम्ति भएका सबै बल प्रयोग र युद्ध जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्ध गरिएका बल प्रयोग जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ ? कदापि मिल्दैन । ब्राजिललाई उपनिवेश बनाएर, ब्राजिली भाषाको हत्या गरेर आज सबै ब्राजिलीले पोर्चुगिज भाषा बोल्न बाध्य पार्नुलाई ठीक मान्नुपर्ने हुन्छ । समग्रमा उपनिवेशवाद समेत ठीक थियो भन्ने स्विकार्नुपर्ने हुन्छ । यस्तो अवधारणाले त भारतको लखनउ विद्रोहलाई दमन गरेर जंगबहादुरले बर्दियादेखि कञ्चनपुरसम्मको भू–भाग पुनः प्राप्त गर्ने मूल भूमिका खेलेकाले उनलाई पनि नेपालको उपएकीकरणकर्ता वा उपराष्ट्रनिर्माता मान्नुपर्ने ठाउँमा पु¥याउँछ । ब्रिटिस स्वार्थमा लखनउ दमन ठीक मान्नुपर्ने हुन्छ । के यही दृष्टिकोण सही हो त ?

सबै कुरामा बल प्रयोग ठीक भनेर संसारमा कुनै पनि सिद्धान्तले भन्दैन, तब सबै अवस्थामा देश निर्माण गर्न गरिएको बल प्रयोग कसरी ठिक हुन्छ ? अनि, त्योबाहेक अर्को विकल्प थिएन भन्ने कसरी निष्कर्ष निस्कन्छ ?

सामन्ती युगमा बल प्रयोग नै मुख्य काइदा हुन सक्छ । तर गौतम बुद्ध, महावीरका शिष्य पनि जन्मिसकेका थिए र राजा अशोकले हिंसाको बाटो त्यागेका दृष्टान्त पनि यही दक्षिण एसियामा स्थापित भइसकेको थियो ।

त्यसैगरी, बल प्रयोग गरेर जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरू सबै बेठीक थिए भन्ने मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक र बेठीकको सिद्धान्त हुन सक्दैन । यसर्थ, सामन्तवादी युग वा त्योभन्दा पनि पहिले सबै एकीकरणमा बल प्रयोग भएका थिए भन्ने कुरा सही होइन । र, बल प्रयोग हुनेबित्तिकै सही भएका थिए भन्ने पनि होइन । इतिहासको मूल्यांकन गर्दा आजसम्ममा विकसित समाज विज्ञानमा अधारित भएर गर्ने हो, उपनिवेशवादीहरूले बनाएको अवधारणामा उभिएर होइन ।

 पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अंग्रे्रजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । अंग्रेजले त्यति बेलाका राज्यहरू लिन खोज्दा एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरवासीले समुद्रपारिका अंग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर ठोकुवा गर्न सक्ने कुरा पनि होइन ।

‘पृथ्वीनारायण शाहले राज्य विस्तार नगरेको भए हामीले आज आफूलाई नेपाली भनेर गर्व गर्न पाउँदैनथ्यौँ । त्यसकारण शाहको कदम ठीक र एकीकरण नै थियो’ भन्ने तर्क पनि छ । देशको आकार ठूलो र सानो अनि जनसंख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रूपमा जोडिएको छैन । बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । के कुरा बुझ्नैपर्छ भने पृथ्वीनारायण शाहकालीन नेपालका ‘भुरे–टाकुरे’ प्रकारका राज्य संसारमा खास कालमा सबैतिर कुनै न कुनै रूपमा थिए । नेपालमा पृथ्वीनारायणले जसरी साना राज्य घटाए, त्यही प्रक्रियाबाट दुनियाँको सबै साना राज्य घट्न पुगेका पनि हुँदै होइनन् । त्यसैले पृथ्वीनारायण शाहले नाक–कान काटेर कीर्तिपुरलाई गोरखा राज्यअन्तर्गत नल्याएको भए पनि यो संसारमा आज कीर्तिपुर भन्ने देश हुने थिएन, किनभने कीर्तिपुरवासी स्वयंले अलि ठूलो भू–भागको चलखेलको महत्व बुझिसकेका हुने थिए ।

यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षित अवधारणा हो । त्यो कुनै निरपेक्ष कुरा होइन ।

बलात्कारबाट पनि गर्भाधान हुन्छ । त्यसरी जन्मिएको बच्चा पनि मानिस नै हो र उसले अरु मानिससरह नै जीवनयापन गर्न पाउनुपर्छ । त्यसो भए के बलात्कार ठीक हो त ? त्यो बलात्कारबाट जन्मेको बच्चाले आफ्नी आमामाथि बलात्कार गर्नेलाई महान् बाबु नै मान्छ त ? कदापि मान्ने छैन ।

त्यसैले आज नेपाल जत्रो छ, त्यत्रो नेपालको नागरिक भएकाले वा नेपाली हुनुमा गर्व गर्न पाउने भएकाले पृथ्वीनारायणको राज्य विस्तार ठीक र त्यो एकीकरण नै थियो भन्ने निष्कर्ष कदापि निस्कन सक्दैन ।

पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अंग्रे्रजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । अंग्रेजले त्यति बेलाका राज्यहरू लिन खोज्दा एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरवासीले समुद्रपारिका अंग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर ठोकुवा गर्न सक्ने कुरा पनि होइन । अर्को कुरा, नेपालीले प्रतिरोध गर्दा पनि विदेशीको प्रतिरोध नगर्ने भारतीय जनताले त अन्ततः उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ लड्दै लड्दैनथे त कुनै हालतमा भन्न सकिने कुरा हुनै सक्दैन ।

अर्को दुःखदायी यथार्थतिर पनि ध्यान खिचौँ । पृथ्वीनारायणको आँखाबाट नहेरी नेपालका जनजाति, मधेसी, दलित र कर्णालीपारिका जनताको आँखाबाट हेरियो भने तत्कालीन नेपालको राज्य र अंग्रेजमा के कति फरक देखिन्छ ? यदि पृथ्वीनारायणको राज्यको अधीनस्थ राख्नुभन्दा अंग्रेजी राज्यको अधीनस्थ बनाएको भए कर्णालीपारि, दलित, मधेसी र जनजातिलाई के फरक पथ्र्यो होला ? कर्णालीपारि आजभन्दा थोरै भए पनि बढी भौतिक विकास हुन्थ्यो होला । जसरी भारतका दलितको आवाज सुन्नसम्म भए पनि सुनेजस्तै नेपाली दलितका आवाज त्यतिबेलै सुन्न सुरु हुन्थ्यो होला । जनजाति र मधेसीले आजभन्दा पक्कै पनि बढी भौतिक विकास र सुविधा पाउँथे होलान् । बदलामा दलित, मधेसी, जनजाति र कर्णालीपारिले अंग्रेजको रैती हुनुपथ्र्यो, कुरा त्यति हो । त्यसैगरी मुस्लिम र जनजातिले अझै थप आफ्नो धर्ममाथिको समेत दमन भोग्नुपथ्र्यो, यति न हो । पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दू राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेसी र कर्णालीपारिले अंग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रंग अलि बढी मिल्ने तर अंग्रेज धेरै टाढाबाट आएको, छालाको रंग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? छातीमा हात राखेर सोच्ने हो भने गुणात्मक रूपमा केही पनि फरक भएन ।

यसको अर्थ साम्राज्यवाद ठीक हो भन्ने निष्कर्ष कदापि होइन, बरु दलित, जनजाति, मधेसी र कर्णालीपारिको निम्ति पृथ्वीनारायणको राज्य ‘चिनेको चोरले काट्छ’ भन्ने उखानलाई चरितार्थ गर्ने सानो उपनिवेशवादी राज्य नै थियो । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेसी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्ने बित्तिकै त्यो एकीकरण थियो या राज्य विस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ ।

एकीकरण हो, किनभने हिन्दुत्व जोगायो भन्ने तर्क पनि गरिन्छ । कुनै पनि विचार वा धर्म मूलतः आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । संसारमा इसामसिह जुन देशमा जन्मिए र त्यहाँ पहिलो चर्च छ, तर इसाई कम छन् । त्यहाँ ११ सय वर्षअगाडि बनेको मस्जिद छ, तर मुस्लिम कम छन् । त्यो देश हो, यहुदीहरूले निर्माण गरेको इजरायल ।

भारतमा दुई सय वर्ष शासन गरे पनि के सबै भारतीय इसाई भए त ? अनि, २०६३ सालसम्म पनि ‘हिन्दू अधिराज्य नेपाल’ रहँदा अन्य धर्म नेपालमा छिर्नबाट रोकियो त ? भारत र नेपाल दुवैमा हिन्दू र प्राकृत धर्म सम्प्रदायबाट नै बढी इसाई भएका छन् । इस्लाम र बुद्धधर्मी समुदायबाट कम इसाई हुन पुगेका छन् । किन होला ? जनता त्यत्तिकै अर्को धर्ममा जान्छन् भन्ने होइन, त्यसमा आन्तरिक कारण पनि गम्भीर रूपमा जिम्मेवार हुन्छन् ।

‘नत्र हिन्दू धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्य विस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दूबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दू वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने किरात च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दूले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्य विस्तारको यात्रा कसरी गैरहिन्दूका लागि एकीकरण हुन्छ ?
कतिपय मानिसलाई के पनि भ्रम छ भने धर्मका आधारमा पनि राष्ट्र बन्छ तर आधारभूत राष्ट्र निर्माणको मूल पक्ष धर्मको जगमा कहिल्यै उभिएको छैन ।

 भक्तपुरमा मीत लाउन आउँदा सहस्र स्विकार्ने भक्तपुरेहरूको आवश्यकता भनेको गोरखासँग मीतको साइनो गाँस्ने होला तर पृथ्वीनारायणको आवश्यकता हमला गरेर अधीनस्थ बनाउने भयो ।

युरोपमा अधिकांश देशका जनता इसाईधर्मी छन् तर भाषा, संस्कृति एवं जातीय पहिचानका कारण राष्ट्र अलगअलग बन्न पुगेको छ । सिंगो अरब क्षेत्र इस्लामधर्मी हो । भाषा, संस्कृति एवं मनोविज्ञान फरक भएकाले अलगअलग राष्ट्रियता बन्न पुगेका छन् । धर्मले राष्ट्र बनाउन ठूलो भूमिका खेल्छ भन्ने होइन र एकीकरण हो भन्ने तर्कसँग हिन्दू धर्म जोगाउने विषयको कुनै समाजशास्त्रीय सम्बन्ध नै छैन ।

स–साना राज्यका राजालाई प्रगतिको वास्ता थिएन, तर पृथ्वीनारायणलाई चिन्ता थियो, त्यसैले एकीकरण नै भन्नुपर्छ भन्ने तर्क पनि छ । यो तर्क पनि तथ्यमा आधारित छैन, किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन, तर वागमती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । कर्णालीपारि र भेरी आसपासका राज्यहरू अनि पूरै लिम्बुवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनताले ? प्रगतितिर वास्तै थिएन भने १८३१ सालमा लिम्बुवान स्वायत्तताको लिखित सम्झौता गरेर मात्र गोरखाली राज्यलाई मान्न तयार किन भयो लिम्बुवान ?

त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भन्ने मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ?

कतिले भन्छन्, ‘त्यो त्यति बेलाको आवश्यकता थियो ।’ हो, तर कसको आवश्यकता ? जात प्रथा त्यति बेलाको आवश्यकता हो तर श्रमिक वर्गको होइन, शोषक वर्गको आवश्यकता हो । बहुपत्नी प्रथा पनि आवश्यकता हो तर महिलाको होइन, मनमौजी पुरुषको आवश्यकता हो । भक्तपुरमा मीत लाउन आउँदा सहस्र स्विकार्ने भक्तपुरेहरूको आवश्यकता भनेको गोरखासँग मीतको साइनो गाँस्ने होला तर पृथ्वीनारायणको आवश्यकता हमला गरेर अधीनस्थ बनाउने भयो । त्यसैले आवश्यकताको सिद्धान्तलाई कसको आवश्यकता भन्ने कसीले जाँच्नैपर्छ ।

एकीकरण थिएन भने अब के नेपाललाई पुरानै बाइसे–चौबीसे राज्यहरूमा टुक्राउने त ? यस्तो प्रश्नले बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्य जीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भन्ने ठाउँमा पु¥याउँछ ।

अढाइ सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दू पहाडिया खस अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसलाई उनीहरूका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पा¥यो । त्यस बाध्यताले स्वाभाविक रूपमा जनताका बीचमा आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएर भन्दा पनि मिलेरै प्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो ।

यहाँसम्म आइपुग्दा यो कुरो जन्मियो तर नेपालमा जनजाति, मधेसी, मुस्लिम, दलित, कर्णालीपारिका जनताका हजारौँ हजार सांस्कृतिक, बौद्धिकलगायत सम्पदा जो हजारौँ वर्ष लगाएर बनेका थिए, ती सम्पदा सदाका निम्ति ध्वस्त हुन पुगे । ती सम्पदासहित अगाडि बढ्न पाइएको भए आजको यहाँको मानवको सभ्यता निश्चय नै अहिलेको भन्दा कता हो कता माथि हुन पुग्थ्यो । तर, पृथ्वीनारायण शाहको गलत तरिकाको अर्थात् फरक सभ्यतालाई नष्ट गर्ने राज्य विस्तारको अभियान र अढाइ सय वर्षको गलत शासन प्रक्रियाले हामी धेरै नै मौलिक सामथ्र्य गुमाइसकेको सभ्यता बन्न आइपुगेका छौँ । गंगा र ह्वाङहो अनि ककेसिया, सिन्धु र इस्लाम सभ्यतादेखि आइपुगेका सांस्कृतिक सामथ्र्यसहितको भव्यताको यो हिमालदेखि मैदानसम्म फैलिएको मानव बस्ती आज कंकालजस्तो हुन पुगेको छ । अर्को सभ्यतामाथि हस्तक्षेपको विस्तारको प्रक्रियाको कारण नै हुन पुगेको स्पष्ट छ । त्यसैले फरक सभ्यताहरू ध्वस्त पार्दै जाने प्रक्रियाको सुरुवात कसरी एकीकरण हुन सक्छ ? त्यो वास्तवमा फरक सभ्यताहरूको ध्वस्तीकरणको एउटा प्रक्रियाको सुरुआत थियो ।
कतिपयले मजबुत आर्थिक एकाइ निर्माणको कोणबाट मात्रै हेर्छन् । त्यसरी हेर्दा त झन् दक्षिण उत्तरमा त्यतिबेला ठूला आर्थिक एकाइ थिए । त्यता मिलाउने कुरा पो प्रगतिशील हुन पुग्छ, जुन होइन । राष्ट्रियता अथवा विशिष्ट मानव समूहको मुद्दा आर्थिक मात्र भए किन टुक्रिन्थ्यो सोभियत संघ ? किन बन्थ्यो पाकिस्तान र बंगलादेश ?

नेपालमा एकीकरणको विषयलाई फरक–फरक सभ्यताको एकीकरण कसरी भन्ने प्रश्नबाट हेर्नैपर्छ । समग्रतामा पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भू–भाग र जनतामाथि शासन गर्ने सपना उनीमा थियो ।

उनको ‘दिव्य उपदेश’ भनी चर्चा गरिएको देशभक्तिका बखानहरू वास्तवमा सामन्तवादकालीन देशभक्तिभन्दा माथिल्लो स्तरका होइनन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार अथवा लुटाहा योद्धाचाहिँ होइनन् । आजको नेपाल देशलाई संगठित गर्ने राजा हुन्, पृथ्वीनारायण शाह । तर जे जसरी उनले नेपाल संगठित गरे, त्यो कदम एकता र एकीकरण होइन, बरु हिन्दू पहाडिया आर्य–खस अहंकारवादी राज्यको विस्तार र सुदृढीकरण मात्र थियो ।

निःसन्देह नेपाल देशको जग राख्ने राजा पृथ्वीनारायण नै हुन् । त्यस अर्थमा उनलाई देशनिर्माता भन्न सकिन्छ, तर राष्ट्रनिर्माता होइनन् । किनभने, नेपालका फरक–फरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे, जसकारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रूपमा मात्रै बुझिन्छ, जुन कुरा सत्य होइन । तसर्थ, पृथ्वीनारायण शाह देश निर्माता हुन्, राष्ट्रनिर्माता होइनन् ।

देश हुनका निम्ति राज्यसत्ता, शासित जनता र भू–भाग भए पुग्छ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरूबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देश निर्माण गरे, तर नेपालमा बहुसभ्यता बीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन, बरु बहुसभ्यता ध्वंशीकरण अभियान थियो । उनको कार्य एकीकरण हुन्थ्यो भने आज अढाई सय वर्षपछि हामी वास्तविक राष्ट्रिय एकीकरण जरुरी छ, भन्न बाध्य हुने थिएनौँ ।

Source: http://www.nagariknews.com/news/34866/

0

दलित कुनचाहिँ राष्ट्रमा एकीकृत रैछन् हँ ?

-राजेन्द्र महर्जन

यो गोरखा राज्यअघि उभिएका

हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए  ?

हिजोका सग्ला र कल्कलाउँदा

यहाँका मानिसहरू

आज कसरी यस्तरी खुनी र कुरूप भए

यो दरौदी किन उल्टो बगेको देख्छु

यो दरबारै किन खण्डहरजस्तो देख्छु

म बौलाएँ मालिक ! म बौलाएँ ।

मालिक !

श्रवण मुकारुङ / बिसे नगर्चीको बयान

“२०६२/६३ को आन्दोलनमा श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ सडक सडकमा चर्चित थियो । त्यो कवितामा पृथ्वीनारायणसँग बिसे नगर्चीले दाँजिएर आफ्नो इतिहास खोज्छ । त्यतिबेला त्यो कविताको उपयोग गर्ने नेता, बुद्धिजीवी अहिले पृथ्वीको गुणगानमा किन फर्केको ? बिसेले अब काम चल्न छाडेर ?”

साहित्यकार युग पाठकले ट्वीटरमा यस्तो प्रश्न उठाएपछि त्यसको जवाफमा सम्पादक लेखक किशोर नेपालले टुच्च दिए, “बिसेले वृद्ध भत्ता पाए होलान् ।”

बिसे नगर्चीले के कति पाए, खोज्न र सोध्नै पर्ने छ, तर नेता र बुद्धिजीवीहरुले सत्ता, शक्ति र सम्पत्ति पाएकोमा भने कुनै सोधखोज गर्नै पर्दैन । आफूले सत्ता, शक्ति र सम्पत्ति पाएपछि उनीहरु फेरि घुमाउरो पाराले राजतन्त्रवादी भएका त हैनन्, राजतन्त्रले जोगाएको स्थायी संरचनाका पोषक भएका त हैनन्, पुन: मुषिको भव शैलीमा ? राजतन्त्रले बोकेको र फैलाएको सामन्तवादी संस्कृति र अध्यात्मवादी चिन्तनसँगै एकल जातीय राष्ट्रवादले उनीहरुलाई निर्देशित गर्न थालेका त हैनन् रु उनीहरु पृथ्वीनारायण शाहको गुणगान गर्दै “असिल् हिन्दूस्थाना” नामक राष्ट्र बनाउने धुनमा छैनन् ?

साहित्यकार मित्र युग पाठकले असामाजिक सञ्जालमा यस्ता प्रश्न उठाएपछि मेरो मनमा थप प्रश्न उठे । जनआन्दोलन अघिपछि अनेक प्रश्न उठाउने ‘बिसे नगर्चीको बयान’ दशौँ पटक सुनियो होला कवि मित्र श्रवणको मुखबाट । जनआन्दोलनअघि गिरिजाप्रसाद कोइरालाले समेत भुइँमा बसेर सुनेको यस कविताका पंक्तिहरु फेरि सम्झिँदै छु, जनआन्दोलनको एक दशकभन्दा बेसी समयपछि । यसबीच कानै खानेगरी गुन्जिएको छ पृथ्वीनारायण शाहको गुणगान । यस्तो गुणगानबीच खै कहाँ छन् बिर्से नगर्चीहरु, म पनि प्रश्नमै रुमल्लिएको छु ।

नयाँ संविधानले कल्पना गरेको राष्ट्र

बिसे नगर्चीहरुले संघर्ष गर्दै ल्याएको संविधानले त धर्मनिरपेक्षताको आड दिएर ‘सनातनदेखि चलिआएका धर्म र संस्कृतिको रक्षा गर्ने’ कसम खाइसकेको छ । र, खस आर्य समुदायको संवैधानिक परिभाषाबाट हटाएर बिसेजस्ता दलितलाई पुनः अछूत बनाएको छ । अब संविधानअनुसार हिँड्ने हो भने नेपाली राज्य, समाज र परिवारसँगै व्यक्तिले सनातनदेखि चलिआएका धर्म र संस्कृतिको रक्षा गर्ने हो भने वर्णव्यवस्था चलाइराख्नुपर्‍यो, कुनै वर्ण उच्च, शुद्ध र पवित्र, कुनै वर्ण नीच, अशुद्ध र अपवित्र ठान्दै । अब जातभातको विभेद पनि जारी राख्नुपर्‍यो, कसैलाई जातभन्दा बाहिरका सँग बिहे गरे वा यौन सम्पर्क गरे कारबाही गर्नुपर्‍यो, कसैलाई भातपानीमा छोइछिटो गर्ने र जातै काढ्ने काम नि गर्नुपर्‍यो । जजसले यस्ता काम गरिरहेका छन्, उनीहरुको कामलाई संविधानअनुसार आपराधिक, अमानवीय र अलोकतान्त्रिक ठहर्‍याउन नमिल्ने होला । अब सायद सनातनीहरुको राष्ट्र बलियो भयो भने यस्तो सकसपूर्ण दिन झन् बलियो हुने पो हो कि ? अब व्यवहारमा लागू गर्न सम्भव नहुने प्रश्न मनमा नउठेको होइन ।

बिसे नगर्चीहरुले संघर्ष गर्दै ल्याएको संविधानले त धर्मनिरपेक्षताको आड दिएर ‘सनातनदेखि चलिआएका धर्म र संस्कृतिको रक्षा गर्ने’ कसम खाइसकेको छ । र, खस आर्य समुदायको संवैधानिक परिभाषाबाट हटाएर बिसेजस्ता दलितलाई पुनः अछूत बनाएको छ ।

बेनेडिक्ट एण्डर्सनले भनेझैँ ‘राष्ट्र’ (नेसन) भनेको कल्पना गरिएको समुदाय हो, कुनै त्यस्तो देश होइन, जुन भूक्षेत्रमा बाँधिएको हुन्छ । देशलाई मुल्क, मुलुक, सम्पत्ति, जमिन–जायदाद ठान्नेहरुले नेपाललाई विशेष खालको ‘राष्ट्र’को रुपमा कल्पना गरेका थिए । त्यही कल्पनाका आधारमा उपदेश, ऐन, कानुन र संविधान बनाउँदै ‘असिल् हिन्दूस्थाना’लाई निरन्तरता दिएका हुन् । हिन्दू धर्म, वर्णव्यवस्था, जातभात, उँचनीच, छुवाछूत, पवित्र–अपवित्र हुने विश्वकै एक मात्रै हिन्दू राष्ट्रका रुपमा । उनीहरुद्वारा कल्पना गरिएको अबको राष्ट्रमा धर्मनिरपेक्षताको आवरणमा हिन्दू राष्ट्र नै निरन्तर हुन्छ कि कुनै धर्मको प्रभुत्व र धार्मिक सांस्कृतिक विभेदविनाको समतामूलक विविधतामा अडेको राष्ट्रियता बन्न थाल्छ ? अबको काल्पनिक राष्ट्रमा उनीहरुले बनाएका अछूत, पउनी, थी मत्यःपिँ, काटिन्या, मासिन्या र छोइछिटो हाल्नुपर्ने जातको अवस्था कस्तो होला, नयाँ राजनीतिक बिष्टबराजुहरुसामु उठाउनुपर्ने सवाल हो । के अब दलितले यहाँहरुको नयाँ राजमा विभेद, हिंसा र अत्याचारको शासन व्यहोर्नुपर्ने अवस्था कायम रहन्छ कि रहँदैन, अब सोध्नुपर्न देखिन्छ, ‘बिसे नगर्चीको बयान’ कविता सुनेर सुनाएर सत्तासीन भएका नयाँ शासकहरुलाई ।

‘असिल् हिन्दूस्थाना’मा अछूतको स्थान

झट्ट हेर्दा देखिन्छ, नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाह र सांस्कृतिक एकीकरणकर्ता मानिने भानुभक्त आचार्यसँग दाँजिन रुचाउने बिसे नगर्ची बहुलाएको जमानाभन्दा धेरै पर आइसकेको छ नेपाल । जनयुद्ध र जनआन्दोलन समाप्त भएको पनि एक दशकभन्दा बेसी भइसकेको छ र बिसे दमाईका समकालीन पृथ्वीनारायण शाहले बढाएको राजतन्त्रको समाप्तिपछि नयाँ संविधानको थालनी र अनेक रंगीबिरंगी सरकारको अनुहारको दर्शन पनि प्राप्त भइसकेको छ ।

एक जमानामा पृथ्वीनारायण शाहको शालिक ढाल्ने माओवादीसमेत सम्मिलित नेपाली कांग्रेस र राप्रपाको सरकारले राज्यस्तरबाट शाह जन्मिएको दिनको खुसियाली मनाएको छ पृथ्वी जयन्तीका रुपमा । र, शाह जन्मिएकै दिन उनले नेपालको पनि राष्ट्रिय एकीकरण गरेको अर्थ लाग्नेगरी ‘राष्ट्रिय एकता दिवस’का रुपमा सार्वजनिक विदा समेत दिएको छ । बिसे नगर्ची पढेपछि फेरि प्रश्न उठेको छ, के बिसे नगर्चीहरु त्यही एकीकृत ‘राष्ट्र’का सदस्य रहेका थिए, जुन शाहद्वारा एकीकरण भएको हो ? उनीहरु त्यही ‘राष्ट्र’मा एकीकृत भएका थिए, जुन राष्ट्रलाई शाहले ‘असिल् हिन्दूस्थाना’ बनाएका थिए ? जातभात, उँचनीच र छुवाछूतको राज चलेको ‘असिल् हिन्दूस्थाना’मा अछूतहरुलाई पनि छूत सरह कसरी एकताबद्ध पारिएको थियो कि झन् विखण्डित पारिएको थियो ?

यस माटोको इतिहाससँगै म हजुरको

राष्ट्रमा छु

म कसरी अराष्ट्रिय हुनसक्छु

म साँच्चै बौलाएँ मालिक !

बिसेहरु हिजो गोर्खा राजमा जन्मिएका थिए तल्ला जात, अछूत र पउनी बनिएर । गोर्खा राजलाई नेपाल र अन्य देशसम्म विस्तार गरेपछि उनीहरुलाई ‘असिल् हिन्दूस्थाना’का रैती बनाइए । उनीहरु पृथ्वीनारायण शाह र उनको गोर्खा राजलाई नसघाएको होइन, तर उनीहरुलाई त हिन्दू धर्मशास्त्र र त्यस शास्त्रको आधारमा चलाइएको तन्त्रले मान्छे नै बन्न दिएनन् । राजा महाराजा र बिष्टबराजुको सेवकमा बनाइएका बिसेहरुलाई मुलुकी ऐनले मासिन्या, काटिन्या र छोइछिटो हाल्नुपन्र्या जातमा खसाल्दै जिउँदै नर्कमा धकेलेकै थियो । र नर्कजस्तो समाजमा उनीहरुका श्रम, सेवा, सीप, कलासँगै शरीरको भोग जारी राख्न नयाँ कानुनी पर्दा उपलब्ध गराएको थियो ।

मालिकका बालीघरेबाट राजनीतिक बालीघरेसम्म

यसको अर्थ अठारौं शताब्दीमा पृथ्वीनारायण शाहले बनाएको ‘असिल् हिन्दूस्थाना’ मुलुकी ऐन र नयाँ संविधानमार्फत उन्नाइसौं शताब्दीमा मात्रै होइन एक्काइसौँ शताब्दीमा पनि जारी छ । हो, हामी बाँचिरहेको समयमा त्यस्तो राष्ट्रका रुपमा, जहाँ अछूतको नाममा विभेद गरिन्छ, कुटिन्छ, हेलाँहोचो गरिन्छ, गाई मारेर खाएको आरोप जेलमा सडाइन्छन् त कोही कोही त मारिन्छ पनि । लोकतान्त्रिक गणतन्त्रको टोपी भिरेको नेपाली राज्यले ‘असिल् हिन्दूस्थाना’रुपी राष्ट्र बोक्दै हिँडेको छ भने त्यस राष्ट्रमा अछूतहरुले प्रतिरोधको क्रममा भिरेको दलित पहिचानको अवस्था के छ खोज्न मन लागेको छ । यस्तो बेला मनमा खुल्दुली हुन्छ, यो राष्ट्रमा दलित पहिचानधारी बिसे नगर्चीहरु के गर्दै छन्, जसले अहिलेको नेपालको रुपमा गोर्खा राज्य विस्तार गर्न सघाएका थिए ? गोर्खालाई नेपाल देश बनाउनचाहिँ रगत, पसिना र आँसु बगाउने अनि नेपाल बनेपछि शास्त्र र शस्त्रको बलमा अनागरिक भएर बाँच्नुपर्ने नै बिसेहरुको नियति हो र ?

हजुरको तरबारले

टाउको काट्छ कि फूल

भ्रममा परें म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे

भ्रममा परें म

यस राज्यलाई प्रजाले बनायो कि राजाले

भ्रममा परें म

अढाइ सय वर्षेखि म तपाईंसमक्ष छु मालिक !

पृथ्वीनारायण शाहले दिएको ‘दिव्य उपदेश’ होस् या पाँच थरी रैती हुनेगरी जंगबहादुर कुँवरले कोरेको मुलुकी ऐन, चाहे राजा महेन्द्रले कोरेको हिन्दू अधिराज्य र नयाँ सवर्ण नेताहरुको खिचेको लोकतान्त्रिक गणतन्त्रको संविधान, सबैमा प्रस्ट–अप्रस्ट रुपमा ‘असिल् हिन्दूस्थाना’को सपना र यथार्थ छ । अध्येता माला मालागोदीले भनेकोे ‘संवैधानिक राष्ट्रवाद’मा बिसेहरुको ठाउँ र हैसियत भने घरबाहिर नै हुन्छ, राष्ट्र र राज्यलाई घर मान्ने हो भने पनि उनीहरुको अवस्था पिँढीबाहिर टुक्रुक्क बस्ने, आसे अनुहार राख्ने र मालिकसँग माग्ने नै हो । यस्तो घरमा मालिकले दिएको बालीघरे व्यवस्थाबाट जीविका चलाउनुपर्ने बाध्यताबाट अचेल केही दलित राजनीतिक अगुवाहरुको हैसियत ‘राजनीतिक बालीघरे’को दर्जामा पक्कै फेरिएको छ । तर आम बिसेहरुले पशुको भन्दा विजोकको जिन्दगी बाँच्नुपर्ने राष्ट्र र राज्यमा कसरी मानिस भएर बाँच्ने ? समता, आत्मसम्मान र शक्तिसँग जोडिएको यही प्रश्नमा द्वन्द्व र सघर्ष जारी छ ।

अन्त्यमा,

भारतमा करोडौं दलितका नेता एवं चिन्तक डा. अम्बेडकरले १४ अगस्ट १९३१ मा महात्मा गान्धीसँग पहिलो भेटमा भनेका थिए, ‘गान्धीजी मसँग मेरो मातृभूमि छैन ।’

अचानक यस्तो अनौठो र खरो टिप्पणी सुनेर एकछिन त गान्धी अक्क न बक्क भए । त्यसपछि गान्धीले भने, ‘डाक्टर साहेब, तपाईंसँग मातृभूमि छ । त्यसको सेवा कसरी गर्नुहुन्छ, त्यो तपाईंको कामबाट प्रकट हुन्छ ।’

त्यसको तीखो प्रतिकार गर्दै अम्बेडकरले भने, ‘जुन देशमा हामीहरु कुकुर र बिरालोको जस्तो जिन्दगी बाँच्दैछौँ, त्यस भूमिलाई जन्मभूमि र त्यस धर्मलाई आफ्नो धर्म म त के कुनै पनि स्वाभिमानी स्पृश्यले पनि भन्न सक्दैन । मेरो कुनै मातृभूमि छैन, बरु ठिक–बेठिक छुट्टयाउने विवेक छ र यसैको आधारमा राष्ट्रसेवा पनि सम्भव हुन सक्छ ।’

मनमा उठेका प्रश्न

नेपालमा श्रम, सीप, कलामा अद्वितीय क्षमता भएका दलितबाट देशको सेवा भएकोमा कुनै शंका छैन, तर देशले उनीहरु आफ्नो नागरिक ठानेको छ कि छैन ? देश चलाउने ‘बडा नागरिक’हरुले ‘छोटा नागरिक’ ठान्दै फेरि पनि विभेद, हिंसा र अत्याचार गर्न पाइने राष्ट्रका रैती र प्रजामा सीमित गर्न खोजिरहेका त छैनन् ? जटिल समयले सोधिरहेको छ, खोइ आजका बिसे नगर्चीहरु किन प्रश्न गरिरहेका, प्रतिरोध गरिरहेका र विद्रोह गरिहेका छैनन् ? अब आत्महीनताले भरिएर पहिलेजस्तै बहुलाएरै बसिरहेका छन् कि शक्ति, आत्मसम्मान र समताको संसार प्राप्त गर्ने लालसाका साथ आफू र अरुमाथि प्रश्न गरिरहेका छन् ?

1

खोइ दलितमुखी नेपाली माक्र्सवाद ?

राजेन्द्र महर्जन, काठमाडौँ — नेपालमा अनेक खालका वर्गमध्ये एउटा वर्गीय श्रेणी पनि छ । त्यो श्रेणी हो : आश्वासन दिने–लिनेहरूको वर्ग । एकथरी आश्वासन बाँड्ने वर्ग, अर्काेथरी आश्वासन थाप्ने वर्ग । दलित मुक्तिको आश्वासन बाँड्ने र त्यसलाई थाप्ने मामिलामा यस्तो वर्ग र वर्ग–बोध व्यापक रूपमा देख्न पाइन्छ । आश्वासन बाँड्नेमा गैरदलित वा विष्ट–बराजुको वर्ग/वर्ण रहेको छ ।

आश्वासन थाप्नेमा हाल ‘राजनीतिक बालीघरे’ भएका त्यस्ता दलित रहेका छन्, जो लामो समयसम्म बालीघरे प्रथामा बाँधिएका श्रमजीवी हुन् । अछूत ठानिने ती श्रमजीवीहरूमा पहाडको हिन्दु समाज, नेवार समुदाय वा मधेसी समुदायका दलित पर्छन् । ती दलितसामु बाँडिएका अनेक आश्वासनमध्ये सबैभन्दा प्रखर रहेको छ,आफ्नो शासन वा तन्त्रमा मात्रै नेपाली समाजको सबैभन्दा पिँधमा पारिएका दलित समुदायको मुक्ति हुने आड–भरोसा । यसरी आश्वस्त पार्दै आफ्नो वर्गीय र वर्णीय सत्ता–शक्ति सुरक्षित र सुदृढ तुल्याउने ‘न्यारेटिभ गेम’ निकै प्रभावशाली हुँदै आएको छ ।
आश्वासनमा रुमल्लिएको मुक्ति
कुनै बेला दलितहरूलाई विश्वास गराइयो : प्रजातन्त्र आएपछि अछूत र मासिन्या समुदायको मुक्ति हुनेछ । पञ्चायती प्रजातन्त्र स्थापना भएपछि छुवाछूत र भेदभाव अन्त्य हुनेछ । बहुदलीय व्यवस्थाको पुन:स्थापनासँगै पत्यार दिलाइयो : संसदीय प्रजातन्त्रले दलित समुदायले भोग्दै आएका अन्याय, उत्पीडन र विभेद समाप्त पारिनेछ । अनेक उकाली–ओरालीले भरिएको संसदीय प्रजातन्त्रको यात्रापछि लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको छ । र लोकतान्त्रिक गणतन्त्रले बाँडेको दलित मुक्तिको सपनाको बेहाल पनि असमावेशी निर्वाचन परिणामदेखि दलितको नाममा मारिने सिलसिलामा समेत देखिसकेको छ । त्यसैले होला, लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी शासन नै भएकोले समाजवादी शासनमा मात्रै दलितको मुक्ति सम्भव रहेको नयाँ आश्वासन वितरण गर्न थालिएको छ ।
लोकतान्त्रिक गणतन्त्रमा जनप्रतिनिधि हुनपाएका र नपाएका दलित सांसदहरू सहभागी रहेको ‘दलित संसद’मा पनि साहित्यकार, दलित अगुवा तथा माओवादी केन्द्रका विद्रोही नेता आहुतिले अब माक्र्सवादी आन्दोलनले स्थापना गर्ने वैज्ञानिक समाजवादले मात्रै दलित मुक्तिको सुनिश्चितता गर्ने मत सार्वजनिक गरेका छन् । पुँजीवादले अछूत श्रमिकलाई मजदुर वा सेवकमात्रै बनाउने भएकाले दलितलाई मुक्ति नदिने जनाउँदै आहुतिले सबैभन्दा पिँधमा पारिएका श्रमिक दलितलाई मालिक सर्वहारा बनाउने खालको वैज्ञानिक समाजवादका लागि ‘खाँट्टी माक्र्सवादी आन्दोलन’मा जोड दिएका हुन् ।
प्रश्नको घेरामा माक्र्सवादी
वर्ण/जातको समस्या नभएका देशका माक्र्सवादी विचार र समाजवादी अभ्यासले दलित समस्याको समाधान नदिने तथ्य जगजाहेर छ । त्यसैले वर्ण/जातको समस्या पनि भएका नेपाल लगायत भारतका माक्र्सवादीहरूको काँधमा विचार र व्यवस्थाको तहमा दलित समस्याको हल खोज्ने गहन दायित्व छ । वर्ग र वर्ण लगायत अन्य सामाजिक पहिचानसँग जोडिएका शोषण, उत्पीडन र विभेदको सम्बोधन गर्ने खालका विचार र व्यवस्था निर्माण गर्ने जिम्मेवारी पूरा गर्न सकियो भनेमात्रै माक्र्सवाद सार्थक वैचारिक अस्त्र हुनसक्छ । देश–काल अनुसारको माक्र्सवादको विकास र परिमार्जन गर्न सकिएन भने अन्य विचार र मतजस्तै माक्र्सवाद पनि मतान्धताकै रूपमा रहने माओको चेतावनी हेक्का राख्नलायक छ ।
राजनीतिक व्यवस्थाका रूपमा समाजवादले र दार्शनिक–सैद्धान्तिक विचारका रूपमा माक्र्सवादले दलित समुदायसँग जोडिएका विशिष्ट सामाजिक समस्यालाई कसरी सम्बोधन गर्न सक्छन्, यो नेपाली समाजको रूपान्तरणसँग गाँसिएको मूल प्रश्न हो । मानिसलाई मेसिन बनाउने पुँजीवादी व्यवस्था र विचारले भन्दा भिन्न रूपमा समाजवाद र माक्र्सवादले दलित समुदायलाई सबैभन्दा पिँधको शोषित–पीडित वर्गको रूपमा स्वीकार्छन् कि भोट बैंकका रूपमा रहने भ्रातृ संगठनको जनाधारको रूपमा मात्रै सीमित गर्छन् ? उनीहरूमाथि थोपरेका शुद्ध/अशुद्ध, पवित्र/अपवित्र, उँच/नीचको अमानवीय प्रावधानलाई वैज्ञानिक समाजवाद र माक्र्सवादले कसरी तोड्छन् ? जात, शरीर र खानपानमा अभ्यास गरिने विभेद, उत्पीडन र हिंसालाई कसरी समाप्त पार्छन् ? वर्ण/जातका आधारमा स्रोत, शक्ति, सेवा र सम्मानमा कायम रहेको असमान वितरणलाई कसरी सम्बोधन गर्छन् ? यस्ता प्रश्नबाट भागेर वा बेवास्ता गरेर अहिलेको वैश्विक विश्व समय–सन्दर्भ र नेपालको विशिष्ट सामाजिक जटिलताबीच माक्र्सवाद लागू हुँदैन ।
यस्तैसँग गाँसिएका अन्य सवाल हुन् :
आफ्नो नश्ल, वर्ण/रंग/जातलाई मात्रै सभ्य, शुद्ध, सुसंस्कृत, शिक्षित, पवित्र, उच्च ठान्ने शास्त्र र शस्त्र बोकेका वर्ण/जातको अहंकारी मानसिकता र प्रवृत्तिलाई लोकतान्त्रिक र मानवीय बनाउने कसरी ? संविधान, सरकार, दल, अदालत, मिडिया, शिक्षा लगायतका ‘सुपर स्ट्रक्चर’ (माथिल्लो संरचना) मा रहेको तिनको प्रभुत्व र त्यही प्रभुत्वको आधारमा निर्माण भइरहेको वर्चस्व तोडिन्छन्, कसरी ? नयाँ जनवादी र समाजवादी भनिएका देशको राज्य, सरकार र पार्टीमा कायम एकल जातीय प्रभुत्व, त्यसमा पनि उदीयमान ‘नयाँ वर्ग’ (नियो–क्लास) को एकाधिकार, उनीहरूकै हित र स्वार्थ अनुकूल माक्र्सवादको अपव्याख्यासँगै दमनकारी राज्य सञ्चालनको इतिहासलाई अब मोडिन्छ, कसरी ? यहाँका लागि माक्र्सवादको विकास र परिमार्जन गर्न चाहने व्यक्ति र शक्तिहरूसामु रहेका नेपाली समाजका राजनीतिक–आर्थिक–सांस्कृतिक प्रश्न हुन् यी ।
‘ब्राह्मणवादी माक्र्सवादी’
नेपाली समाजमा माक्र्सवादलाई सही र वैज्ञानिक सिद्ध गर्न यस्तो चिन्तन र कर्म गर्नुपरेको कदापि होइन, किनभने कोही पनि माक्र्स र माक्र्सवादका लागि बाँचेका होइनन् । बरु आफ्नो जीवन र जगतलाई फेर्न अरू वाद र विचारभन्दा माक्र्सवाद बढी उपयोगी भए–नभएको हेर्ने क्रममा यस्ता प्रश्न उठाइएका हुन् । एउटा कुरामा सत्यता के छ भने कार्लमाक्र्स आफैले वर्ण/जात व्यवस्थाबारे त्यति विशद रूपमा लेखेका छैनन्, जति पुँजीवादबारे लेखे । उनले सन् १८४५–४६ मा ‘जर्मन आइडियोलोजी’ र ‘पुँजी’को खण्ड १ मा ६/७ ठाउँमा जात व्यवस्थाबारे टिप्पणी गरेका छन्, जसले यस सम्बन्धमा बुझ्न केही अन्तरदृष्टि दिन सक्छन् । त्यसैले एक अनुमान गर्ने गरिन्छ, माक्र्स भारतमा जन्मिएका भए ‘क्लास’ (वर्ग) बारे होइन, ‘कास्ट’ (जात) बारे लेख्थे वा क्लास र कास्टको सम्बन्धबारे चिरफार गर्थे । त्यस्तै अर्काे अनुमान पनि गर्न सकिन्छ, उनले पनि धर्ममा सुधार वा सुदृढीकरणका लागि दयानन्द सरस्वतीले जस्तै आर्य समाज खोल्न सक्थे वा ज्योतिराव फुलेले जस्तै दलितमुखी सामाजिक सुधार पनि गर्न सक्थे वा उनका समकालीन भानुभक्त आचार्यले जस्तै ‘रामायण’को अनुवाद गर्न पनि सक्थे ।
यस अर्थमा भारत र नेपालका माक्र्सवादीहरूले वर्गलाई ध्यान दिने नाममा वर्ण र जात व्यवस्थाको अन्तरसम्बन्धलाई बेवास्ता गर्दै आफ्नै वर्ण/जातको पूर्वाग्रह प्रकट गरेको तथ्य बिर्सन सकिँदैन । वर्ण व्यवस्थामा आधारित सत्ता–शक्ति–सम्पत्ति–शिक्षामाथि एकाधिकार कायम गर्ने र त्यसकै आधारमा दीर्घकालसम्म वर्चस्व निर्माण गर्ने क्रममा शूद्र/अछूत वर्णको नाममा वर्गलाई स्थिर पारिएको यथार्थलाई बेवास्ता गर्न मिल्दैन । त्यही यथार्थलाई बेवास्ता गरेका कम्युनिस्ट पार्टीका ‘ब्राह्मणवादी माक्र्सवादी’ नेताहरूले वर्ग र वर्ण/जात बीचको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वबारे माक्र्सवादी विश्लेषण गर्नु नै जरुरी ठानेनन्, त्यस विरुद्ध संघर्षको सुविचारित रणनीति र कार्यनीति बनाउने त कुरै भएन । भारतमा दलित मुद्दालाई कम आँक्ने वाम आन्दोलन र दलित आन्दोलन अलग–अलग दिशातिर बढेकै कारण राजनीतिक त्रासदी देखिएको प्रा.सुमित सरकार र सुभाष गाताडेको मत छ । आनन्द तेलतुमडे भन्छन्, ‘संसारमा कतैपनि सर्वहाराहरूको आन्दोलन यति निराशाजनक ढंगले बाँडिएको देखिँदैन, जति भारतमा देखिन्छ ।’
नेपालका माक्र्सवादीहरूले भने दलित र उत्पीडितका नाममा संगठन, भ्रातृ संगठन खोल्ने, कसैले बृहत रूपमा दलित पहिचानका आधारमा गोलबद्ध गर्ने, मन्दिर प्रवेशजस्ता सुधारवादी संघर्षका लागि छुट दिने हदसम्म काम गरे, तर आफूले ल्याउने भनेको व्यवस्थामा वर्ण/जात व्यवस्था उन्मूलन गर्ने प्रक्रिया र दिशानिर्देश गर्ने मामिलामा टाउको दुखाउनु आवश्यक ठानेनन् । यो कुनै विचारधारात्मक कमजोरी मात्रै कदापि होइन, सांस्कृतिक–राजनीतिक–आर्थिक सत्ताको फेरबदल र हस्तान्तरणसँग पनि जोडिएको ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ (स्वार्थको द्वन्द्व) को द्योतक पनि हो । असमावेशी र अन्यायपूर्ण राज्य कायम रहने पुँजीवादी लोकतन्त्रलाई थोरै लोकतान्त्रीकण गर्ने क्रममा अँगालिएको आरक्षण र समानुपातिक समावेशीको सुधारवादी प्रावधानलाई समेत निहित स्वार्थका लागि अपहरण गर्ने सवर्ण राजनीतिक नेतृत्वको एकाधिकारलाई फेर्ने र श्रमजीवीहरूको नेतृत्व स्थापित गर्ने कुनै संरचना, प्रक्रिया र विधि–विधानबारे सोचिएको समेत छैन । आफ्ना वर्ग/वर्ण/जात/लिंग र क्षेत्रका निहित हित र स्वार्थ छाडेर उनीहरूले आफूलाई लोकतान्त्रीकण र मानवीयकरण गर्ने संरचना, विधि र संस्कृतिबारे पनि विकल्प बनाउने विषयमा त चिन्तासमेत लिएको छैन ।
सवर्ण पुरुष नेतृत्व हावी रहेका एमाले र माओवादी केन्द्रको बहुमतीय सरकार निर्माण र पार्टी एकताको महायज्ञ चलिरहेको बेला यस्ता विषय आफूलाई वामपन्थी, लोकतान्त्रिक र माक्र्सवादी ठान्नेहरूका चासो, र चिन्तनका मुद्दा कहिले बन्ने होलान्, थाहा छैन ।

प्रकाशित : पुस १८, २०७४ ०७:०० स्रोत: https://www.kantipurdaily.com/

0

दलित : हिन्दू समाजका पहिलो वैज्ञानिक, संगीतकार, सञ्चारकर्मी, सफाइ अभियन्ता र जोताहा हुन् !

आहुति

-आहुति: नेपाली समाजको अग्रगतिका निम्ति दलित समुदायको योगदान

 . भूमिका

नेपाली समाजमा आज पनि दलित समुदाय भनेको पछाडि परेको वा उत्पीडनमा परेको समुदायका रुपमा मात्र बुझ्ने आम चलन छ । यही बुझाइका कारण दलित अधिकारका पक्षमा बोल्न चाहने प्रगतिशील गैरदलित समुदायका व्यक्तिहरुले पनि दलित समुदायलाई सहानुभूतिको नजरले नै बढी हेर्ने दृष्टिकोण बन्न पुगेको छ । त्यसैगरी दलित मुक्तिको निम्ति संघर्षरत दलित योद्धाहरुमा समेत पनि आफ्नो समुदायका योगदानको ऐतिहासिकताबारे कम ध्यान गएर हुन सक्छ, आजको आवश्यकताको स्तरमा आफू र आफ्नो समुदायको अस्तित्वप्रति गर्वको भाव व्यक्त हुन सकिरहेको छैन । जुन समुदायले आफैप्रति र आफ्नो योगदानप्रति गर्व गर्न सक्दैन, त्यसले आफ्नो मुक्तिको दाबीलाई ठीक ढंगले प्रस्तुत गर्नै सक्दैन ।

आज नेपाली समाजमा दलित आन्दोलन र दलित समुदाय जुन स्थानमा आइपुगेको छ, त्यहाँबाट अझै माथि उठाउन नेपालको राज्यसत्ता र उत्पीडक वर्गले परम्परादेखि निर्माण गरेर लादेका अनगिन्ती भाष्य र अवधारणालाई परिवर्तन गर्नु जरुरी छ । मूलतः जातव्यवस्थालाई टिकाउन जातव्यवस्थामा आधारित भएर बनाइएका के ठीक, के बेठीक ? कस्तो राम्रो, कस्तो नराम्रो ? को माथि, को तल ? को अब्बल, को कमसल ? कुन भोजन, कुन कुभोजन ? को शिक्षित, को अशिक्षित ? को सफा, को फोहोरी ? के चोखो, के जुठो ? को साहसी, को कायर ? को पवित्र, को अपवित्र ? को महान्, को तुच्छ ? कुन जात, कुन कुजात ? जस्ता सयौं सयौं विषयमा बनाइएका उत्पीडनकारी भाष्य र अवधारणामाथि अब प्रश्न उठाउनै पर्दछ र त्यसलाई परिवर्तन गर्नै पर्दछ ।

नेपाली समाजमा दलित आन्दोलन दलित समुदाय जुन स्थानमा आइपुगेको , त्यहाँबाट अझै माथि उठाउन नेपालको राज्यसत्ता उत्पीडक वर्गले परम्परादेखि निर्माण गरेर लादेका अनगिन्ती भाष्य अवधारणालाई परिवर्तन गर्नु जरुरी

त्यही पुराना उत्पीडनकारी भाष्य र अवधारणामाथि प्रश्न उठाउने उद्देश्यका साथ दलित समुदायका सम्बन्धमा पहिलो आवश्यकता यही बन्न जान्छ कि नेपाली समाजको अग्रगतिका निम्ति दलित समुदायले गरेको योगदानको ऐतिहासिकताको खोज र सही व्याख्या गर्नु । नेपालको परम्परागत सत्ताको प्रस्तुति हेर्दा त यस्तो लाग्छ कि दलित समुदायको योगदान भनेको फगत बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह मात्र हो ! निश्चितै रुपमा दलित सबै हिन्दू शासित समाजमा सबैभन्दा बढी अमानवीय उत्पीडनमा पारिएको समुदाय हो, तर यो एउटा पाटो मात्रै हो । सबैभन्दा बढी अमानवीय उत्पीडनमा तीन हजार वर्षभन्दा बढी समयदेखि पर्दै आएर पनि दलित हिन्दू शासित समाजको अग्रगतिका निम्ति सबैभन्दा बढी योगदान गर्ने मानव जमात हो । वास्तवमा दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो । त्यो कसरी हो ? यही प्रश्नको उत्तर खोज्नु यस आलेखको मुख्य उद्देश्य हो ।

. समाजव्यवस्था निर्माण केले गर्दछ ?

स्कुल कलेजमा कलिला नानीहरुलाई समाज निर्माण ठूलठूला मानिएका राजा, महाराजा, सेनापति वा पण्डितहरुले आफ्नो बरकतले बनाएको जसरी पढाइन्छ । नेपालमा त यस्तो प्रचलन अझ बढी नै थियो र अझै यो भाष्य प्रयोग गर्न छाडिएको छैन । तर यथार्थमा कुनै पनि समाजव्यवस्थाको चरणको निर्माण, सञ्चालन र परिवर्तन गर्न मुख्य उत्प्रेरक भूमिका त्यस समाजको उत्पादक शक्तिले खेलिरहेको हुन्छ । उत्पादक शक्तिमध्ये पनि औजार र प्रविधिले नै उत्प्रेरकको भूमिका खेलिरहेको हुन्छ । त्यसपछि निर्णायक भूमिकाचाहिँ समाजका श्रमजीवी मानिसहरुले खेलिरहेका हुन्छन् । राजनीतिक परिवर्तनकारी प्रतिनिधि व्यक्तिहरु तबसम्म प्रकट नै हुँदैनन्, जबसम्म उसको आवश्यकता जन्माउने औजार र प्रविधि अनि त्यसलाई चलाएर उत्पादन गर्ने श्रमजीवी मानिस हुँदैनन् । राजनीतिक अर्थशास्त्रले निकालेको निष्कर्ष यही हो, र यही कुरा नै सत्य हो ।

 नेपालको परम्परागत सत्ताको प्रस्तुति हेर्दा यस्तो लाग्छ कि दलित समुदायको योगदान भनेको फगत बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह मात्र हो !

आरनको आविष्कार हुँदैनथ्यो भने सामन्तवादी समाज हुँदैनथ्यो, त्यसले प्रगति गर्न सक्दैनथ्यो । इन्जिनको आविष्कार हुँदैनथ्यो भने सामन्तवाद ढलेर पुँजीवादी समाज हुँदैनथ्यो । त्यसैगरी आरन र त्यसताकाका सबै प्रविधि र औजार प्रयोग गरेर उत्पादन गर्ने श्रमजीवी हुँदैनथ्यो भने, इन्जिन निर्माण गर्ने र सञ्चालन गर्ने मजदुर वर्ग हुँदैनथ्यो भने क्रमशः सामन्तवादी समाजको प्रगति र पुँजीवादको प्रगति पनि सम्भव थिएन । त्यसकारण सबै समाजको जन्म र अग्रगतिमा औजार एवं श्रमजीवी मानिसको भूमिका नै केन्द्रीय महत्त्वको विषय हो भन्ने कुरा प्रस्ट छ । यस दृष्टिविन्दुबाट हेर्ने बित्तिकै सबै समाजका शासक, महान् भनिएका व्यक्ति, औजार एवं प्रविधि र श्रमजीवी मानिसले गरेको उत्पादनमाथि जन्मिएर सकारात्मक वा नकारात्मक भूमिका खेल्ने पात्र बाहेक केही पनि होइनन् । त्यसैले नै आम रुपमा स्वीकार गरिएको हो कि इतिहासका निर्माता श्रमजीवी जनता हुन् । यसप्रकारको दृष्टिकोणबाट प्रवेश नगरी हिन्दू शासित समाजमा दलित समुदायको योगदानको ऐतिहासिक सत्यलाई बाहिर ल्याउन सकिँदैन, दलित समुदाय भनेको निरीह, तल परेको, कुनै महान् योगदान नभएको भनी प्रस्तुत गरिएको परम्परागत सत्ताको प्रशिक्षण वा भाष्यलाई बदल्नै सकिँदैन ।

सिन्धु घाँटी हुँदै गंगा मैदानसम्म आइपुगेर पूर्ण रुपमा विकसित जातव्यवस्थामा आधारित हिन्दू समाजलाई अध्ययन गर्‍यो भने पनि यो यथार्थ छर्लङ्ग हुन्छ । दास युग हुँदै सामन्तवादको पूर्ण विकाससम्म अर्थात भनौँ भारतमा ब्रिटिसहरु इन्जिन लिएर नपस्दासम्म तत्कालीन हिन्दूस्थान र तत्कालीन नेपालको हिन्दू समाजमा मुख्य औजार एवं प्रविधि के थिए र श्रमजीवी को थिए ? आरन, तेल पेल्ने कोल, गोरु गाडा, घोडे रथ, चर्खा र हातेतान, डुंगा, कपडा रंगाउने खाडी, काँचो छाला प्रशोधन प्रविधि आदि । यी सबै औजार र प्रविधिको केन्द्रविन्दुमा थियो आरन, जुन बिना धेरैजसो औजार र हतियारको निर्माण सम्भव नै थिएन । र, त्यो आरन अनि सबै सबै औजार प्रयोग गरेर कृषि उत्पादन बढाउने, ललितकलाको विविध रुपको विकास गर्ने, सेवा गर्ने कामको केन्द्रमा शुद्र थियो । यो इतिहास र समाजशास्त्रले प्रमाणित गरेको तथ्य हो ।

सबैभन्दा बढी अमानवीय उत्पीडनमा तीन हजार वर्षभन्दा बढी समयदेखि पर्दै आएर पनि दलित हिन्दू शासित समाजको अग्रगतिका निम्ति सबैभन्दा बढी योगदान गर्ने मानव जमात हो वास्तवमा दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो त्यो कसरी हो ?

यस अर्थमा दक्षिण एसियाको हिन्दू सभ्यताको मुख्य चालक वर्ण भनेकै शुद्र हो । त्यही शुद्रभित्रबाट अछूत बनाइएको हिस्सा, जो आज दलितका नामले चर्चित छ, यो दलित समुदाय स्वतः त्यस चालक हिस्साको अंग रहँदै आयो भन्ने कुरा सहज रुपमा बुझ्न कुनै कठिनाइ पर्ने विषय रहेन । विगत तीन हजार वर्षभन्दा बढी समयदेखि लगातार श्रमजीवी मात्रै रहँदै आएको संसारकै एक मात्र समुदाय आजको दलित हो, यो समुदायले इतिहासमा कसैलाई शोषण गरेन, कसैलाई अत्याचार गरेन । यदि श्रमिक हुनु, काम गरी खानु गर्वको विषय हो भने विगत तीन हजार वर्षमा सबैभन्दा बढी गौरवमय जीवन दलितकै रह्यो । सबैभन्दा बढी मानवतावादी इतिहास वस्तुतः दलितकै रह्यो । जातव्यवस्थामा उच्च जातमा रहेकाले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए । उनीहरुले मोजमस्ती गरे, दमन गरे, अत्याचार गरे, उत्पीडनका नयाँ नयाँ नियम बनाए तर उनीहरुले आरन चलाएनन्, हलो जोतेनन्, वस्त्र सिलाएनन्, कपडा बुनेनन्, धागो काटेनन्, काँचो छालालाई पाको बनाएनन्, तेल पेलेनन् । वास्तवमा समाजलाई अग्रगतितिर लैजान उनीहरुले आधारभूत रुपमा श्रम नै गरेनन् । सत्य यही हो । दक्षिण एसियाको इतिहासमा श्रमको गौरव हिन्दू समाजको कथित उच्च जातको भागमा कदापि पर्न सक्दैन । त्यो गौरव दलितको अंशमा मात्र छ भन्ने सही भाष्यको निर्माण अब जरुरी छ ।

. नेपाली समाजको अग्रगति दलित

() पहिलो वैज्ञानिकदलित !

अन्य सामन्तवादी समाजमा जे थिए नेपालको हिन्दू शासित सामन्तवादी समाजको विकसित औजार र प्रविधि मूलतः तिनै थिए । आरन, हलो, गोरु गाडा, चर्खा एवं हातेतान, छाला प्रशोधनको प्रविधि, कपडा रंगाउने विधि आदि । त्यसको केन्द्रमा थियो आरन र त्यो आरनको निर्माता एवं सञ्चालक दुवै नै पहाडमा छुवाछूत समेत गरिने शुद्र कामी र तराईमा छुवाछूत नगरिने परम्परागत शुद्रभित्रको लोहार । राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालका फलाम र तामा खानी बन्द गराउनुभन्दा पहिले ती खानी सञ्चालन गर्ने मुख्य वैज्ञानिक एवं प्राविधिक दलितभित्रका कामी थिए । उनीहरुलाई आग्री पदीय नामले पुकारिन्थ्यो, आज पनि त्यो पदीय नाम थरको रुपमा तिनका सन्ततिमा कायमै छ । खानीबाट फलाम र तामा निकाल्ने औजार, भाँडाकुँडा र हतियार बनाउनु भनेको त्यतिबेलाको विज्ञान र प्रविधिको उच्च रुप थियो । त्यो कामलाई फत्ते गर्ने दलितहरु त्यतिबेलाको हिन्दू समाजका प्रथम वैज्ञानिक र प्राविधिकहरु थिए ।

 भारतको कानपुरजस्तो परम्परागत छालाको केन्द्रमा समेत सम्मानपूर्वक नाम लिइने दैलेखमा सावर छाला उत्पादन गर्ने दलित छालाका वैज्ञानिक होइनन् ?

घोडाको काँठीमा बस्न मात्र जान्ने, हलो नजोत्ने अनि जुत्ता लगाउन मात्र जान्ने शासकहरुको पक्षमा बोल्ने इतिहास र समाजशास्त्रले बताउन नचाहे पनि गाई, गोरु, भैंसी, बाख्रा, भेंडा आदि जनावरका आलो छालालाई काती र अमला, लप्सी वा अन्य रुखको बोक्रामा पाइने क्षार (Base) लाई प्रयोग गरेर गन्ध नआउने, नकुहिने पाको छाला तयार पारी काँठी, हल्लुँडो, जुत्ता र छालाका सामान तयार पार्ने सार्की वा चमारजस्ता दलितहरु त्यतिबेलाका वैज्ञानिक एवं प्राविधिक होइनन् भने अरु के हुन् त् ? भारतको कानपुरजस्तो परम्परागत छालाको केन्द्रमा समेत सम्मानपूर्वक नाम लिइने दैलेखमा सावर छाला उत्पादन गर्ने दलित छालाका वैज्ञानिक होइनन् ? कागजका नोटभन्दा पहिलेका सबै टक्सारका प्राविधिक को हो ? दलित हो । नेपालमै पहिलो बन्दुक बनाउने को हो ? दलित हो । आधुनिक नेपालका प्रथम वैज्ञानिक भनिएका गेहेन्द्र शमशेरका प्रयोगशाला एवं ज्यासलका मुख्य प्राविधिक तिनै ऐतिहासिक वैज्ञानिकका खलक कामी र सार्की नै थिए ।

नापी-नापी सूर निकाल्ने वा भनेकै ताल निकाल्ने मादल, सारङ्गी, सनई आदि वाद्यवादनका आविष्कारक र निर्माता के तिनै दलित होइनन् ? भाँती-भाँतीका वस्त्रका ढाँचा निकाल्ने ती दलित वस्त्रशास्त्रका प्रथम प्राविधिकबाहेक अरु के हुन् ? जताबाट हेरे पनि जताबाट नापे पनि नेपाली हिन्दू शासित सभ्यताको प्रथम वैज्ञानिक एवं प्राविधिक दलित हो भन्ने कुरामा कसैले विमति राख्नु पर्ने देखिँदैन ।

 () पहिलो संगीतकारदलित !

नेपालमा रहेका सबै सभ्यता र जातिमा ऐतिहासिककालदेखि बन्दै आएका गीत संगीत छन्, हुन्छन् नै तर ती गीतसंगीतका रचनाकार थाहा हुँदैन । त्यो कालान्तरदेखि चल्दै परिमार्जन हुँदै आएका हुन्छन् । तर नेपालको हिन्दू शासित समाजमा भने गीत, संगीत र नृत्य बनाइरहने समुदाय दलित हो । गन्धर्व त्यतिबेलाको समकालीन विषयमा नै गीतसंगीत निर्माण गर्ने समुदाय हो । त्यस्तै वादी र दमाई पनि संगीत र नृत्यमा त्यो भूमिका समेत पूरा गर्ने समुदाय हुन् । मारुनी, ढाल तरबार नृत्य, पातर नृत्यजस्ता सयौं संगीत र नृत्यका जननी एव संगीत क्षेत्रका प्रथम उस्तादहरु दलित नै हुन् । हिन्दू समाजमा कथित उच्च जातसँग कुनै गीतसंगीत नै थिएन भन्ने होइन, तर मुख्य संगीत क्षेत्रको भूमिका दलितले नै पूरा गर्दै आएको सन्दर्भलाई उदाङ्ग पार्न मात्र यस विषयलाई यहाँ प्रस्ट पारिएको हो ।

 जातव्यवस्थामा उच्च जातमा रहेकाले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए मोजमस्ती गरे, दमन गरे, अत्याचार गरे, उत्पीडनका नियम बनाए तर आरन चलाएनन्, हलो जोतेनन्

 () पहिलो सञ्चारकर्मीदलित !

आज सञ्चार क्षेत्र सेवाभन्दा व्यापार र राजनीतिको महत्वपूर्ण विषयका रुपमा विकास हुँदा दलितहरु त्यस क्षेत्रमा धेरै नै पछि पर्न पुगे तर नेपाली समाजको प्रथम सञ्चारकर्मी भने दलित समुदाय नै हो । पहाडमा कट्वालका रुपमा समाचार सम्प्रेषण हजारौँ वर्षदेखि दलितले नै गर्दै आए । मिसन सञ्चारकर्मीका रुपमा भने गन्धर्वहरुले युद्धका, व्यवस्थाका, प्राकृतिक प्रकोपका गीत बनाएर गाउँ-गाउँ सन्देश बाँड्दै आए, सूचना र विचार सञ्चार गर्दै आए । कट्वाल प्रथा त अझै पश्चिम नेपालमा जीवितै छ । तराई क्षेत्रमा ढोल पिटेर बस्ती बस्ती सूचना बाँड्ने काम पनि त्यतिबेला पानी अचल बनाइएको समुदायकै जिम्मामा थियो ।

() पहिलो सफाइको अभियन्तादलित !

निश्चितै रुपमा सफाइ पेसाका रुपमा दलितभित्रका खास-खास जातमाथि लादिएको हो । शासकहरुले लादेको हुनाले नै सफाइ गर्ने समुदायलाई त्यसले फोहोरी भनी लाञ्छना लगाउँदै आयो । सफाइ गर्ने कामलाई नै फोहोरी एवं कमसल काम हो भन्ने अवधारणाबाट सिंगै समाजलाई प्रशिक्षित गर्‍यो, जुन बिल्कुल गलत थियो । फोहोर सफा गर्नु फोहोरी काम हो र सफा गर्ने मानिस फोहोरी हो भने फोहोर गर्नु चाहिँ सफा काम हुनसक्छ त ? शहर फोहोर मात्र गर्ने चाहिँ सफा समुदाय अनि त्यो फोहोरलाई सफाइ गरेर सिंगै बस्तीलाई रोगव्याधी फैलिनबाट रोक्ने र सफा पार्ने चाहिँ झन् उल्टो फोहोरी समुदाय ? कति षडयन्त्रकारी उत्पीडक मान्यता ! च्यामे, पोडे, डोम, हलखोर जात फोहोरी अनि फोहोर मात्र गर्ने तर सफाइ नगर्ने जातहरुचाहिँ सफा ?

वास्तवमा फोहोर र सफा अनि जुठो र चोखो भनेको बनाइएको मान्यता मात्र हो, यथार्थ होइन । स्वास्थ्यलाई हानिकारक हुने अर्थको फोहोर यथार्थ हो तर मान्यताको फोहोर भने मान्यता मात्र हो । हिन्दू पुरेतको अबीर केशरीले रंगिएको हात अर्को धर्मको धार्मिकका लागि फोहोर हो किनकि त्यो मान्यता मात्र हो । हातले भात खाउञ्जेल भात लागेको हात फोहोर होइन तर खाएपछि फोहोर हो, किनभने त्यो मान्यता हो । तर दिसा नधुनु फोहोर हो किनभने त्यो हानिकारक हुन्छ । त्योचाहिँ यथार्थ फोहोर हो ।

यसरी हेर्दा दलितलाई फोहोर देख्ने, अझ दलितभित्रका सफाइकर्मीलाई फोहोरी देख्ने दृष्टिकोण कथित मान्यता मात्र हो, यथार्थ होइन । यथार्थमै फोहोरीपनको श्रोत के हो ? एक, अभाव र गरिबी । दुई, चेतनाको न्यूनता । फरक फरक सभ्यताका मानिसमा र फरक फरक समाज विकास चरणका मानिसमा चेतनामा नै गुणात्मक फरक हुनसक्छ । तर दलित र हिन्दू समाजका गैरदलित त एउटै सभ्यताका हुन् र समान समाज विकासको चरणमा सँगसँगै छन् । तसर्थ, सफाइसम्बन्धी चेतनामै गुणात्मक अन्तर कहिले पनि थिएन र छैन । गैरदलितले बच्चा जसरी हुर्काउँछ, दलितले त्यसरी नै स्याहार गर्छ । पकाउने, नुहाउने, कपडा धुने काइदा तरिका उही थियो र छ । तसर्थ चेतनामै अन्तर हुँदै होइन । यहाँ मूल पक्ष अभाव र गरिबीले खेलेका थिए र छन् । गरिबीको कारणले हुने फोहोरीपन त कथित हिन्दू उच्च जातभित्रका गरिब परिवारमा पनि स्वतः हुन्छ, जुन सबैले देखेकै भोगेकै कुरा हो । तसर्थ दलितलाई र दलितभित्रका, सफाइ पेसा तोकिएका जातहरुलाई फोहोरी किटान गर्नु एउटा दमनकारी शासकीय मान्यता मात्र हो । यसरी विश्लेषण गर्दा दलितभित्र सफाइ पेसामा पुस्तैनी क्रियाशील जातहरु सरसफाइका अभियन्ता समुदायहरु हुन् । हो, फोहोर मात्र गर्नेभन्दा फोहोरलाई सफाइ गर्नेहरु ऐतिहासिक रुपमा यथार्थमा सफा समुदाय हुन् ।

 () प्रथम जोताहादलित !

सामन्तवादी समाजको मुख्य उत्पादनको क्षेत्र कृषि हो भन्ने प्रस्टै छ । तर हिन्दू समाजमा तागाधारीभित्र रहेकाले त शुरुमा हलो जोत्नै हुँदैनथ्यो, खेतीमा काम त तल्लो स्तरको श्रम मानिन्थ्यो । त्यसैले कतै हलिया बँधुवा बने, कतै बँधुवा हरवा बनेर हलो जोत्ने काम दलितकै रहिआएको हो । तराईका मुसहरको त माटो काट्ने जात भनेर समेत परिचय बनेको छ । यसप्रकार सिंगो हिन्दू समाजलाई भरण पोषण गर्न सबैभन्दा बढी पसिना बगाएको प्रथम जोताहा नेपाली हिन्दू शासित समाजको दलित नै हो भन्ने यथार्थ स्वतः प्रस्ट छ ।
यस बाहेक सिकर्मी, डकर्मी, बेतबाँस, रोगको उपचारलगायत सर्वत्र क्षेत्रमा नेपाली हिन्दू समाजको निर्माण, सञ्चालन र अग्रगतिका निम्ति दलित समुदायले चालक समुदायका रुपमा पुर्‍याउँदै आएको योगदान दिनको घामभन्दा पनि उज्यालो छर्ने गरी छर्लङ्ग छ ।

 हिन्दू शासित सभ्यताको अग्रगतिको चालक समुदायको भूमिका खेल्दै आएकोले यो समाजको मुख्य अंशियार हो भन्ने अवधारणासहित आन्दोलनलाई अगाडि बढाउनु पर्दछ

 . निष्कर्ष

यसप्रकार हिन्दू शासित रहँदै आएको अन्यत्रको जस्तै नेपाली समाजको पनि दलित केवल पछाडि पारिएको, निरीह, योगदानविहीन, कमसल समुदाय होइन, बरु यस समाजको निर्णायक चालक समुदाय हो । विज्ञान-प्रविधि, संस्कृतिका आधारभूत आयामहरु अनि सिंगो समाजको पेट भर्न निर्णायक योगदान गर्दागर्दै पनि राज्यसत्ताले गरेको अमानवीय दमन र बहिष्करणका कारणले दलित जीवन ध्वस्त बन्दै आयो । आज पनि त्यो ध्वस्तकरणको प्रक्रिया रोकिएको छैन, यो विडम्बनायुक्त पाटो त छँदैछ तर हिन्दू शासित समाजको भव्य सभ्यता निर्माणमा मुख्य योगदान भने उनीहरुले नै गरेका हुन् भन्ने कुरा प्रस्ट छ । यसरी हेर्दा दास युगपछि सबैभन्दा सिर्जनशील र सबैभन्दा श्रमशील भएर पनि जीवन ध्वस्त पारिएको संसारको एक मात्र समुदाय दलित हो ।

हिन्दू शासित सभ्यता र समाजलाई अग्रगति दिन दलित समुदायले पुर्‍याएको निर्णायक योगदानलाई छोपछाप पार्दै सबै हिन्दू समाज र नेपालको पनि हिन्दू उच्चजातीय राज्यसत्ताले ‘अछूत’ करार दियो, कुरुप बतायो, कमसल मान्छे भन्यो, अशिक्षित बुद्धि नहुने जात भन्यो, पापको फल भोग्ने कुजात भन्यो, जाँड खाने भनेर अपमान गर्‍यो, सिनो खान र फाल्न बाध्य पार्‍यो । बोक्सीको आरोपमा बढीभन्दा बढी यसैलाई डाम्यो आदि आदि । यसो गर्दै हिन्दू उच्चजातीय सत्ताले दलित व्यक्ति र दलित अस्तित्वलाई हेर्ने अवधारणा र भाष्य नै अत्याचारी एवं अपमानजनक बनाएर सिंगो समाजलाई त्यही प्रशिक्षण लिन र व्यवहार गर्न बाध्य पार्‍यो ।

अबको आवश्यकता भनेको हिन्दू उच्चजातीय उत्पीडनकारी राज्यले निर्माण गरेको दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हो । उसले बनाएका अवधारणा र भाष्यमै परिवर्तन गर्न दलित आन्दोलन र दलित मुक्तिका पक्षधर गैरदलित समुदायले वैचारिक एवं व्यावहारिक संघर्ष गर्नु जरुरी छ । आजसम्मको आन्दोलनको सार दलित पनि अरु सरहको मानिस हो भन्ने भाव वरपर केन्द्रित थियो । सहानुभुति खोज्ने वा सहानुभूति गर्नुपर्छ भन्ने भावको वरपर थियो । दलित पनि नागरिक हो, त्यसैले उसले हक अधिकार पाउनुपर्छ भन्ने नाराको वरपर थियो ।

अब आन्दोलनको भाव र वैचारिक पक्षलाई माथि उठाउनु जरुरी छ । दलित मानिस नै हो मात्र होइन, ऊ इतिहासमा समाज निर्माण र सञ्चालनमा निर्णायक भूमिका खेल्दै आएको समुदाय हो, त्यसैले सहानुभूति होइन, सम्मानको लायक हो भन्ने भाष्य अँगीकार गर्नुपर्दछ । र हिन्दू शासित सभ्यताको अग्रगतिको चालक समुदायको भूमिका खेल्दै आएकोले ऊ यो समाजको मुख्य अंशियार हो भन्ने अवधारणासहित आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

२०७३ आषाढ

२०७३ असार गते काठमाडौंमा सम्पन्न नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौं राष्ट्रिय सम्मेलनको क्रममा आयोजित अन्तर्क्रियामा प्रस्तुत कार्यपत्र

 

0

ज्यानै लिने विभेदकारी तुसको औषधी के होला ?

ज्योतिलाल बन

ज्योतिलाल बन

ज्योतिलाल बन : आजभन्दा चार वर्षअघि शिक्षण अस्पताल महाराजगंजमा उपचार गर्दागर्दै ४५ वर्षे प्रकाशराज तिमल्सेना बिते । चिकित्सकले बताएअनुसार जण्डिस भएको अवस्थामा पनि अत्यधिक रक्सी र चुरोट सेवन गरेकाले उनको मृत्यु भयो । छोरीले परियार (दमाई) सँग प्रेमविवाह गरेको कुरा उनी र उनको समाजलाई स्वीकार्य भएन । त्यसैले बढ्दो मानसिक पीडा कम गर्न उनले जण्डिस निको नभइसकेको अवस्थामा पनि रक्सी र चुरोट खाए । यही नै उनका लागि काल सावित हुन पुग्यो ।
Continue Reading

0

बलदेव रामको चारपुस्ते आन्दोलनको नालिबेली

भोला पासवान

भोला पासवान

-भोला पासवान : उनीबारे संचारमाध्यममा आएका सामग्री खासगरी २०५६ सालताका उत्कर्षमा पुगेको सिनो बहिष्कार आन्दोलन र त्यसपछि २०६१ सालपछि भूमिअधिकार आन्दोलनमा केन्द्रित थिए । यो पंक्तिकारले करिब तीन वर्षअघि देखि नै उनको जीवनी लेख्ने उद्देश्यले अनेक पटक औपचारिक/अनौपचारिक कुराकानी गरेको थियो । कुराकानीबाट के बुझियो भने खासमा बलदेव रामअघिका तीन र अहिले उनका छोराहरूले गरेको आन्दोलन हेर्दा चार पुस्तादेखि बलदेव रामको परिवार अन्याय र अत्याचारको विरोधमा र भूमि अधिकारका लागि संघर्षरत रहेको इतिहास छ । Continue Reading

0

अम्बेडकर, ग्राम्सी र आलोचनात्मक सचेतना

अमर विक

अमर विक

‘दलित रीडर’का लागि मेरो लेखाइ अम्बेडरबारे लेखेर शुरु गर्न मन लाग्यो । दुईवटा कारणले यस्तो मन लागेको हो । पहिलो, यस ब्लगकोे नाम ‘दलित रीडर’ राखिएको र यसको उद्देश्य दलितसम्बन्धी वैचारिक छलफल गर्ने तथा ज्ञान उत्पादन गर्ने भएकाले मुक्तिको संघर्षमा ज्ञान, अध्ययन वा शिक्षाको कस्तो भूमिका रहन्छ र यी कस्ता खालका हुनुपर्छ भन्नेमा अम्बेडकरका विचार महत्वपूर्ण भएकाले त्यसमा केही लेख्न मन लाग्यो । दोस्रो, म अम्बेडकरका विचारबाट निकै प्रभावित छु र त्यसकारण यस ब्लगमा उहाँबारे लेखाइ शुरु गरेर उहाँप्रति सम्मान व्यक्त गर्न पनि चाहन्छु ।

अम्बेडकरको कोट र गान्धीको लँगौटी

जब म अम्बेडकरलाई सम्झन्छु, मेरो मानसपटलमा बायाँ हातमा एउटा किताबसहितको नीलो सुट र टाई लगाएको उहाँको एउटा तस्बिर आउँछ । उहाँका तस्बिर र सालिकमा अम्बेडकरलाई प्रायः खल्तीमा दुईटा कलमसहितको शुट र टाईमा देखिन्छ । र, एउटा किताब पनि प्रायः छुटेको हुँदैन । किताबले भारतीय संविधान लेखनमा अम्बेडकरको भूमिका तथा उहाँले शिक्षालाई दिएको महत्व दुवैको संकेत गर्छ । अम्बेडकरका पहिरन, कलम, किताब, र अन्य चिजलाई विशेषगरी उहाँको मृत्युपछि दलित आन्दोलनको प्रतीकका रुपमा प्रयोग गरिएका भए पनि यी चिजलाई उहाँले आफ्नो वास्तविक जीवनमा पनि निकै महत्व दिनुभयो ।

झट्ट हेर्दा पश्चिमी पहिरन र किताबमा उहाँले दिएको महत्व अलि अमिल्दोजस्तो देखिन्छ । एकातिर उहाँले प्रतिनिधित्व गरेका आम दलितको जीवन निकै कष्टकर थियो । उनीहरुलाई पश्चिमी पहिरनको रोजाइभन्दा पनि जस्तोसुकै भए पनि एकसरो कपडा लगाउनै मुश्किल थियो । त्यसकारण अम्बेडकरको पहिरनले आम दलितको अनुभवको प्रतिनिधित्व गर्ने कुरै भएन । अर्कातिर, अम्बेडकरका कट्टर राजनीतिक प्रतिद्वन्द्वी महात्मा गान्धीचाहिँ एउटा लँगौटीमात्र लगाउँथे, भारतमै बनेको कपडाको । उनका प्रायः तस्बिरमा गान्धी एउटा चर्खामा धागो कातेका देखिन्छन् । गान्धीले ब्रिटिस उत्पादित सामान बहिष्कार गरी घरेलु उत्पादनमा जोड दिएका थिए । गान्धीको लँगौटी र चर्खा ब्रिटिस उपनिवेशवादको विरोधको प्रतीक थियो ।

उपनिवेशवाद र ब्राह्मणवादको एकसाथ विरोध

अम्बेडकरको पश्चिमी पहिरनको प्रतीक उपनिवेशवादको समर्थन भने कदापि थिएन । अम्बेडकरले ब्राह्मणवाद जत्तिकै उपनिवेशवादको पनि खरो आलोचना गर्नुभयो र दुवै वादविरुद्धको संघर्ष सँगसँगै चलाउनुभयो । उपनिवेशवाद र ब्राह्मणवाद उस्तै–उस्तै हुन् भन्ने उहाँको तर्क थियो । उहाँका अनुसार उपनिवेशवाद उपनिवेशको स्रोत र साधनको दोहनमा भर पर्छ भने ब्राह्मणवाद दलितहरुको श्रमबाट बाँच्छ । त्यसकारण, उहाँका अनुसार दलितहरु आन्तरिक औपवेशनिक समूह हुन् । अझ, उपनिवेशवादले ब्राह्मणवादलाई मलजल गरेको वा झन् बलियो बनाएको दाबी थियो अम्बेडकरको । ब्राह्मणवादचाहिँ अचम्मको वाद छ । दमन र शोषणका लागि यो अन्य जुनसुकै वादसँग पनि सजिलै घुलमिल भइहाल्छ, परिस्थितिअनुसार यसले आफूलाई सजिलै बदल्न सक्छ । दलितमाथिको अत्याचार र शोषणमा उपनिवेशवादसँग मिल्यो, पुँजीवादसँग मिल्यो, अहिले नवउदारवादसँग मिलेकै छ । र, माक्र्सवादसँग पनि मिलेकै छ ।

गान्धीले आफ्नो सामाजिक र राजनीतिक दर्शनमा हिन्दू धर्म र परम्परालाई केन्द्रमा राखे भने अम्बेडकरले यसलाई ठाडै नकारे । ब्राह्मणवाद तथा वर्णव्यवस्थामा आधारित भारतीय समाज सामाजिक दुष्टता र अन्धविश्वासले ग्रस्त भएकाले यसबाट उन्मुक्ति पाउन पश्चिमी ज्ञान, विचार र प्रविधिको आवश्यकता पर्ने उहाँको तर्क थियो । अझ दलित समुदायका लागि त ब्राह्मणवादलाई जित्ने मुख्य औजार नै पश्चिमी ज्ञान, विचार तथा आधुनिकताको अँगीकार हो भन्ने उहाँको विचार थियो । त्यसकारण, सुट र टाई अम्बेडकरको आधुनिकताप्रतिको विश्वासको प्रतीक थियो ।

अर्गानिक बुद्धिजीवीहरुको मुख्य भूमिका

अम्बेडकरको एउटा चर्चित भनाइ छ, ‘एजुकेट, एजिटेट, अर्गनाइज ।’ अर्थात् शिक्षित बन, आन्दोलित होऊ र संगठित होऊ । दलितहरुको मुक्तिका लागि अम्बेडकरले शिक्षालाई सबैभन्दा बढी जोड दिनुभयो । शिक्षालाई पहिलो सर्तका रुपमा लिनुभयो । ज्ञान र सीप आर्जन गरी जागिर खानुभन्दा पनि शिक्षाको लक्ष्य व्यक्तिगत र सामाजिक रुपान्तरणका हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । मस्तिष्क मन्थन वा मथिंगल गर्ने हदसम्म आन्दोलित होऊ भन्ने आह्वानले चाहिँ आलोचनात्मक शिक्षा र छलफललाई जोड दिन्छ । यसको उद्देश्य भनेको असमानता र दमनका श्रोत र सम्बन्ध पहिल्याउने र त्यसविरुद्ध आवाज उठाउने हो । मुक्तिको आन्दोलनमा यसप्रकारको आलोचनात्मक शिक्षाको आवश्यकता अन्य दार्शनिकले पनि वकालत गरेका छन् ।

अम्बेडकरकै समकालीन चिन्तक हुन् अन्तोनियो ग्राम्सी । प्रसिद्ध इटालियन नव–माक्र्सवादी ग्राम्सीले पनि मुक्तिको आन्दोलनमा शिक्षाको प्रमुख भूमिका देखे । उनका अनुसार, आन्दोलनमा मात्र होइन, प्रभुत्वशाली समूहको वर्चस्वमा पनि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । दमन गर्ने शक्ति वा प्रभुत्व लाद्ने शक्ति आर्थिक सम्बन्धबाट आउँछ भन्ने माक्र्सको सिद्धान्तलाई नै उल्ट्याउँदै ग्राम्सीले यस्तो शक्ति शिक्षा, धर्म र रीतिरिवाजजस्ता सांस्कृतिक र सामाजिक चिजबाट आउँछ भने । उनले उत्पीडित समूहले किन आफैमाथि दमन र शोषण भएको वास्तविकता पनि थाहा पाउँदैनन्, कसरी उनीहरु आफूमाथि भएका दमन र शोषणलाई पनि सहमति दिन्छन् वा झन् मलजल गरिरहेका हुन्छन् भन्ने निकै राम्रोसँग विश्लेषण गरेका छन् ।

शक्तिशाली समूहले भौतिक बल, डर वा धम्कीको प्रयोगको सट्टा सांस्कृतिक र सामाजिक माध्यमबाट शासनका लागि उत्पीडितहरुकै सहमति लिएका हुन्छन् भन्ने उनको भनाइ छ । माक्र्सवादी भाषामा झुटो सचेतना (फल्स कन्सियसनेस) भनिने यस्तो सहमतिलाई उजागर गर्न उत्पीडित समूहमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने ग्राम्सीको जोड रहेको छ । र उत्पीडितहरुमा यस्तो प्रकारको शिक्षा, विशेषगरी आलोचनात्मक सचेतना प्रवाह गर्नमा उत्पीडित समूहका अर्गानिक बुद्धिजीवीहरुको मुख्य भूमिका हुने उनको दाबी छ । पाउलो फ्रेरे र फ्रान्ज फानुँ जस्ता अन्य प्रभावशाली दार्शनिकले पनि मुक्तिको संघर्षमा शिक्षा, विशेषगरी आलोचनात्मक शिक्षा वा सतेचतना फैलाउने कामको मुख्य भूमिका हुनुपर्ने कुरामा जोड दिएका छन् ।

अम्बेडकर, ग्राम्सी, फानुँ र फ्रेरेका विचारले फरक फरक समय र सन्दर्भलाई प्रतिनिधित्व गरेको भए पनि यी विचार ब्राह्मणवादविरुद्धको आन्दोलनमा हाम्रा लागि अझै पनि निकै सान्दर्भिक छन् । हामीले राजनीतिलाई धेरै नै महत्व दिएका छौं, त्यो पनि माथिल्लो तहको राजनीतिको । हाम्रो तरिका पनि ‘टप डाउन’ खालको जस्तो छ । माथितिर मिल्यो भने तलतिर त्यसै मिलिहाल्छ भन्ने खालको छ । आम रुपमा सचेतना निर्माणमा हामीले निकै नै कम महत्व दिएका छौं जस्तो लाग्छ । विगत एक दशकको संविधान निर्माण प्रक्रियाको सन्दर्भमा राजनीति र केन्द्रलाई महत्व दिनु सान्दर्भिक नै देखिए पनि समग्रमा हामीले सचेतना निर्माणमा कमै महत्व दिएका छौं ।

शासक र शक्तिशाली समूहलाई शिक्षा र ज्ञानको निकै ठूलो डर हुन्छ । उनीहरु सकेसम्म उत्पीडित समूहलाई शिक्षा र ज्ञानबाट वन्चित राखिछाड्ने प्रयास गर्छन् । ब्राह्मणवादले दलितलाई पुस्तक पढ्नमात्रै होइन ब्राह्मणले पढेको सुन्न समेत बन्देज लगायो । त्यसैगरी, ब्राह्मणवादी राणाहरुले जनतालाई पढ्नबाट रोके । नदेखिने र नजानिँदो गरी त हाम्रा विद्यालय, विश्वविद्यालय र मिडियाले अझै पनि ब्राह्मणवादी शिक्षा र ज्ञान फैलाइराखेकै छन् । त्यसकारण, अम्बेडकरले भनेझैँ आम दलित समुदायलाई शिक्षा, विशेषगरी आलोचनात्मक शिक्षा वा ब्राह्मणवादविरुद्धको सचेतना फैलाउने काम हाम्रा लागि अझै पनि मुख्य आवश्यकता हो ।

बिक अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालयमा मानवशास्त्रमा विद्यावारीधि गर्दै छन् ।

0

राजीमान सार्कीलाई कडा कारबाही गरियोस् सर्खार !

विमल आचार्य

न्यूनतम सुविधाबाट समेत वञ्चितीकरण र बहिष्करणमा पारिएको क्षेत्र कर्णाली र समुदाय दलितले भोग्नुपरेको दोहोरो दलनका प्रतिनिधि हुन् राजीमान सार्की । उनी माओवादी नेतृत्वको सशस्त्र आन्दोलनमा लागेनन् तर छापामारका दाइ भए । विद्रोही र सरकारी दुवै पक्षबाट शारीरिक र मानसिक यातना पाएका उनी सबाल्टर्नका पनि बाउ हुन् । उनीसित कुरा गरिसकेपछि लाग्यो— निर्धा, निमुखा, निरक्षर र निःसहाय नागरिकहरु नेतादेखि हामी लेखकसम्म सबैका खेलौना पात्र मात्र रहेछन् ।

जबसम्म उनीहरु क्यारेक्टरबाट न्यारेटर, एक्टरबाट डिरेक्टर, पिपलबाट सिटिजन बन्न सक्दैनन् तबसम्म जति ठूला राजनीतिक परिवर्तनको पनि काम छैन । विकासका मानवीय, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक सबै सूचकका आधारमा पिँधमा रहेको हालको प्रदेश ६ चुप छ । यसो भन्दैमा के ऊ सन्तुष्ट र तृप्त छ ?

झाडापखालालाई प्राणघातक रोग कहाँ ठानिन्छ ? एक किलो चामल र नुनका लागि महिनौं प्रतीक्षा र हप्तौं हिँड्नु कहाँ पर्छ ? सुत्केरी हुन नसकी मरेका सन्तान र आमाको तथ्याङ्क कहाँ कति छ, थाहा छैन ? यो युगमा सडक नै छैन भने त्यहाँ कस्तो विकास र सुख छ ? सडक (यातायात) नै नभएका ठाउँमा अरु केही पूर्वाधार विकास हुन्छ ? न शिक्षक न पुस्तक, न सिटामोल र डाक्टर, न नुन न चामल, न पोषण र सरसफाइ, न चेतना न प्रतिरोध, न पहुँच र प्रतिनिधित्व, न शासक न प्रशासक, न उद्योग न रोजगार, न बिजुली न फेसबुक । अब म थप भूमिका नबाँधी डोल्पाका राजीमान सार्कीको कथा र व्यथा प्रस्तुत गर्छु ।

दोहोरो दलन

उनको नाउँ राजीमान सार्की हो । उनी पैंतीस वर्ष भए । उनको घर डोल्पा जिल्लाको त्रिपुराकोट गाविस वडा नम्बर १, सार्कीटोलमा छ । त्यहाँ सार्कीहरुका ४५ घर छन् । घर त के भन्नु, चरचर भएका खरका छाना छन् । त्यहाँबाट सदरमुकाम दुनै पुग्न चार घन्टा लाग्छ । अनि, जुफाल एअरपोर्ट पुग्न डेढ घन्टा लाग्छ ।

उनी पाँच दाजुभाइ र एक बहिनीमध्येका साइँला छोरा हुन् । उनको औपचारिक पढाइ झन्नै ३ कक्षासम्म हो । गाउँमा स्कूल नभएको हुँदा उनले पढेनन् । अर्कै वडाको स्कूलमा दलितलाई पढ्न दिइँदैनथ्यो । त्यहाँ हुने छोइछिटो र दूरदूर सहन नसकेर उनीजस्ता धेरैले पढाइलाई निरन्तरता दिन सकेनन् ।

साथीहरु त बच्चा नै भइगए । तर, ज्ञानको ज्योति फैलाउने ठेक्का लिएका गुरुहरुबाट समेत छिःछिः, दूरदर अनि स्याँःस्याँः पाए । सानामा उनलाई आफूहरु फोहोरी र तल्ला मान्छे नै हौं जस्तो लाग्थ्यो । सबैबाट हेपिँदा, पिटिँदा, थुकिँदा, मुतिँदा, आमाचकारी गाली खाइँदा, बेन्चमा बस्न नदिइँदा, जुठोपुरो खानुपर्दा पनि उनीहरु सहेरै बसे । बरु स्कुलै जान छाडिदिए । अझै पनि बूढापाकाहरु विभेद हुनुलाई स्वाभाविक ठान्छन् । आफूहरुलाई तल्लो जात भनी दुत्कार्दा पनि उनीहरु मौन बस्छन् । मौनता आन्दोलनको रूप हो भने उनीहरु मौन अनशन बसेको तीन हजार वर्षभन्दा बढी भइसक्यो ।

सबैबाट हेपिँदा, पिटिँदा, थुकिँदा, मुतिँदा, आमाचकारी गाली खाइँदा, बेन्चमा बस्न नदिइँदा, जुठोपुरो खानुपर्दा पनि उनीहरु सहेरै बसे । बरु स्कुलै जान छाडिदिए । अझै पनि बूढापाकाहरु विभेद हुनुलाई स्वाभाविक ठान्छन् । आफूहरुलाई तल्लो जात भनी दुत्कार्दा पनि उनीहरु मौन बस्छन् । मौनता आन्दोलनको रूप हो भने उनीहरु मौन अनशन बसेको तीन हजार वर्षभन्दा बढी भइसक्यो ।

शतप्रतिशतको प्रतिपक्ष

उनकै घर नजिक वडा नम्बर १ मा त्रिपुरासुन्दरी मन्दिर छ । तर त्यो मन्दिर कस्तो छ, उनीहरुले अहिलेसम्म देख्या छैनन् । हामीलाई थाहा छ, हिन्दूहरुले पूजा गर्ने स्थललाई मन्दिर भनिन्छ । तर हामीलाई के थाहा छैन भने, केही हिन्दूहरुले नै केही हिन्दूहरुलाई प्रवेश गर्न नदिने स्थललाई पनि मन्दिर भनिन्छ । मन्दिरमा छिर्न पनि नदिने अनि हिन्दू पनि होइराख् भन्नु पनि कुनै तर्क हो ? धर्म जोगाउने हो भने छूतछात र गरिबीमा प्रहार गरौं, न कि धार्मिक राज्यको माग ।

‘देउता लाग्छन् । तिमीहरुको सत्यानाश हुन्छ । देउताले भष्म पार्छन्, मन्दिर नछिर्नू’, भन्ने भ्रममा बूढापाकाहरु अझै विश्वास गर्छन् । उनको गाविसको वडा नम्बर ५ मा कामीहरुको ठूलो बस्ती छ । ३ नम्बर वडामा दमाईहरुको बाक्लो बस्ती छ । ‘दलित (कामी) लाई भस्म पार्ने’ ती देवता त्यहीँका कामीहरुले कुँदेका हुन् । गाउँमा दलितहरुको बहुमत मात्रै होइन, दुई तिहाइ नै छ । तर त्यहीँ गाउँमा सरकार र शासन भने अल्पसंख्यक प्रतिपक्षले चलाइरहेको छ युगौंदेखि । प्रा. खनाल सर ! राजनीतिशास्त्रमा यस्तो प्रकारको संसदीय व्यवस्था कहीँ छ त ?

गरिब पहुँचविहीनले पढ्नु बेकार

सार्कीटोलमा बल्लतल्ल २०५१ सालमा हिमज्योति प्रावि खुल्यो । आफ्नै टोलमा स्कुल खुलेपछि केही दलितले पढ्न थाले । आर्थिक अवस्था अति नै कमजोर हुँदा सबैले छोराछोरीलाई विद्यालय पठाएनन् । अभिभावकहरु अझै पनि भन्छन्– पढेर के हुन्छ ? एसएलसीसम्म पढे पनि माथि पढाउन सकिन्न । जागिर पाइने होइन । हाम्रा मान्छे कोही छैनन् । आधी पढेर बेला खेर फाल्नुभन्दा बेलैमा बुटी खोज्नतिर लागे पेट भरिन्छ । राजीमानले सुनाए– जुम्लामा मात्रै लोक सेवा खुल्छ । डोल्पाका कोही पास हुन्नन् । डोल्पाका कुनै गाविसमा पनि डोल्पाली सचिव (खरिदार) छैनन् । पढेका मान्छेहरु नै बेकामे, आश्रित अनि अल्छी भएको देखेपछि राजीमानलाई पनि गरिब र पहुँच नहुनेहरुले पढेर काम छैन कि जस्तो लाग्छ रे !

राजीमान अहिले त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । त्यस विद्यालयमा पढ्ने ७० जना विद्यार्थी सबै दलित (सार्की) नै हुन् । अरु जातका मान्छे नै छैनन् । भए पनि ‘सार्कीहरुको स्कूलमा’ पढ्न–पढाउन आउने कुरै भएन् । डोल्पाकै बासिन्दा प्रअ तुलबहादुर विष्ट उनीहरुका मुक्तिदाता र शिक्षादाता हुन् । उनी सार्कीहरुसँगै बसेर खानेपिउने गर्छन् ।

राजीमान अहिले त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । त्यस विद्यालयमा पढ्ने ७० जना विद्यार्थी सबै दलित (सार्की) नै हुन् । अरु जातका मान्छे नै छैनन् । भए पनि ‘सार्कीहरुको स्कूलमा’ पढ्न–पढाउन आउने कुरै भएन् । डोल्पाकै बासिन्दा प्रअ तुलबहादुर विष्ट उनीहरुका मुक्तिदाता र शिक्षादाता हुन् । उनी सार्कीहरुसँगै बसेर खानेपिउने गर्छन् ।

सुपो खाने कुचलन

‘विष्ट’ले दलितका घरमा खान थालेको वर्षौं भइसक्दा पनि पाका दलितहरु नै ‘हामीलाई नछुनुस्, नजिक नआउनुस्, हाम्रा घरको नखानुस्, हामीलाई पाप लाग्छ’ भन्दा राजीमानलाई अनौठो लाग्छ । मान्छेको मनोविज्ञान, संस्कार र संस्कृति परिवर्तन गर्नु भनेको संविधान परिवर्तन गर्नु जस्तो सजिलो छैन रहेछ ।

राजीमान अठार वर्षका थिए । बिहेको चर्चा धकेल्नै नसकिने गरी चुलियो । घरभन्दा एक दिन टाढा कालिका गाविस गए । छोरी माग्न जाँदा पाएको वचनले उनको मन रोयो । ‘त्यहाँ त मल बोक्छन्, सुपा खान्छन्, छोरी दिन्नौं’ भनेर केरकार गरे । सुपा खाने भनेको वर्षभरि काम गराएबापत मालिकले एक–दुई सुपो (नाङ्लो) कमसल अनाज दिने कुचलन हो । मन मरेकी केटी, छोड्न मन लागेन । उप्रान्त कुचलन हटाउने सर्तमा राजी भएर राजीमानले सत्र वर्षे बिजकुमारीलाई अघि लगाएरै छाडे । राजीमानकै नेतृत्वमा ‘मल बोक्ने र सुपो खाने’ कुचलन अन्त्य त भयो । तर कामबापत उचित ज्याला दिने बानी भने अझै छैन ।

राजीमान पाँच जना सन्तानका बाबु हुन् । जेठा छोरा धर्मजीत पन्ध्र वर्षका भए । उनी हिमाली छात्रावासमा बसेर दुनैमा नौ कक्षामा पढ्छन् । यसै गरी कृष्ण तेह्र वर्ष, कृष्णमाया दश वर्ष, जगमाया सात वर्ष र विष्णु पाँच वर्षका भए । ‘अब त पुग्यो होला नि ?’ भनेपछि उनी लजाए । राजीमानले अहिलेसम्म कण्डमको प्रयोग गरेका छैनन् । श्रीमतीले ‘खै के’ प्रयोग गर्छिन् । सुरुमा उनले आफ्ना सन्तान चारोटा भनेथे । नाम सोध्दै जाँदा पाँच पुगे ।

पचास दिनको शैक्षिक सत्र

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीमानका अनुसार डोल्पामा स्कूल खुल्ने र पढाइ हुने वर्षमा पचास दिन मात्रै हो । तीन महिना जति जीवनबुटी खोज्ने, चार महिना जति चिसो हुने, चाडबाड अनि हप्तौं लम्बिने स्थानीय जात्रा–मेला–पर्व । वर्षमा पचास दिन स्कूल खुल्ने । वर्षान्तमा अर्थात् झन्नै पचास दिन पहिले मात्र पुस्तक पुग्ने । स्कूल जानआउन दुईदुई घन्टा उकालो ओरालो हिँड्नुपर्ने । यो वैज्ञानिक सदीमा विकासको मेरुदण्ड भनिने शिक्षा नै गतिलो नभए के हुन्छ ? के तपाईंले मेरुदण्डविनाको मानिस हिँडेको वा दौडेको त के उभिएकै देख्नुभएको छ ?

बल्ल तिरो रिटर्न

शिक्षाबारे कुरा गर्दै जाँदा उनी अचानक मख्ख पर्न थाले अब । ओठ जोडेरै धेरैबेर मुसुमुसु हाँसेपछि बल्ल ओठ खोले । उनी आफसे आफ मुस्काउने कारण रहेछ– उनको सार्की समुदायका मनबहादुरले स्थायी शिक्षकमा नाम निकालेछन् । उनी हाल रिमी गाविसको विद्यालयमा पढाउँदा रहेछन् । दुनै क्याम्पसमा पढेर उनकै शब्दमा ‘आइए किलेर’ गरेछन् उनले । मनबहादुरको भान्जो अर्थात् राजीमानका नाति पर्ने सन्तबहादुर सार्की काठमाडौंमा इन्जिनियरिङ पढ्दै छन् रे । राज्यलाई एकोहोरो तिरो बुझाउँदै आएका उनीहरुले तिरोबाट तलब खाने नोकरी पाए पहिलोचोटि । बल्ल एक जना सरकारी कर्मचारी हुँदा पनि उनी कति खुसी छन् । शिक्षाले उजिल्याइदिएको उनको अनुहारको चहक संविधान प्रमाणीकरण गर्दै गरेको सभाध्यक्षको जस्तो थियो ।

राजीमान र उनको गाउँका सार्कीहरुसँग केही जग्गा–जमिन त छ । तर कति ? कति रोपनी र कति बिगाहाले अर्थ राख्दैन । मूल्य क्षेत्रफलमा हैन, उत्पादकत्वमा हुन्छ । आफ्नै उब्जनीले मुस्किलले तीन महिना खान पुग्छ । उनको मुख्य आम्दानी जीवनबुटी हो । राजीमानका अनुसार कर्णालीका बाहुन–क्षेत्री पनि गरिब र पीडित नै छन् ।

राजीमान र उनको गाउँका सार्कीहरुसँग केही जग्गा–जमिन त छ । तर कति ? कति रोपनी र कति बिगाहाले अर्थ राख्दैन । मूल्य क्षेत्रफलमा हैन, उत्पादकत्वमा हुन्छ । आफ्नै उब्जनीले मुस्किलले तीन महिना खान पुग्छ । उनको मुख्य आम्दानी जीवनबुटी हो । राजीमानका अनुसार कर्णालीका बाहुन–क्षेत्री पनि गरिब र पीडित नै छन् ।

जनप्रतिनिधि नै बुटीप्रतिनिधि

जीवनबुटी अर्थात् यार्चा, भुल्ते, कटुको, हात्तीजरो इत्यादिले हो उनीहरुको सास टिकाउने । जेठ–असारतिर लेकतिर नजाने कोही हुन्न । हजार जना गए भने सय जनाले मात्र भेटाउलान् । कति त त्यहीँ हराउँछन्, कहिल्यै नफर्किने गरी । यार्चा खोज्न चाहिने प्रमुख सीप उनकै शब्दमा ‘पावरवाला आँखा’ हो । त्यसैले ससाना नानीबाबुहरु यो काममा बढी सक्रिय हुन्छन् ।

जिन्दगीलाई दाउमा राखेर यार्चा खोज्ने दुखारीले पाउने भनेको एउटाको पाँच सय मात्रै हो । एक किलोको सरदर चौध÷पन्ध्र लाख । तर कुनै मेहनतै नगरी साहू–ठेकेदारहरु भने पाँच गुना बढीसम्म सजिलै कमाउँछन् । उनको जिल्लाका एमाले सभासद्\जनप्रतिनिधिसमेत बुटीप्रतिनिधि रहेछन् । त्यहाँबाट सस्तोमा संकलन गरेर विदेश पुर्‍याउन आफै जाँदा रहेछन् । संविधान र संघीयतामा आफ्ना कुरा राख्न पठाएका जनप्रतिनिधिले समेत राजीमानजस्ताको दु:ख बुझदैनन् ।

दुवै पक्षबाट यातना

राजीमानको गाउँमा प्रहरी चौकी थियो । माओवादीको चकचक बढेपछि प्रहरीहरु छरिएर हिँड्न डराउँथे । उनीहरु गाउँ–गाउँ जाँदैनथे । राजीमान र उनीजस्ता युवाहरुले प्रहरीका लागि चामल, दाल, तरकारीका भारी बोक्ने काम पाए । गाउँगाउँबाट खसी र कुखुरा खोजेर चौकीसम्म पुर्‍याइदिने काम पनि गरे । राजीमानहरुका श्रम र सेवाबापत प्रहरीहरु ‘उचित’ नगद ज्याला दिन्थे । ज्यालाले राजीमानहरुका बालबच्चा भोकै बस्ने दिन केही कम भए ।

द्वन्द्व चर्कियो । सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै असुरक्षित भए । प्रहरी चौकी अब गाउँबाट उठ्ने भयो । घर बसीबसी पाएको स्यानतिनो रोजगार खोसियो । चौकी जुफाल सर्ने भएपछि राजीमान पुलिसका सामान ओसार्नेमा छानिए । उनी सामान पुर्‍याएर घर के फर्केका थिए, घरभरि माओवादी नै माओवादी ।

अब राजीमान ‘दुस्मनका सहयोगी र सीआइडी’मा बढुवा भए । राजीमानले स्वीकारेनन् । भने— काम नगरीकन केले पेट भर्ने ? हामी गरिबलाई काम नगरी खान पुग्दैन । तिमीहरु ज्याला दिन्छौ भने तिम्रा सामान पनि बोकिदिन्छु ।

उनीहरुले भने— परिवारको भोकको मात्रै चिन्ता नगर । हामीसँगै हिँड्, सब दुःख नाश हुन्छ । हाम्रो शासन आउँछ र त्यसपछि हामीजस्ता सबले जग्गा, जमिन, अधिकार, रोजगार जे जे भन्यो त्यही त्यही पाउँछौं । क्रान्तिमा हिँड् ।

छापामाराका दाइ

राजीमानले मान्दै मानेनन् । आफू हिँड्नेबित्तिकै परिवार खानै नपाई मर्ने चिन्ताले उनी क्रान्तिमा हिँड्न सकेनन् । उनलाई मान्छे काटिहाल्ने जनकारबाही पटक्कै चित्त बुझेन कहिल्यै । उभिएर सब कुरा सुनिरहेका राजीमानका काइँला भाइ बमबहादुर हिँड्न राजी भए । उनले मुठ्ठी कसे । र, हात ठड्याएर टाउकातिर तेर्स्याउँदै भने— काँतडहडु हिँड्दैनन्, म हिँडेँ कडान्तिमा ।

राजीमानले जति सम्झाए पनि भाइ माओवादी भएरै छाडे । बरु उल्टै दाइलाई सम्झाइदिए । माओवादीहरुले राजीमानलाई घरमा छाडेनन् । चार घन्टा टाढासम्म लगेर बाटैभरि काउन्सेलिङ गरिरहे । राजीमान गलेनन् । केही सीप नलागेपछि पिटपाट गरेर चेतावनीसहित छाडिदिए । चेतावनी— अब हत्यारो शाही सेना र पुलिसलाई सहयोग गरेको थाहा भए सोझै सफाया गरिनेछ ।

केही महिनापछि । उनी घरैमा बाख्रालाई घाँस खुवाउँदै थिए । ‘आतंककारीको घर यही हो ? खै, तेरो भाइ पनि बुझा ? स्साला’ भनेर बन्दुक तेर्स्याइहाले । रित्तो घरलाई पनि ट्याम लगाएर टाकटुक खानतलासी गरे । राजीमानको कठालो समातेर जुरुक्क उभ्यायो आर्मीले । अनि उनलाई समातेको हात हल्लाईहल्लाई ढाडमा दुईचार बुट ठोक्यो । यो देखेर छोराछोरी लुके । श्रीमती टाउको भुइँमा टेकाएर रोइकराई गरिन् । पाउमा परिन् । तर, सेनाको मन ठन्किइरह्यो ।

‘म हैन, भाइ मात्रै हो । ऊसँग मेरो बोलचाल छैन,’ हतियारको भाषा मात्र बुझ्ने भएका उनीहरुले ओठको भाषा बुझ्ने कुरै भएन । परिवारको एक जना माओवादी भए सबै सदस्य माओवादी ठहरिने जमानाको शिकार भए उनी । परिवारको एक जना सेना वा प्रहरी छ भने पनि त्यो पूरै परिवार दुस्मनको मतियार ठानिन्थ्यो माओवादीका बन्द नजरमा पनि । पेट पाल्नकै लागि प्रहरीको काम गर्दा त सीआइडी ठहरिए राजीमान ।

‘खै, कहाँ छ तेरो भाइ ? अरु को–को आतंककारी भएका छन् ? एक एक गरी सबै भन्’ बाटैभरि लात्तैलात्ताले गोद्दै हिँडाए । आँखामा टालो बाँधिदिएका थिए । उनलाई जुफाल लगे । राति दश बजे दुनै ब्यारेक पुर्‍याए । बेच्न राखिएका खसीका डँडाल्ना छामेझैं जो आउँछ, उनलाई परक्क पारेर जान्छ । उनी तीन महिना जिप्रका हिरासतमा बसे । यसबीच एक महिना उनलाई बोरामा राखियो ।

आँखामा पट्टी बाँधेर लठ्ठी टुक्रिन्जेल उनले पिटाइ खाए । बुट त कति खाए खाए । बोल्दाबोल्दै सर्ट खोलेर ढाड देखाएर भने, ‘अझै दुख्छ सर ।’ हिरासतमा हुँदा जोई–छोराछोरीको रित्तो पेट सम्झेर एक्लैएक्लै खुब रोए । राजीमानको केही अत्तोपत्तो भएन घरमा । उनले भने, ‘कमाउने म नहुँदा उनीहरु भोकैभोकै चाउरेछन् रोएर ।’

‘हाम्रो कुरा नेपालले कहिल्यै सुनेन । अब हामी डोल्पालीहरु चीनतिर जोडिन चाहन्छौं । यसै पनि राज्यले चालू योजनामा तिब्बततिरबाट सडक जोड्ने भनेकै छ ।’

दाइलाई सेनाले लिएको थाहा पाएपछि माओवादी भएका बमबहादुर घर आए । ‘मेरो दाइलाई लियो हत्यारोले’ भन्दै उनी घरगाउँमा सन्किनु सन्किए । उनमा बदलाको भावना बढ्यो । घरमै थिए, एकदिन सेनाले बमबहादुरलाई पनि लग्यो । उनी डेढ वर्षपछि छुटे । अहिले बम घरमै बेकामे छन् । दाजुभाइबीच उति बोलचाल पनि हुन्न रे । राजीमानको रिस मरेको छैन– एक, नजा भनेको मानेन । दुई, उसकै कारण तीन महिना हिरासतमा यातना सहनुपर्‍यो । तीन, चार र पाँच— परिवारको, उसको अनि देशकै बिचल्ली भयो ।

बाटै छैन

‘तपाईंजस्ता पछि पारिएका जाति, क्षेत्र र समुदायबारे माओवादीले नै बढी चिन्ता लिएको होइन र ?’ उनले मेरो प्रश्न सिधै खारेज गरिदिए । ‘त्यो सब बेइमानी र नौटंकी थियो । मलाई सधैँ यस्तै लाग्यो । अहिले त्यही पार्टीमा लागेका सबैलाई मलाईजस्तै लाग्छ ।’ अरु जे जस्तो भए पनि मान्छे ठुन्क्याइदिने नीति नलिएको भए उनले पनि समर्थन गर्न सक्ने सम्भावना हुन सक्थ्यो रे ।

हामीबीच कुरा हुँदै गर्दा उनले घर छाडेको महिनादिन हुन लागेछ । एकचोटिको यात्रामा करिब एक लाख रुपैयाँ सकिन्छ रे । उनले दुई दिनअघि मात्रै भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिको दर्शन पाएछन् । डोल्पा र हुम्लालाई अझै सडकले छुन सकेको छैन । ‘कहिले पुग्छ बाटो ?’ उनले मन्त्रीसमक्ष यत्ति भनेका थिए । उनको भेटघाटको समय सकियो । मन्त्री केही बोलेनन् रे ।

न बाटो, न बत्ती, न चौकी (स्वास्थ्य र सुरक्षा), न पुल, न स्कुल, न पहँच । चौबीसै घन्टा मरिमेट्दा पनि भोक, रोग, शोकमा डुबिरहनुपर्छ भने कसले कसरी चिन्दो हो आफू प्रम, सचिव, डाक्टर, लेखक, कलाकार बन्न सक्ने कस्तूरी सुगन्ध ? सारा समस्या र अविकास मधेसमा मात्रै छ, पहाड र हिमालमा विकासैविकास र सुखैसुख भने जसरी सबका सबले कर्णालीलाई बिर्सेकामा उनी सबैभन्दा बढी आक्रोशित भए ।

देशद्रोही सार्की

अब तपाईंहरु के चाहनुहुन्छ ?’ उनले दिएको चाहनाको जवाफ लेख्नलाई दलित रीडरको स्पेसले पुग्दैन । तर अब उनी आफ्ना चाहना हाम्रा लेखमा हैन, संविधानमा पढ्न चाहन्थे । तर, संविधानले राजीमानहरुलाई फेरि एकपटक धोका दिएको छ । तर, उनका नेताहरु सबैभन्दा बढी संविधानको स्वागतगान गरिरहेका छन् ।

जवाफमा उनले भनेको एउटा कुरा, ‘हाम्रो कुरा नेपालले कहिल्यै सुनेन । अब हामी डोल्पालीहरु चीनतिर जोडिन चाहन्छौं । यसै पनि राज्यले चालू योजनामा तिब्बततिरबाट सडक जोड्ने भनेकै छ ।’

लौ, राजीमानले त देश टुक्र्याउने अभिव्यक्ति पो दिए । राजीमानलाई कडा कारबाही गरियोस् सर्खार !

2

मधेसी दलितको संघर्ष र बलदेव राम

-रक्षाराम हरिजन

-रक्षाराम हरिजन

दलित तथा भूमि आन्दोलनका अगुवा सप्तरीका बलदेव रामको निधनले दलित र भूमिहीन आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । उनी दलितको आत्मसम्मान, शिक्षाको अधिकार र रोजगारलगायत विषयको ग्यारेन्टीका लागि सप्तरी र सिरहासहितका जिल्लामा सक्रिय थिए । भूमि अधिकार र हरूवाचरुवाका अधिकारको लागि अगुवाइ गर्दै थिए । उनले उठाएका आवाजलाई जोगाइराख्ने आन्दोलन र अगुवाको अभाव देखिएको छ । यस्तो अभाव हुन नदिने दायित्व समग्र मधेसी दलितको काँधमा छ । यस्तो दायित्वबाट कुनै पनि बहानामा उम्किनु आफ्नो समुदाय र अधिकारलाई धोका दिनु हो ।

उनले गरेको संघर्षले गर्दा मधेसका दलित समुदायको जीवनशैलीमा सुधार भएको छ । युवावस्थादेखि नै दलित मुक्तिका लागि लागेर उनले २०५६ सालको ज्याला वृद्धिको आन्दोलन, निःशुल्क शिक्षाका लागि आवाज उठाउने काम गरेका थिए । २०५८ सालको सिनो बहिष्कार आन्दोलनको अगुवाइ गरेका रामले २०६० सालदेखि नै हरूवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्थाका लागि अनवरत आवाज उठाए । अन्ततः उनी दलित युवाहरूका लागि प्रेरणाका स्रोत बने । भूमिहीन, हरूवाचरुवाको थातवास र जीविकाका लागि गरेका योगदानकै कारण उनी स्मरणीय रहेको वरिष्ठ पत्रकार वैद्यनाथ झालगायत नागरिक समाजको भनाइ छ ।

के थियो, सिनो बहिष्कारको आन्दोलन ?
बाहुनवादले कथित तल्लो जातलाई सेवामूलक काममा लगायो । दलित समुदायभित्रका चमार जातिलाई सिनो सोहोर्न लगाइयो । त्यो कार्य जातीय परम्परा र जिम्मेवारीजस्तै बनाइयो । दलितलाई सेवामूलक र सरसफाइका काम गराइयो । उनीहरूलाई अछुतको दर्जाबाट माथि उठ्न दिइएन । त्यसकै विरोधमा उभिएका अगुवा हुन् बलदेव राम । सवर्ण र मालिल्लो भनिने जातका जनावर मरेमा चमारहरूले फाल्नुपर्ने बाध्यताविरुद्ध आन्दोलन भएको हो ।

उनले २०५६ सालमा सिनो फाल्ने कार्यलाई बहिस्कार गर्ने आन्दोलनको नेतृत्व गरे । सप्तरीका चमार समुदायले सुरुआतमा सप्तरीको मधुपटी गाविसको कनकपुर गाउँबाट सिनो नफाल्ने अडान लिए । धेरै दलित समुदाय र सामाजिक अभियानमा लागेका व्यक्तिले सहयोग गरे । तर जिल्लाका कथित उपल्लो जातका भूमिपति र मध्यम जातिका मानिस सामाजिक परम्परालाई दिइएको चुनौती देखेर क्रुद्ध बने । तत्कालीन सांसद समेत आन्दोलनको विरोधमा उभिए । र दलितहरूलाई लहान सहर पस्न पनि मनाही गरियो । उनीहरूलाई सामाजिक बहिस्कार गरियो । उनीहरूलाई बाटोघाटो हिँड्नमा रोक लगाइयो, रोजगारबाट हटाउने प्रयास गरियो । बैंकबाट ऋण दिन छाडियो । सार्वजनिक श्रोत उपभोग गर्न नपाउने बनाइयो । बजारमा काम गर्नबाट बन्चित गरियो । पसलमा सरसामान र औषधि नदिनेलगायत मानवताविरोधी कार्य गरियो । दलित एकतालाई तुहाउन मुसहरलाई पनि उपयोग गरियो ।

दमन हुँदाहुँदै पनि आन्दोलनकारीहरू आफ्नो मुद्दाबाट विमुख भएनन् । उनीहरूले सिनो बहिष्करणको आन्दोलन जारी राखे । राष्ट्रिय संचारमाध्यमले प्राथमिकताका साथ प्रचार प्रसार गरे । नागरिक समाजका विभिन्न तप्काले आन्दोलनको समर्थन गरे । आन्दोलन सफल भयो, दलितहरूको जीत भयो । पेसाका रूपमा गरिने र अपमानित नहुने सर्तमा मात्र सो कार्य गर्न सकिने सम्झौता भयो ।

डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित बलदेव एक दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित भए । गा.वि.स. सचिवको रूपमा कार्यरत बाबुको अघिपछि गर्दागर्दै उनी भूमिहीन र दलितहरूको दुःखपीडासँग नजिकिएका थिए । उनी १४ वर्षको उमेरदेखि नै सामाजिक आन्दोलनमा सरिक हुँदै आएका थिए । आफू बसेको ठाउँ कनकपुर क्षेत्रमा मात्र दुई हजार तीन सयभन्दा बढी मोहीको समस्या देखेपछि उनी भूमि आन्दोलनमा लागेका थिए । त्यसको पछिल्लो कडी हो सिनो बहिष्कार आन्दोलन ।

२०५६ सालमा भएको सिनो आन्दोलन अचेल किंवदन्ती रूपमा मात्रै सुन्न पाइन्छ । लिखित रूपमा एकाध पुस्तकमा अंश छापिने बाहेक त्यसबारे कुनै दस्तावेज लेखिएको छैन । आन्दोलन हुनुमा ककसको भूमिका थियो, खोज र बहसको विषय हुनसक्छ । त्यसबाहेक के मधेसमा बस्ने दलितहरूले आन्दोलनै गरेका छैनन् ? यसको खोजी आजको मधेसी दलितले गर्नुपर्ने देखिन्छ । हामीले सहि समयमा आफ्ना इतिहासलाई दस्तावेजीकरण गर्न सकेनौं भने आउने पुस्ताले हामीलाई धिक्कार्ने छ । इतिहास किंवदन्तीका रूपमा कति दिन रहन्छ र ? त्यसैले हामीले आफ्नो इतिहास आफै लेख्नुपर्छ, तब मात्रै सत्यको उजागर हुन्छ । यो आफैमा एक आन्दोलन हो ।

मधेस आन्दोलनमा दलित
बलदेव रामको देहान्त भइसक्यो, तर मधेसी दलितको आन्दोलनको अन्त्य भएको छैन । हरेक मधेस आन्दोलनमा मधेसी दलितको ठूलो भूमिका रहेको छ । मधेस आन्दोलनको क्रममा सहादत पाउनेहरूका नामावली हेरे त्यसको पुष्टि हुन्छ । सहादत हुनेमा दलित, मुस्लिम वा मध्यमवर्गीय मधेसी मात्रै छन् । त्यसैले मधेस आन्दोलनमा दलितहरूको सहादत र योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । वास्ता गर्ने नाममा छनौटकारी कृपा गरिएको पनि उदाहरण पनि छ । प्रशान्त झाको शब्दमा गणतन्त्रको पहिलो राष्ट्रपति पदको चुनावमा एमालेले समावेशीको प्रतियोगितात्मक खेल खेल्न मधेसी दलित नेता रामप्रित पासवानलाई उम्मेदवार तोकेको थियो ।

पहाडी दलितहरूको सामु एउटा पर्खाल मात्रै छ, त्यो हो जातीय विभेद र छुवाछूत । तर मधेसी दलितको सामुको पर्खालै पर्खाल छ, जातीय विभेद, क्षेत्रीय विभेद, भाषागत विभेद, समुदायगत विभेद । मधेसी दलितले मधेस आन्दोलनमा साथ दिएर र सहभागी भएर सामुदायिक विभेदलाई चिर्ने प्रयास गरेका छन् । सीके लालका शब्दमा यो प्रत्येक मधेसीको आत्मसम्मानसँग जोडिएको आन्दोलन हो । यसरी मधेसी दलित मधेस आन्दोलका पनि मुख्य साझेदार भएकोले त्यसका उपलब्धिमाथि सहभागीहरूको पनि उत्तिकै हक लाग्छ ।

विडम्बना, अहिले मधेसी दलितहरू पेन्डुलमको अवस्थामा छन् । दलितको नाउँमा आउने अवसर मूलधारको दलितले खाइदिने, मधेसीको नाउँमा आउने जति मधेसका इलिट वर्गले खाइदिने अभ्यास छ । मधेसका दलितहरू न यताका भए न उताका । आन्दोलनमा सहादत हुने ठाउँमा दुवै आन्दोलनमा प्रयोग हुने, अवसर बाँडफाँटका बेला दुवैबाट बेवास्ता गरिने । त्यसको नमुनाका लागि राष्ट्रिय दलित आयोगको पदाधिकारीको अनुहार मात्रै हेरे पुग्छ । त्यसका १७ सदस्यमा १ जना मधेसी दलितको मात्रै प्रतिनिधित्व छ ।

मधेसी दलित आन्दोलनको राष्ट्रियकरण
हाल समग्र दलित आन्दोलन गैससमुखी भएको देखिन्छ । त्यसबाट मधेसी दलित आन्दोलन पनि अछुतो छैन । यसलाई साहै्र नकारात्मक रूपमा लिनु जरुरी पनि छैन । मधेसका गाउँगाउँमा दलित आन्दोलन चलिरहेको छ । जातीय विभेद, छुवाछुत, सामुदायिक कुरिती हटाउन स्थानीयस्तरमा प्रयास भएका छन् । विडम्बनाको कुरा, मधेसी दलित समग्र मधेसी दलित आन्दोलनमा एकाकार भएका छैनन् । पक्कै पनि यी सबै आन्दोलनलाई एकिकृत वा राष्ट्रियकरण गर्न सकिएको छैन । यसमा केही समस्या छन् । एकातिर मूलधारको दलितले चाहेका छैनन् । अर्काेतिर मधेसी दलित आफैले मूलधारको दलितसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

गाउँगाउँमा भएको प्रयास, जनस्तरबाट उठेका आवाजलाई जोड्ने कोसिस गरिनुपर्छ । ससाना आवाजलाई सम्बन्धित निकाय वा स्थानसम्म पुर्याउन सक्नुपर्छ । यो आन्दोलनलाई क्षेत्रीयकरण गर्दै सशक्त रूपमा राष्ट्रियकरण गर्न जरुरी छ । यसमा नै मधेसी दलितको उन्नति हुनेछ । उनीहरूले मधेसी सत्ता र नेपाली सत्तासँग एकै पटक लडाइँ लड्न सक्नुपर्छ । बलदेव रामले भुइँतहबाट मधेसी दलितका मुद्दा उठाएर बाटो देखाउने र जुझ्ने तरिका सिकाएका छन् । आफ्नो पेसाको रक्षा, विकास र सम्मानसँगै समुदायकै आत्मसम्मानका लागि उनले गरेको संघर्ष ऐतिहासिक पाठ हो । कुनै पनि खाले विभेदबाट मुक्त समाज निर्माणका लागि उनले पोखेका विचार र देखाएका व्यवहारले सबैलाई प्रेरणा दिइरहने छन् ।